पाठेघर क्यान्सरको जोखिम जाँच्ने ‘प्याप स्मेयर टेस्ट’ देशभर निःशुल्क
असोज-२७-२०७२
काठमाडौं : महिलाको पाठेघरको मुखको क्यान्सरको जोखिम जाँच्ने ‘प्याप स्मेयर टेस्ट’ देशभर निःशुल्क गरिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त परीक्षणको व्यवस्था देशभरका अस्पतालमा निःशुल्क गर्ने निणर्य गरेको हो ।
नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुन्छ । यो संक्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके ८र१० बर्षपछि यो क्यान्सरमा परिणत हुन्छ ।
संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट (गर्भासय श्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ । यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो बिधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन ।
यो ५ देखि १५ मिटेनमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा २ दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुदैन ।
यो परीक्षण ३५ देखी ६० बर्षका महिलाले बर्षको कम्तिमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षती हुनबाट बचाउँछ । यो परीक्षण पहिला ६ महिनाको फरकमा ३ पटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक बर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ३ बर्षपछि परीक्षण गराउनु पर्छ ।
यसमा पनि नेगेटिभ देखिएमा ५ बर्ष पछि परीक्षण गर्नुपर्छ ।
यसको प्रक्रिया लामो भएकाले बिचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्छ । यो क्यान्सरबिरुद्ध खोपको पनि आविस्कार भैसकेको छ । यो खोप ९ देखि १३ बर्षका बालिकालाई लगाइन्छ ।
यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन ।
त्यसैगरी अस्पतालमा अत्यावश्यक समानहरूको आपूर्तिमा भइरहेको समस्याबारे छलफलका लागि परराष्ट्रमन्त्रीको संयोजकत्वमा बार्ता टोली गठन गरिएको छ।
दुबै मृगौला फेल भइ उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत खुमबहादुर खड्काको उपचारका लागि सरकारले २० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ।
SOURCE:स्वास्थ्य खबरपत्रिका
0 comments
Write Down Your Responses