दुर्घटनामा पत्नी गुमाएका पत्रकार नरहरीको पीडा : आमा खोज्ने बालाखा छोरीलाई के भनेर सम्झाउने बाबाले?

 बिहिबार, साउन ०६, २०७३

वेड नम्वर २४७- नर्भिक अस्पतालको इमर्जेन्सी वार्डबाट छिरेपछि देब्रे भित्रतर्फको रहेको वेड हो यो। बेडमा दिउँसो हामी दुईवजे पुग्दा करिव ५ बर्षकी प्रंशसा आचार्य मसक्कै निदाएकी थिइन। छेउको वेड नम्वर २४८ मा थिए पिता नरहरी आचार्य।

 सानी नानी अस्पतालको लामो शैयामा सानो ठाउँ लिएर निदाएकी थिइन। निजगढमा रहेको मावलीबाट रौतहटको चन्द्रनिगाहपुर घर जान लाग्दा बुबा नरहरी आचार्यले चलाएको मोटरसाइकललाई पछाडीबाट आएको टाटासुमोले जेठ ३०मा हानिदिएको थियो।दुर्घटनामा परेको एघार दिनमा असार ८मा प्रशंसाले आमा प्रमिला भण्डारीलाई गुमाइन।

 अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकी प्रशंसा र उनका बा नरहरीसँगै दुर्घटनामा परेकी प्रमिलाले ११ दिनसम्म बाँच्न गरेको संघर्ष निरर्थक भयो। नत डाक्टरले बचाउन सके। नत कसैको शुभेच्छाले काम गर्यो।

 सबैलाई कालले नै जित्यो। प्रमिलाले आफ्ना दुई छोरीलाई र पति नरहरीलाई छोडेर गइन। छोरीहरु टुहुरा भए। नरहरी जीवनसंगिनी विहिन भए। जीवनसंगिनीलाई दागवत्ती दिएर अन्तिम संस्कारमा समेत स्वास्थ्यका कारण बस्न नसक्ने अवस्थामा रहेका नरहरी छोरीलाई लिएर यतिखेर नर्भिकको २४७ र २४८ मा बसेर उपचार गरिरहेका छन्।

 आफू खुट्टा टेक्न सक्दैनन। श्रीमती हेटौंडाको चुरेहिल अस्पतालमा रहँदा आफ्नो पीडा श्रीमतीको अगाडी केहि पनि ठानेनन्। श्रीमतीको उपचारमा दौडिरहे। औषधी ल्याउने देखि अन्य दौडधुपमा रहँदा दुर्घटनामा परेर बजारिएको उनको खुट्टाले अहिले आएर दुख दिएको छ।

 डाक्टरको परामर्शमा थप उपचारको तयारीका बारेमा हामीसँग उनले कुरा गरिरहँदा निन्द्रामा रहेकी छोरी ब्युझिएर अचानक रुन थालिन।दुर्घटना भएदेखि आमालाई नदेखेकी उनले सायद कुनै सपना देखिन या ऐठन भयो। अचानक आमा आमा भन्दै रुन थालिन।

 अलग वेडमा रहेका नरहरी एक खुट्टा खोच्याउँदै छोरीलाई अगाँल्न पुगे। छोरीलाई अगाँल्न अघी उनले भने, ‘ छोरीले आमा सम्झी ।’दुर्घटनाको १३औं दिन भइसकेको थियो। छोरीको टाउको देखाउँदै नरहरीले भने ‘ आज डाक्टरले छोरीको कपाल काटेर नुहाउन लगाए। अलि फ्रेस पनि देखिएकी छ। तर पटक पटक आमा भनेर रुन थाल्दा भने मन भरङग हुन्छ। उनले पनि पत्नी वियोगको पीडा लुकाउन सकेनन्। ‘

 सँगै रहेका प्रशंसाको मामाले पनि भाञ्जीलाई फकाउन खोजे। तर तत्काल उनको रुवाइ रोकिने छाँट थिएन। हिक्क हिक्क गर्दै नथाकेसम्म रोइरहिन। अन्जान ठाउँको बसाई अनि सँधै वरिपरि हुने आफन्तको अभाव पनि खट्किदो हो। त्यो भन्दा पनि धेरै प्रत्येक स्वासले पुकारिरहेको आमा नपाउँदा रुवाइमा पनि आमा नै आएर अड्किन्थ्यो।

 देब्रे निधारमा लागेको गहिरो घाउ, सडकमा अनुहार दरालिदा खाटा बस्नै लागेको घाउ र टाउकोको देब्रेतर्फ चिरिएर बनेको घाउको पीडाले पनि उनलाई दुखाएकै हुँदो हो। रुवाउन त त्यो पीडाले पनि रुवाएकै हुँदो हो। त्यो भन्दा पनि आमालाई नदेख्दा बहिनिलाई नभेट्दाको पीडा धेरै थियो। 

३ बर्षकी बहिनी घरमै छिन। अझै प्रशंसालाई आमा अस्पतालमै भएको भनिएको छ। सानो मष्तिष्कमा धेरै पीडा दिन परिवारले पनि चाहेको छैन। त्यसमाथि पनि आफै घाइते भएकी छोरीलाई थप पीडा नहोस भन्ने चाहना छ नरहरीको।

 छोरीलाई फुल्याउन निकै खोजे। काखमा राखेर थप्थपाए। मिठो लाग्ने खानेकुराको प्रलोभन पनि दिए। जबसम्म उनी थाकिनन् तबसम्म उनको रुवाइ रोकिएन। एकछिन पछि थाकेर रुन छोडेकी प्रशंसालाई मामाले केहि खानेकुरा ल्याएर दिए। केहिबेर खाएपछि उनको आँखा टेवुलमा राखिएको कापी र पेन्सिलमा गयो। नरहरीले कुरा बुझे।

 उनले पनि ल अब होमवर्क गर्ने भनेर छोरीलाई त्यतातिर व्यस्त बनाए। एनिमल, फ्रुट्सको नाम लेख्न हौस्याए। उनले लेख्ने कोशिस गरिन। एलकेजीमा अध्ययनरत प्रशंसा दुर्घटनापछि विद्यालय गएकी छैनन। अझ कतिदिन छुट्ने हो थाहा छैन।अस्पतालमा रहँदा पनि छोरीको पढाइको चिन्ता त बाबालाई हुने भयो। 

छोरीले लेख्दै जादा बेलाबेलामा बाबालाई दंग्याउन थालिन। लेख्दै पनि गइन। कतिखेर बाबालाई दंग्याउँदै हास्छिन। छोरी हास्दा बाबा पनि खुसी हुनैपर्योप। रुँदा दुखि बनिहाल्थे। त्यो क्षणहरु उनका लागि धेरै बर्ष अघी माधव प्रसाद घिमिरेले लेखेको शोककाव्य ‘गौरी’ मा भनिए झै हुन्थ्यो। 

‘यि हाँसे पनि सुख छैन मनमा विर्सेकी आमा भनि यि रोय पनि दुख लाग्छ यिनले सम्झेकी आमा भनि’ छोरीको रुवाँई र हाँसोमा उनलाई त्यहि वियोगको पीडाले सताउँछ। माधव प्रसाद घिमिरेले भोगेको त्यहि पीडानुभुती हुन्छ। उनले नभनेपनि उनको आँखामा देखिएको पीडा महशुस गर्न सकिन्थ्यो।

 रौतहटमा पत्रकारीता पेशामा रहेका उनको दैनिकी नै अब कसरी अघी बढ्छ उनैलाई थाहा छैन। उनले भने, ‘सिधा हिडेको बाटो अब यू टर्न भएको छ। अब यि छोरीहरुको लालन पालन र शिक्षा दिक्षामा कसरी लाग्ने भन्ने मात्र ध्यान छ।

’दुर्घटनालाई भवितव्य बनाउने गरि कतिपय नारायणी यातायात व्यवसायी समितिका मानिस र उनीहरुका प्रतिनिधी लागिपरेको सूचना पाएका उनले भने, ‘श्रीमती त गइहालिन तर उनको मृत्यु त्यतिकै खेर नजाओस। उनले न्याए पाउन। यि लालाबालाको लागि केहि गर्न सकिनेगरि क्षतिपूर्ती दिइयोस। ताकि यिनिहरुको शिक्षादिक्षामा खर्चिन सकियोस।’

 नियतीले बाबा र आमाको दोहोरो भुमिकामा पुगेका नरहरीले तत्काल छोरीको स्वास्थ्यकोसँगै अबको दिनमा शिक्षाको पनि ध्यान दिनु छ। छोरी ठूलो हुँदा उसको अनुहारमा देखिएका दाग नहोस भन्ने चाहना पनि छ। छोरी ठूली हुँदा उसको अनुहारको दाग उसको प्रगतीको वाधक नहोस भन्ने चाहना छ।

 त्यसैले पनि उनले नर्भिक बसाइमा आफ्नो र छोरी दुबैको राम्रो उपचार गराउन चाहेका छन्। आफू स्वस्थ हुँदा छोरीहरुको लागि काम गर्ने सहज हुन्छ। अनि छोरीको उपचार राम्रोसँग सकाउँदा उसकै भविष्य राम्रो हुने कारण पनि यसैमा केन्द्रीत छन नरहरी।

 नरहरीसँग उसको खुसी खोसको नियतीले उनको अबको बाटोमा काँडा नविछ्योस। प्रमिप्रति श्रद्धाञ्जली। नरहरी र प्रशंसादुवैको स्वास्थ्य लाभको कामना।नर्भिक अस्पतालमा नरहरीका बाबु छोरीलाई भेट्न गएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु शिवाकोटी।

 तस्विरः हाम्राकुरा डटकम। (शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव छन्)

0 comments

Write Down Your Responses