३६ प्रतिशत ब्याजमा १० लाख ऋण काढेर लण्डन भासिएका एक नेपाली युवाको संघर्षको कथा
तिलक कोइराला
हेमकान्त सेढाई लण्डनको कर्नवालका स्थापित नेपाली रेष्टुरेन्ट ब्यवसायी हुन् । नेपालमा ५ बर्ष होटल तथा रेष्टरेन्ट ब्यवसायमा अभ्यस्त भएपछि २० बर्ष पहिले उनी ३६ प्रतिशत ब्याजमा १० लाख रुपैयाँ ऋण काढेर बेलायत गएका थिए । उनले त्यहाँ ४ वटा रेष्टुरेन्टको स्वामित्व ग्रहण गरी कयौं नेपालीहरुलाई रोजगारी दिएर लण्डनबासी गोराहरुलाई नेपाली, थाई, भारतीय चिनियाँ, जापानी खानाहरुको स्वाद पस्किरहेका छन् ।
आफूसंगै लण्डन गएका कयौं साथीहरु टिक्न नसकेर नेपाल फर्किए पनि हेमकान्तले हिम्मत हारेनन् । उनी आफ्नो बिगत सम्झदै भन्छन- धेरै हण्डर र ठक्कर खाईयो तर हरेस खाईएन ।
सुरुमा लण्डन जाँदा उनले कहाँ बस्ने, के खाने, के काम गर्ने जस्ता अन्योल र अभावको सामना गर्नु पर्यो । हुन त चितवनबाट काठमाडौ आएर संघर्ष गर्दाका समस्याहरुसँग उनी अभ्यस्त भईसकेका थिए ।
एभरेष्ट होटलमा मध्य रातसम्म काम गरेर बिजुलीबजारको सानो डेरामा तीन घण्टा सुतेर फेरि बिहान ५ बजे काममा जानु पर्ने बाध्यता उनलाई हुन्थ्यो ।
कामबाट फर्किएर राति १२ बजे कोठामा आइपुग्दा आफु सुत्ने खाटमा ४ जना पाहुनाहरु सुत्दा भाँचिएर रातभरि सुत्न नपाएर अनिन्द्राकै अबस्थामा काममा जानु परेको, राति गुण्डाहरुको आक्रमण र लुटपाटमा परेको, कोठामा खाने कुरा नहुँदा भोकै सुतेको जस्ता अनेकौ अनुभवहरु उनीसँग थिए ।
यसले पनि लण्डनमा उनलाई संघर्ष गर्न अरु बल दिएको थियो ।
हेमकान्तले त्यतिखेर लण्डनमा भोगेको पीडा सुनाए- परदेश भनेको परदेश रहेछ भन्ने कुरा त्यतिखेर थाहा पाएँ । स्वदेशमा भोग्ने पीडा र बिदेशको पीडा फरक हुँदो रहेछ । स्वदेशमा सोचे जस्तो कहाँ हुन्छ र ?
बेलायतको लण्डन पुग्नुलाई धेरैले ठूलो उपलब्धि भनेर सोच्छन् तर त्यहाँ खानुपर्ने गोताबारे थोरैलाई मात्र थाहा हुनसक्छ ।
हेमकान्तले पनि सुरुमा पाउनुसम्मको गोता खाए । काम खोज्दा काम पाएनन, बल्ल बल्ल तन्दुरी रोटी बनाउने होटलमा काम पाए तर कामकै सिलसिलामा तन्दुरी मसिन पडकेर हात जलेपछि लामो समय अस्पतालमा उपचार गराउनु पर्यो ।
आफ्नो कष्टपूर्ण बेलायत प्रबासको संझना गर्दै हेमकान्त भन्छन्- संघर्ष नै जीवन रहेछ, त्यतिबेला मैले जुन किसिमको संघर्ष गरे, त्यही नै मेरो अहिलेको जग बनेको छ ।
लामो समयको अस्पताल बसाईका बीच हेमकान्तलाई लण्डनमा अब के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो । जानेकै शीप भनेको होटलको काम थियो, त्यही क्षेत्रमा उनले आफ्नो भबिष्य खोज्ने निधो गरे । उनी स्वस्थ भएपछि पहिले आफैले काम गरेको होटल मालिकसँग कुरा गर्न गए ।
होटल मालिकले - हेम तिमी अब यही होटल भाडामा लिएर चलाऊ भन्यो ।
हिम्मत कसे र उनले भाडामा लिएको रेष्टुरेन्टबाट कमाई गर्दै गए ।कमाउँदै गए पछि उनको आत्मबिस्वास बढ्दै गयो । तीन बर्षपछि उनी आफैले त्यो रेष्टुरेन्टलाई १२ हजार पाउण्डमा किने । रमेश श्रेष्ठ त्यसका साझेदार थिए । नेप्लिज गोर्खा नामको त्यो रेष्टुरेन्ट लण्डनबासीबीचमा निकै लोकप्रिय बन्यो, होटलका टेबलहरु हरेक दिन भरिभराउ देखिन थाले ।
हेमकान्तले संचालन गरेको नेपाली रेष्टुरेन्टलाई प्रतिष्ठित टेलिग्राफ पत्रिकाले सबैभन्दा राम्रो रेष्टुरेन्टको रुपमा चर्चामा ल्याएपछि उनको रेष्टुरेन्ट ब्यबसाय अरु चम्कियो ।
नयाँ बानेश्वरको एभरेष्ट होटलमा पाँच बर्ष वेटरको अनुभव हासिल गरेर लण्डन छिरेका उनले यो उपलब्धि हासिल गर्न दुई दशक संघर्ष गर्नु पर्यो ।
कमाई बढ्दै गएपछि अरु तीन वटा रेष्टुरेन्ट उनले खोले । नेप्लिज गोर्खाले कमाएको लोकप्रियतासँग त्यसलाई किन्न चाहनेहरुले आकर्षक प्रस्तावहरु हेमकान्तलाई पठाउँन थाले । १२ हजार पाउण्डमा किनेको रेष्टुरेन्टलाई उनले एक लाख पाउण्डमा बेचे । त्यतिबेला उनले ४० नेपालीसहित ९२ जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए ।
पछि कामदार अभाव हुँदै गएपछि दुई वटा रेष्टुरेन्ट बेच्नु पर्यो । थाई सेफ नपाएर उनले एउटा थाई रेष्टुरेन्टमा मात्रै ७५ हजार पाउण्ड घाटा खानु पर्यो । आफ्ना साझेदार रमेश श्रेष्ठ साझेदारी छाडेर नेपाल फर्किएपछि उनलाई नयाँ ढंगले सोच्न बाध्य बनायो ।
दक्ष कामदारको चर्को अभाव झेलिरहेका हेमकान्तले अब आफ्ना नाता गोतालाई पनि नेपालबाट लण्डन झिकाएर रोजगारी दिलाउने बिचार गर्न थाले ।
त्यही क्रममा दाई, भाउजु, भाई, श्रीमति, बहिनी, ज्वाईँ सबैलाई लण्डन बोलाए । लण्डनमा प्रतिष्ठित होटल ब्यवसायी भएकाले बेलायत सरकारले उनको अनुरोधलाई अश्वीकार गरेन, जजसलाई उनले बोलाए बेलायत सरकारले सजिलै भिसा पनि दियो । उनले आफ्ना नाता गोतालाई मात्रै हैन, बेलायतीहरुलाई नै रोजगारी दिएका छन् ।
२० जना भन्दा बढी नेपालीले हेमकान्तकै सिफारिसमा बेलायतको स्थायी बसोबासको अबसर पाएका छन् ।
अहिले उनले कर्नवालमा बाल्टीकरी र नेप्लिज गोर्खा क्युजिन नामक दुईवटा रेष्टुरेन्ट संचालन गरिरहेका छन् । ती रेष्टुरेन्टमा कामदारको चर्को अभाव छ । बेलायत सरकारको रोजगारी र भिसा सम्बन्धी नयाँ नियमले अरु देशबाट जानेहरुको संख्या कटौती भएपछि दक्ष कामदारको अभाव चर्किएको हेमकान्त बताउँछन् ।
बेलायतमा संघर्ष गर्दागर्दै पनि उनले आफ्नो देश र यहाँका जनताले भोग्नु परेको समस्या समाधानमा साथ दिन बिर्सैका छैनन ।
आफु जन्मिएको चितवनको पिप्ले गाउँमा उनले थुप्रै सामाजिक कामहरुमा नेतृत्वदायी भुमिका खेलेका छन् । देबघाटमा धर्मशाला बनाउने, पिप्लेमा बंगलामुखी मन्दिर निर्माण, एम्बुलेन्स संचालन, बुद्धशान्ति उच्च माद्यामिक बिद्यालय, भोलेबाबा बिद्यालय निर्माण लगायतका कामहरुमा उनको उल्लेखनीय सहयोग छ ।
त बैसाखको भुकम्पपछि उनी काभ्रेको बालुवा गाउँ र धादिड.को गजुरीमा जस्ता र खाद्य सामाग्री पीडितहरुलाई बितरण गर्न पुगेका थिए ।
उनले बिभिन्न ठाउँमा स्वास्थ्य शिविर पनि संचालन गरिसकेका छन् । आफै मधुमेहबाट पीडित भएर औषधी सेवन गरिरहे पनि उनले अरुको स्वास्थ्य अबस्था सुधारमा पनि उत्तिकै ध्यान केन्द्रित गर्ने गरेका छन् । बेलायतमा बालबालिकाहरुको हस्पिस संचालनमा सहयोग गरेका हेमकान्तले नेपालमा पनि कतिपय मुटुका रोगीहरुको भल्भ फेर्न आर्थिक सहयोग गरेर मनकारी प्रबासीको परिचय बनाएका छन्।
म आफै धनी परिवारको मान्छे हैन, पिप्लेमा मेरो जुन किसिमको आर्थिक पृष्ठभुमि छ, सबैलाई थाहा छ तर म आफु समान अरुलाई पनि सोच्छु र सहयोग गर्छु- हेमकान्त भन्छन्।
बीबीसीका पत्रकार रबिन्द्र मिश्रले संचालन गरेका सामाजिक कामहरुमा पनि हेमकान्तले सहयोग गरेका छन् । कयौं कलाकारहरुलाई लण्डन बोलाएर उनले नेपाली कला र संस्कृति प्रदर्शनीको आयोजना पनि गर्ने गरेका छन् ।
यी सबै काम गर्न उनले सहयोग संकलनको नविन शैली अपनाउने गरेका छन् । रेष्टुरेन्टमा आउने पाहुनाहरुबाटै प्राप्त हुने आम्दानी र च्यारिटी डिनर कार्यक्रम नै यसको स्रोत हो । उनले कुनै नौलो सामाजिक काम गर्न थाले भने सहयोग गर्न आउने गोराहरुको कुनै कमी हुँदैन । कतिपय बेलायतीहरु आफै नेपाल आएर सहयोग बितरण गर्ने गरेका छन् ।
लण्डनमा आयोजित नेपाल सहयोग च्यारिटीको एक झलक
केही दिन अघि चितवन जाने क्रममा गाडीमा भेटिएका हेमकान्तले बिदेशमा पौरख गरे पनि आफु जन्मिएकोे गाउँ ठाउँमा आएर सहयोग गर्न पाउँदा गौरब लाग्ने अनुभुति सुनाए ।बेलायतको रमझममा लामो समय भिजेका र कयौं युरोपेली देशहरु घुमेका उनको भनाई छ- नेपालको जस्तो रहन सहन र बिबिधतापूर्ण देश अरु देखिन् । स्रोत, साधन र रोजगारीको अबसर पनि यहीं बढी छ तर राजनीति चाँही साह्रै खराब । अरु केही राम्रो गरौं भन्दाभन्दै राजनीति संझिदा चाँही दिक्क लागेर आउँछ ।
0 comments
Write Down Your Responses