पति ‘अनन्त’लाई देख्नासाथ सभामुख घर्ती भावुक भइन्

January 7, 2016 मा प्रकाशित

काठमाडौँः 

मंसिर २० गते उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक स्थित समितिभेज अस्पतालमा पुगेका पति वर्षमान पुन ‘अनन्त’लाई देख्नासाथ सभामुख ओनसरी घर्ती मगर भावुक बनेकी छिन् । एकीकृत माओवादीका सचिव पुनको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र उनकी पत्नी सीतासँगै समितिभेज अस्पताल पुगेकी सभामुख भावुक भएकी हुन् ।

 सभामुख घर्तीले पति पुनलाई भेट गर्दै गर्दा खिचिएका तस्बिरमा सभामुख घर्ती भावुक मुद्रामा प्रस्तुत भएकी छिन् । एक महिना अघिदेखि थाइल्याण्डमा उपचार गराइरहेका पुन दुब्लाएको देखिएका छन् । भदौ २८ गते साँझ खाना खाएपछि स्वास्थ्यमा अचानक समस्या देखिएपछि पहिलोपटक पुन ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका थिए ।

 सामान्य उपचार गराएर घर फर्किएका पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार हुन नसकेपछि पुनलाई कात्तिक २५ गते भारत लगिएको थियो ।भारतको नयाँदिल्लीस्थित मेदान्त सिटी अस्पतालमा उपचार गराएर पुन मंसिर ७ गते नेपाल फर्किएका थिए । दिल्लीमा उपचार गरेर स्वदेश फर्किएको केही दिनमै स्वास्थ्यमा पुनः समस्या भएपछि पुनलाई मंसिर २० गते थाइल्यान्ड लगिएको हो ।

 थाइल्याण्ड लगिएको एक महिनासम्म समेत अस्पतालले डिस्चार्ज नगरेपछि पुनको स्वास्थ्य अवस्था बुझ्न बुधबार सभामुखका साथमा प्रचण्ड र सीता थाइल्याण्ड गएका हुन् । नेता पुनलाई वंशाणुगत जन्डिस भएको बताइएको छ । पुनलाई कमलपित्त र कलेजो सुन्निने समस्याले लामो समयदेखि सताइरहेको छ । थाइल्याण्डमा उपचारका क्रममा सुधार भइरहेको सार्वजनिक गरिए पनि पुनको स्वास्थ्यमा उत्साहजनक सुधार आउन सकेको छैन ।

0 comments

Write Down Your Responses