‘प्रचण्डले मुलाको ठाउँमा तोरी रोपे, काउलीको ठाउँमा कोदो’

लाल गद्दार र दलाल कसरी क्रान्तिकारी भए ?

७ जेठ, काठमाडौं ।

 एमाओवादीबाट विद्रोह गरेर ‘कम्युनिष्ट न्युक्लियस’ गठन गरेका हेमन्तप्रकाश ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कम्युनिष्टको बिऊ मासेको आरोप लगाएका छन् । प्रचण्डले मुलाको ठाउँमा तोरी र काउलीको ठाउँमा कोदो उमारेको उनको आरोप छ ।

विप्लव माओवादीले शुक्रबार खुल्लामञ्चमा आयोजना गरेको आमसभामा मन्तव्य व्यक्त गर्दै ओलीले प्रचण्ड आफूबाट भागीभागी हिँडेको बताए । उनले भने- ‘प्रचण्ड तीन महिनासम्म मसँग भागी भागी हिँड्नुभो, म दुई घण्टासम्म लाजिम्पाटमा गएर बसें, तर उहाँ बालुवाटारबाटै हिँड्नुभो, म अहिले पनि उहाँसँग बहस गर्न तयार छु ।’

 प्रचण्डमा राजनीतिक विचलन आएको ओलीले दाबी गरे । उनले प्रचण्डलाई एमालेका मोहनचन्द्र अधिकारीसँग तुलना गर्दै भने- ‘मेरो आरोप के हो भने प्रचण्डमा ठूलो विचलन आएको छ, उहाँ अन्ततः मोहनचन्द्र अधिकारीको बाटोमा जाँदै हुनुहुन्छ, उहाँले भैंसी पूजा गर्नुभयो ।’

 प्रचण्डले कम्युनिष्टको बिऊ मासेको बताउँदै ओलीले भने- ‘पहिले नेपालमा उत्पादन हुने काउली र मूलाको बिऊ जापानमा खपत हुन्थ्यो, प्रचण्ड आफैं कृषि पढेको मान्छे, तर उहाँले काउलीको बिऊमा कोदो र मुलाको बिऊमा तोरीको बिऊ राख्नुभयो ।

’‘पार्टी एकता केही दिनभित्र छिन्न-भिन्न हुन्छ’ बादल र प्रचण्ड समूहवीच विहीबार घोषणा गरिएको पार्टी एकतालाई ओलीले प्रतिक्रान्तिकारी बाटोमा अघि बढेका नवसंशोधनवादीहरुको एकताको संज्ञा दिए । उनले भने- ‘यो एकता होइन, सुन्निएको हो, हेरिराख्नुहोला केही दिनभित्र छिन्नभिन्न हुन्छ ।’ 

 ओलीले आमसभाबाटै प्रश्न गरे- ‘हिजो प्रचण्डलाई लाल गद्दार र दलाल भनिएको होइन ? आज उनी कसरी पार्टी अध्यक्ष भए ? जडसूत्रवादी, लिनप्याओवादी भनिएकाहरु कसरी धोई पखाली भएर त्यहाँ जानुभयो ? 

साँच्चै भन्ने हो भने यो एकता नै होइन । के विवादले पार्टी फुट्यो र अहिले एकता भयो ?’ प्रचण्डले समाजवाद भने पनि यही संविधानको कार्यान्वयनलाई कार्यनीति बनाएको ओलीले बताए । ‘राजाको जन्मोत्सव जस्तै कमिटी’ केही महिनाअघिमात्रै एमाओवादी छाडेका रुकुमे नेता ओलीले माओवादी केन्द्रले घोषणा गरेको ६९९ सदस्यीय केन्द्रीय कमिटीलाई राजा महाराजाको जन्मोत्सव वा जन्मजयन्ती मनाउने कमिटीसँग तुलना गरेका छन् ।

 ‘चौरमा पनि नअटाउने केन्द्रीय समिति बनाएका छन्,’ ओलीले कार्यक्रममा भने-‘राजाको जन्मोत्सव वा जन्मजयन्ती मनाउने कमिटीजस्तो ।’ ओलीले प्रचण्ड र बाबुरामवीच कुनै फरक नभएको तर्क गरे । उनले भने- ‘बाबुराम बराबर प्रचण्ड, प्रचण्ड बराबर बाबुराम । 

यी दुबै महारथीहरुलाई मेरो प्रश्न छ- समाजमा वर्ग संघर्ष हुन्छ कि हुँदैन ? बल प्रयोग गर्नुपर्छ कि पर्दैन ? सत्ता प्राप्त भएपछि सर्वहाराको अधिनायकत्व चाहिन्छ कि चाहिँदैन ?’वैद्य र विप्लववीच एकतामा जोड आफूलाई विगतमा ‘प्रचण्डपथका प्रयोगकर्ता’ बताउने ओलीले मोहन वैद्यलाई सिद्धान्तनिष्ठ र विप्लवलाई वर्ग संघर्षको स्पिरिट भएका नेताको संज्ञा दिँदै अब दुबैले मिलेर अघि बढे क्रान्ति सफल हुने ठोकुवा गरे ।

 जनयुद्धमा छोरी गुमाएका माओवादी नेता ओलीले विप्लव र वैद्यवीच एकता हुनुपर्नेमा जोड दिँदै भने- ‘वर्ग संघर्षको स्पिरिट र सिद्धान्तनिष्ठता जोड्नुपर्छ, क्रान्ति अब सम्भव भएको छ, बाख्रा बाख्रातिर र बाघ बाघतिर भएका छन् ।’

0 comments

Write Down Your Responses