बाढीले तराईका अधिकांश जिल्ला डुबानमा, वैशाखयता देशभर ७७ को मृत्यु -

काठमाडौं– केहि दिनयता परेको अविरल बर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । डुबानमा परेकाहरुलाई उद्दार गरेर सामुदायीक भवन, स्कुल तथा उच्च क्षेत्रमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

 -सोमबार र मंलगबारको बाढी र पहिरोका कारण २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै गत वैशाखयता ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए । उनले भने, ‘वैशाखयता ७७ जनाको मृत्यु भएको छ, हिजो र आज मात्रै २८ जनाले ज्यान गुमाए, २४ जना हराइरहेका छन् ।

’ त्यस्तै पहाडी क्षेत्रमा रहेका असुरक्षित वस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा ठाउँसारी गर्नका लागि सबै सम्बन्धित जिल्लाका सिडीओहरुलाई निर्देशन दिइएको कोइरालाले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित १४ जिल्लाका बाढी र पहिरोको जोखिममुक्त बस्तीका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।

 चार ठाउँमा गोदामघर, ५४ ठाउँमा डिडिआरी केन्द्र लगातार बर्षाका कारण आएको बाढी र पहिरोका कारण विपद्मा परेका सर्वसाधारणको उद्दार तथा राहतका लागि सरकारले मुलुकका चार स्थानमा आवश्यक बन्दोबस्तीका सामान राखेको छ । गृह मन्त्रालयका अनुसार कैलाली, नेपालगञ्ज, पोखरा र सुनसरीमा गोदामघर निर्माण गरिएको छ । 

त्यस्तै देशका ५४ स्थानमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरिएको गृह प्रवक्ता कोईरालाले बताए । उनले भने, ‘हामीले तिनैवटा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौं ।’गृह मन्त्रालयले स्थापना गरेको ५४ वटा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र २४ सै घण्टा खुल्ला रहनेछ, जहाँबाट स्थानीयहरुले बाढी र पहिरोको पूर्व–सुचना प्राप्त गर्न सक्नेछन् ।

 त्यस्तै उद्दारका लागि विराटनगर, काठमाडौं र नेपालगञ्जमा ३ वटा नेपाली सेनाका हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ । तल्लो तटिय क्षेत्रका सर्वसाधारणलाई सुचना दिनका लागि गृहमन्त्रालयले एसएमएस सिस्टम समेत शुरु गरेको बताईएको छ । जोखिमयुक्त बस्तीका स्थानीय अगुवाहरुलाई एसएमएसमार्फत सुचना दिएर सम्भावित दुर्घटनाबाट बच्नका लागि सचेत गर्न त्यस्तो सिस्टम शुरु गरिएको हो ।

 ‘माथिल्लो भागमा बाढी आएमा तल्लो तटीय क्षेत्रका जनतालाई सुरक्षित ठाउँमा राख्नका लागि सामूहिक आवासको निर्माण गरेका छौं’ गृह प्रवक्ता कोइरालाले भने, ‘जोखिमयुक्त बस्तीका स्थानीयलाई खाने बस्ने सुविधाका लागि केन्द्रबाट हामीले डिडीआरसीलाई आवश्यक बजेट उपलब्ध गराईसकेका छौं ।’ 

 कोइरालाका अनुसार बाढी पहिरोका कारण मृत्यु भएकाहरुलाई प्रतिव्यक्ति ४० हजार काजकिरीया खर्च र घर भत्केकाहरुलाई ५ देखि २५ हजार तत्कालीन राहत उपलब्ध गराईएको छ ।

0 comments

Write Down Your Responses