धोती र टोपीको लडाईंले एक ‘दिन धोती न टोपीका हुन्छौं’ : पूर्व -राष्ट्रपति यादवकी छोरी – अनिता

December 8, 2015 मा प्रकाशित 

|अनिता यादव ( पूर्व राष्ट्रपती रामबरण यादवकी छाेरी ) /

 धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ। वैशाखमा ठूलो भूकम्प गयो, विश्वभरका मानिसले हामीप्रति समवेदना प्रकट गर्दै सहयोग गरे। इतिहासकै त्रासदिपूर्ण त्यो दुखद् घडीमा कसैले यो सोधेन कि तिमी पहाडे हौ ? मधेसी हौ ? थारू हौ ? दलित हौ ? त्यति बेला एकमात्र भावना थियो हामीबीच– नेपालीको, मानवताको।

 टोलको चौरमा एउटै टेन्टमुनि पहाडे, मधेसी, बाहुन, दलित सबै मिलेर बसेका थियौँ, दुःख सुख मिलेर बाँडेका थियांै। के त्यतिबेला टेन्टमुनि एक भएर आश्रय लिएजस्तै हामी एक देशभित्र एक भएर बस्न सक्दैनौँ ?

 म कुनै दल वा पार्टीसँग सरोकार राख्दिन। म मानव हुँ, महिला हुँ, एसियन हुँ, साउथ एसियन हुँ, नेपाली हुँ, मधेसी हुँ, जनकपुरको यादव हुँ ! । म मानवताका लागि लडाइँ गरुँ कि जात र वर्गका लागिर ? ल तपाईं नै भन्नुहोस्, सकारात्मक सोचका लागि हामी तलबाट माथि जाने कि माथिबाट तल ओर्लनेर ?मेरो मधेसीपन, मधेसी संस्कार, मधेसी संस्कृति र यादव थर कसैले खोसेर लान सक्दैन तर अरु धेरै कुरा छन् जो हराएर, बेचिएर, टुक्रिएर जान सक्छन्। 

मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्योभन्दा पनि बढी गर्व नेपाली हुनुमा छ। आजकल कता–कता नेपालै नरहला कि भन्ने मलाई एकदमै चिन्ता हुन्छ। सबै जाति मिलेर बसेका छौं त्यही नै रमाइलो छ। एउटै टेबलमा दशथरि विचार आउनु त्यही राम्रो हो। तर, काटमार, गोलीगठ्ठा र द्वन्द्वले केही परिवर्तन आउँदैन्। विचारले मान्छे ठूलो हुने हो। राजनीतिले हामीलाई प्रभाव त पार्छ नै। म सामाजिक विज्ञानको विद्यार्थी भएकाले पनि समाजमा राजनीतिको प्रभावबारे राम्रो जानकारी राख्छु। अहिले तराईमा भइरहेको घटनाले मन रोइरहेको छ।

 स्वाधीनता, राष्ट्रिय एकता र सार्वभौमसत्ताको नाममा देशमा कतै मानवीयता त हराएको छैन ? जनतालाई ढाँट्ने, देश चिर्ने, जातीय विखण्डनतर्फ लाने, टुक्र्याउनेखाले काम अब पर सारौं। त्यस्ता व्यक्तिलाई समाजबाट तिरस्कार गरौँ। संसार फैलने क्रममा भए पनि नेपाल भने खुम्चने क्रममा अघि बढिरहेछ। ल तपाईं नै भन्नुहोस्, विश्वमा फैलिने कि सानो सानो प्रदेशमा खुम्चने ? देश रहे न जनता रहन्छ, नेपाल रहे न नेपालीत्व रहन्छ। त्यसैले आज मेरो देश छ र त म छु।

 म नेपाली छु र त मेरो नेपाल देश छ। मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो। अब त एक होऔं हामी सबै नेपाली। केही गरौँ समाज अनि देशका लागि। मुलुक सत्य, शान्ति, अहिंसा र मेलमिलापको बाटोमा अगाडि बढेमात्र अहंकार, हिंसा, विध्वंश, भय, त्रास हराउँदै जानेछ। कसैले पनि आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने बानी त्याग्नुपर्छ। एउटा जाति समुदायको मात्र नेता हैन, राष्ट्रको नेता बन्न कोसिस गर्नुहोस्। वंश र जातले मान्छे राम्रोरनराम्रो हुँदैन। उसको कार्यले मात्र हुन्छ। त्यसैले साम्प्रदायिक घृणालाई संस्थागत नगरौं। जीवनलाई सुन्दर फूलका रूपमा हेरौं।

0 comments

Write Down Your Responses