‘नाका थुनेर दानापानी बन्द गर्दा पनि सरकारले सुनेन’

२०७२ मङ्शिर १३ आईतवार

बिराटनगर : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दानापानी बन्द गर्दा पनि सरकारले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् । मधेसी मोर्चाले आइतबार बिराटनगरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले नाकामा बसेर दानापानी थुन्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

 ‘४२ दिनसम्म आन्दोलन गर्दा पनि मधेसको समस्या समाधान गर्न सरकारले चासो दिएन’, महतोले भने, ‘आफूहरुले नाकामा बसेर ‘दानापानी नै बन्द’ गर्दा पनि हाम्रा माग सुनुवाई गर्न सरकारले चासो दिएको छैन ।

उनले मधेसका माग सम्बोधन गर्न प्रमुख तीन दलका तीन नेता गम्भीर नभएको उनको आरोप लगाए । सभालाई सम्बोध गर्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वार्ताबाटै सीमाङ्कन, निर्वाचन क्षेत्र निर्धारण र समानुपाति, समावेशी प्रतिनिधित्व हुनुपर्ने बताए ।

 ‘वार्ताले केही नगर्ने जस्तो भइसक्यो । सरकार टसको मस भएको छैन’, यादवले भने, ‘आन्दोलनबाट हामी पनि थाक्नेवाला छैनौं ।’ यादवले आफूहरुको आन्दोलन मधेसी, पिछडिएको समुदाय र जनजातिको अधिकारका लागि भएको बताए । नेपालको राष्ट्रियता खासगरी प्रमुख तीन समुदाय मधेशी, आर्यखस र जनजातिले टिकाएको यादवले बताए । 

 मधेश प्रदेशमा आउनु पर्ने केही जिल्लाको विषयमा विवाद भएपनि त्यसलाई जनमत बुझेर टुंगो लगाउनु पर्ने उनले बताए । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले झापा, मोरङ र सुनसरीको सवाल पनि जनताको धारण बुझेर टुंगो लगाउनुपर्ने बताए । ‘सीमाङ्कनको विवाद टुंगोमा नपुञ्जेल वार्ता पनि सफल हुनेवाला छैन’, उनले भने, ‘हाम्रो आन्दोलन पनि रोकिनेवाला छैन ।’

0 comments

Write Down Your Responses