जुरेको पहिरो र भूइँचालोपछि सिन्धुपाल्चोकमा अर्को विपत

भोटेकोशीको बाढीले दर्जनौं घर बगायो, ५८ जनाको उद्धार

२४ असार, सिन्धुपाल्चोक ।

 दुई वर्षयता सिन्धुपाल्चोक जिल्लामा एकपछि अर्को प्राकृतिक विपत आउन थालेको छ । जुरेको भीषण पहिरोको पीडा भुल्न नपाउँदै सिन्धुपाल्चोकबासीले भूकम्पबाट ठूलो क्षति व्यहोर्नुपर्‍यो । अहिले फेरि भोटेकोशीमा अकस्मात आएको बाढी र विभिन्न ठाउँको पहिरोले जिल्लाबासीमा अर्को विपत आइलागेको छ ।

 जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा अहिलेसम्म २५ वटा घरमा क्षति पुर्‍याइसकेको छ । बाह्रबिसेभन्दा माथिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले अनलाइनखबरलाई जानकारी दिए । 

 अझै पनि भोटेकोशीमा बाढी बढ्ने र घट्नेक्रम चलिरहेकाले थप क्षति पुर्‍याउन सक्ने भन्दै सर्वसाधारणका लागि पूर्वसुरक्षा अपनाउन भनिएको प्रजिअ दुवाडीले बताए ।नेपाली सेनाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले बाढीबाट उच्च जोखिममा रहेका तातोपानी गाविसको भ्यानपार्क भन्ने ठाउँबाट ५८ जनालाई उद्धार गरेको छ ।

 ‘सेनाको हेलीकोप्टर मगाएर भ्यानपार्कका ५८ जनालाई उद्धार गरेर बाह्रबिसेमा ल्याएका छौँ, त्यसमध्ये ४४ जनाले काठमाडौँ जान चाहेकाले गाडी चढाएर पठायौँ, प्रमुख जिल्ला अधिकारी दुवाडीले भने । उद्धार गएर ल्याइएको बाँकीलाई बाह्रबिसेमा स्थानीयवासीको सहयोगमा राखिएको छ । बाढीले धेरै ठूलो भौतिक क्षति पुर्‍याए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको प्रमुख जिल्ला अधिकारीले अनलाइनखबरलाई बताए । 

 केही दिनदेखिको बाढीले अहिलेसम्म एउटा झोलुंगे पुल र एउटा गाडी गुड्ने बेलिब्रीज पुलसमेत बगाइसकेको छ ।बाढीबाट माथिल्लो भोटेकोशीको ड्याममा समेत क्षति पुगेको छ । ठाउँ-ठाउँमा बिजुलीको पोल बगाएको प्रमुख जिल्ला अधिकारी दुवाडीले बताए । अहिलेसम्मको अवस्थामा बाह्रबिसेबाट ५ किलोमिटरमाथि जम्बु भन्ने ठाउँसम्म जान सकिन्छ । तर, त्यसभन्दा माथिको सडक पूर्ण रुपमा कटान भएको छ । जसले गर्दा जिल्लाबासीको लाइफलाइनमा ठूलो असर पुर्‍याएको छ । 

 मानवीय क्षति नभए पनि बाढीका कारण ठूलो भैतिक क्षति भएको छ । केही कुखुरा फार्महरु नदीले बगाएको छ । बाढीले एउटा प्लाइ उद्योग, तारजाली बुन्ने उद्योग र ब्लक निर्माण उद्योगलाई समेत डुबाएको छ ।भूकम्प र पहिरोबाट भर्खरै तंग्रिदै गरेको जिल्लामा भोटेकोशीको बाढीले थप पीडा उत्पन्न गरेको छ । भूकम्पमा बचेका कैयौं घर बाढीपछि गएको पहिरोमा परी भत्किएका छन् ।

 कैयौं घरहरु भीरमा धराप बनेर अल्झिएका छन् । कसरी आयो बाढी ? भोटेकोशी नदीमा मंगलबार राति अकस्मात बाढी आएको हो । मंगलबारदेखि आएको बाढी शुक्रबारसम्म पनि घट्ने बढ्ने क्रम जारी छ । मध्यरातबाट सुरु भएको बाढीले तिब्बतको सीमाक्षेत्र तातोपानीमा दर्जनौं घर बगाएको छ भने दर्जनौं घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

 लिपिङ बजार र तातोपानीका अरु पनि घरहरु बगाउने अवस्थामा धरापमा छन् । कोदारी बजारको होटल र घरहरु पनि बग्ने अवस्थामा पुगेका छन् ।नदीमा एक्कासी ५ मीटरभन्दा बढी पानी आएपछि नदी किनाराका घरहरु बगाउनुका साथै डुवानमा परेका हुन् । नदीले किनाराको माटो काट्दा छेवैमा भएका घरहरु भत्किएर नदीमा खसेका छन् ।

 मानिसहरु घरबाट निस्केर भाग्न सफल भए पनि सामान निकाल्न नपाउनेहरुको सडक बास हुन पुगेको छ । विजुलीको तार र ट्रान्सफरर्मरसमेत नदीले बगाएपछि बजारमा विद्युत आपूर्तिसमेत बन्द भएको छ । भोटेकोशीमा तिब्बततर्फबाट एक्कासी बाढी आएको हो । तिब्बतमा रहेको हिमताल फुटेर बाढी आएको बताइएको छ । 

चीनले बेलैमा जोखिमको सूचना नदिँदा बढी क्षति भएको गुनासो पनि आइरहेको छ ।सिन्धुपाल्चोकको तातोपानीलेखि सुनसरीसम्मको नदी किनाराको भागलाई कोसी बेसिन भनिन्छ । कोसी बेसिनमा भारतको बिहार र गंगा नदीको किनाराका बासिन्दालाई पनि लिइन्छ । विभिन्न अध्ययनले कोसी बेसिनको सिरानमा रहेका हिमतालहरु कुनै पनि बेला फट्न सक्ने भन्दै यो क्षेत्रलाई उच्च जोखिमको क्षेत्र बताउँदै आएका छन् । 

 त्यसैगरी इसिमोडले गरेको अध्ययनले पनि यो क्षेत्रका हिमतालहरु जोखिममा रहेको बताउँदै आएको अवस्था छ । विशेषगरी भूकम्पपछि सिन्धुपाल्चोकका पहाडहरु कमजोर बनेका र पहिरोको जोखिम बढेको विज्ञहरुले गत वर्षदेखि नै बताउँदै आएका हुन् ।सिन्धुपाल्चोक जिल्लाका पहिरो एवं भूकम्प पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र एकीकृत वस्ती बसाउने चर्चा गत वर्ष सरकारी तहबाट जोडतोडका साथ चलेको थियो ।

 तर, यो योजना समयमै कार्यान्वयनमा नआउँदा जिल्लाबासीले अर्को प्राकृतिक प्रकोपको सिकार हुनुपरेको छ । यद्यपि भोटेकोसीमा बाढी आउनासाथ स्थानीय प्रशासनले समयमै सूचना प्रवाह गरेको र जनधनको बढी क्षति हुन नदिएको स्थानीय सरकारी अहिकारीहरुले बताएका छन् । 

 अब बाढीबाट पुगेको क्षतिका कारण विस्थापित बनेकाहरुको व्यवस्थापन र राहतमा सरकारले जोड दिनुपर्ने आवश्यकता खडि्कएको छ । दुखको कुरा के छ भने गृहमन्त्रालयले भोटेकोसीको क्षतिबारे औपचारिक विज्ञप्तिसम्म जारी गरेको छैन । जिल्ला प्रशासनले २५ घरमा क्षति पुगेको भने पनि वास्तविक क्षति अझै बढी हुन सक्ने स्थानीय बताउँछन् । 

 गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार संसदलाई दिएको क्षतिको विवरणमा पनि भोटेकोशीको क्षतिको विस्तृत विवरण नदिई सामान्य चर्चामात्रै गरिएको छ । (तस्वीरहरू: श्रीधर न्यौपाने)

0 comments

Write Down Your Responses