अभिभावक गुमाएका बालबालिकाको दसैं

रमेशचन्द्र अधिकारी, धनकुटा 

आश्विन ३०, २०७२- द्वन्द्वकालमा अभिभावक गुमाएका अप्सरा भट्टराई र सुमना तिवारी एउटै घरमा एकापसमा बसेर दसैं मनाइरहेका छन् । फरक समूहबाट आफ्ना अभिभावक गुमाउनुपरे पनि पछिल्लो आठ वर्षदेखि दुवै एउटै घरमा रहँदै आएका छन् ।

 धनकुटा ४ देब्रेवासस्थित श्रीपञ्चमी पार्कमा रहेको बाल पुन:स्थापना सेवा केन्द्रमा भट्टराई र तिवारीजस्तै विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिका बस्दै आएका छन् । द्वन्द्वरत समूह तथा अन्य कारणले अभिभावक गुमाएका बालबालिकाहरू भने यतिबेला आफन्तको यादले पिरोलिएका छन् ।

 अरू सामान्य बालबालिकाजस्तै राम्रो नाना र मीठो खानाको रहर उनीहरूको छ । तर पनि वर्षांैदेखि सँगै बस्दै आएका समान पीडा बोकेका उनीहरू एकापसमा खुसी साटासाट गर्दै दसैं मनाइरहेका छन् । ‘चाडपर्वमा बाबुआमा र अभिभावकको याद बढी आउँदा केही निरसिलो हुन्छ’, सुमना तिवारीले भनिन्, ‘तर के गर्ने आफूहरूजस्तै उस्तै पीडा बोकेका साथीहरूसँग घुलमिल हुँदा मन बुझाउन सजिलो नै हुन्छ ।

’ बालपुन:स्थापना सेवा केन्द्रमा हाल १२ जना बालबालिका बसोबास गर्दै आएको केन्द्रकी अध्यक्ष शकुन्तला बस्नेतले बताइन् ।१२ वर्षीया सपना राई पनि यतिबेला आफ्ना अभिभावक सम्झिरहेको बताउँछिन् । अरूबेला साथीभाइसँग समय बिताउँदा सामान्य लागे पनि चाडपर्वका बेला न्यास्रो लाग्ने उनले बताइन् । तर धेरैको समान भनाइ छ, एउटै पीडा भोगेर एउटै घरमा बस्नुपर्दा एउटै परिवारको अनुभूति भएको छ ।

 त्यहाँ बसोबास गर्नेहरूमध्ये ठूलाले सानालाई भाइबहिनी र सानाले ठूलालाई दाजु–दिदीको साइनो लगाउँछन् । वर्षौंसम्म एउटै छानामा ओत लाग्दै एउटै भान्सामा खाँदैआएपछि अब विस्तारै आफ्ना पुराना घाउ बिर्संदै गएका छन् । पुन:स्थापना केन्द्रमा रहेकी दिनिशा राई, लक्ष्मी खड्गी, लतिका शेर्पा, रोशन राई, आभाष दर्नाल, अग्नि याख्खा, सूर्य राई र सुगम राईलगायत सँगै बसोबास गर्दै आएका छन् ।

 ४ वर्षीय सुगम राईदेखि १७ वर्षीया लक्ष्मी र दिलिशा राई लगायत सँगसँगै छन् । ठूलो उमेर समूहको भिन्नता रहे पनि ठूलाबाट सानाले पाउने मायाले अभिभावकको न्यास्रो मेटिने गरेको छ । १६ वर्षीया लतिका शेर्पाले आफू सानो छँदा ठूलाबाट माया पाएकाले सोही पाठ सिकेको बताइन् ।

 प्रकाशित: आश्विन ३०, २०७२

0 comments

Write Down Your Responses