वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौँ, १७ फागुन ।

गत महिनादेखि अस्पताल भर्ना हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ । जीवनका ७८औँ वसन्त पार गरिसक्नुभएका गुरुङको गत महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।

 सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । गुरुङको उपचार खर्चका लागि करिब रु २० लाख जति लाग्ने अनुमान गरिएको नयाँ दिल्लीमा रहेका सङ्गीतकार मणिकमल क्षेत्रीलाई उद्धृत गर्दै गायिका कोमल ओलीले बताउनुभयो । 

रािष्ट्रयगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । तर उपचारका लागि अहिलेसम्म सरकारीस्तरबाट कुनै पहल नगरिएको गायिका ओलीले गुनासो पोख्नुभयो । राष्ट्रको एउटा धरोहरको उपचारमा सरकारले चाँडै चासो देखाउने आशा व्यक्त गर्दै उहाँले भन्नुभयो, “आजकै मन्त्रिपरिषद्को बैठकले यसबारे केही निर्णय गर्ने आशा छ ।” नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।

 रासस

0 comments

Write Down Your Responses