मुटुका लागि कुन खाने तेल राम्रो ?
सोमबार, आषाढ २०, २०७३
मलाई धेरै नै मुटुका रोगीहरुले एउटा साझा प्रश्न सोध्ने गर्छन् – ‘कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?’ धेरै मानिसहरु खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थहरुकबारे भ्रममा परेका देखिन्छन् ।
आजभन्दा केही वर्ष अगाडिसम्म बजारमा मुख्यरुपमा तोरीको तेल मात्र पाइन्थ्यो ।धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिदाँ र रोटी, पुरी पकाउदा गाई–भैंसीको घिउ प्रयोग हुने गथ्र्यो । आज बजारमा तोरीलगायत भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभ, नरिवल आदि धेरै प्रकारका खानेतेलहरु बिक्रीमा छन् । उद्योग व्यापारको प्रोत्साहन गर्ने जमाना छ ।\
बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं तेल उत्पादन गर्ने उद्योगहरुले नानाथरी आकर्षक विज्ञापनहरु गरेर आ–आफ्नो उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो राख्छ, हार्ट अट्याक हुनबाट बचाउंछ आदि सन्देशहरु जनमानसमा पुर्याउँने प्रयास गरिराखेका देखिन्छन् ।यसैको फलस्वरुप मुटुका रोगीहरु अन्योलमा परेका छन् ।
यति धेरै थरी तेलहरुमध्ये कुनचाहिले मुटुलाई फाइदा गर्ला ?
हामी मुटुरोग विशेषज्ञहरु भन्ने गर्छौं –‘चिल्लो पदार्थले मुटुलाई हानि पुर्याउँछ, किनकि यसमा कोलेस्टेरोल र ट्राइग्लाइ–सेराइड हुन्छ ।
यी तत्वहरु मुटुको रक्तनलीभित्र जम्न गई रक्तनलीलाई साँघुरो बनाइदिन्छन्, फलस्वरुप रक्त सञ्चारमा बाधा उत्पन्न भई हृदयघात हुनपुग्छ ।
बडो अन्योलको स्थिति छ । एकातर्फ फलानो तेल ‘शतप्रतिशत कोलेस्टेरोल फ्री, मुटुलाई राख्छ स्वस्थ’ भन्दै टेलिभिजनको रङ्गीन पर्दामा सिनेमाको हिरो, हिरोइन तथा खेलकुद जगत्का चर्चित खेलाडीहरु उफ्रने गर्छन् भने अर्कोतर्फ ‘तेल र चिल्लो नखा, मुटु बिग्रेला’ भनी डाक्टरहरुले सावधान गराउँछन् ।
आखिर बिरामीले कसको कुरा मान्ने रुकाठमाडौंमा मैले ७ वर्षको उमेरदेखि उपचार गर्दै आएका सापकोटा थरका मुटुरोगी छन् । उनी बाथ, मुटुको रोगबाट पीडित छन् । उनको मुटुको एउटा भल्भ बिग्रिएको छ । प्रत्येक ३–३ हप्तामा पेन्सिलिनको सुई लगाउने गरेका छन् । आज उनी १४ वर्षका भइसके ।गत महिना उनी आफ्ना बाबुसँग जँचाउन आएका थिए ।
मसँग भेट्नासाथ उनले गजबको सिकायत गरे ‘हेर्नुस् न डाक्टर साहेब, बाबाआमाले मलाई खानै दिनुहुन्न, जे पनि नखा भन्नुहुन्छ । जेले पनि मुटु बिग्रन्छ रे, पुरीले पनि मुटु बिग्रन्छ रे , मलाई घिउ–भात खान मन लाग्छ तर उहाँहरु घिउ सुँघ्न पनि पाउँदैनस् भन्नुहुन्छ ।मैले उनका बाबुलाई तत्कालै सोधें – ‘बच्चालाई किन मासु, घिउ खान नदिएकोर ?’ उनले जवाफ दिए – ‘मासुमा कालेस्टेरोल हुन्छ ।
चिल्लो पदार्थले मुटु बिगार्छ । घिउले हार्ट अट्याक गराउँछ ।मुटुरोगीले चिल्लो र कालेस्टेरोल भएको खाना खानुहुँदैन । यसै कारण मैले मुटुरोगी छोरालाई मुख बार्न लगाएको हुँ ।’उनको जवाफ सुनेर म झसङ्ग भएँ । कत्रो ठूलो गल्ती भइराखेको रहेछ । बाथ, मुटुको रोग भएको बालकले चिल्लो र मासु किन बार्नुपर्याे ? मजासँग खाए भइहाल्छ नि, यो त हृदयघात सम्बन्धी कोरोनरी मुटुका रोगीहरु, उच्च रक्तचाप, मधुमेह आदि भएकाहरुले बार्नुपर्ने कुरा हो ।
मुटुको रोग भन्दैमा सबै एकैथरी कहाँ हुन्छ र रु यस प्रकार अज्ञानताको शिकार भएका धेरै नै मुटुरोगीहरु भेटिन्छन् ।
कसैले चाहिने बेलामा चिल्लो पदार्थ बारेका हुँदैनन् भने कसैले अनावश्यकरुपमा चिल्लो पदार्थको प्रयोग रोकेका हुन्छन् । विचरा किशोर आफ्नो बाबुको अज्ञानताका कारण घिउ र मासु खानबाट बञ्चित हुनपुगे ।
चिल्लो खाद्य पदार्थ भन्नेबित्तिकै घिउ र तेल बुझिन्छ ।
खाना पकाउन धेरैजसो वनस्पति तेलको प्रयोग गरिन्छ । तेल शतप्रतिशत चिल्लो पदार्थ हो । तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । ट्राइग्लिसेराइडको मतलब हुन्छ – ट्राइ–३, ग्लिसेराइड–ग्लिसेरोल । अर्थात् ३ अणु फ्याटी एसिड र १ अणु ग्लिसेरोल भएको रासायनिक वस्तु हो ट्राइग्लिसेराइड ।
तेलमा पाइने फ्याटी एसिड ३ प्रकारका हुन्छन्
१. स्याच्युरेटेड
२. मोनो अनस्याच्युरेटेड
३. पोलि–अनस्याच्युरेटेड
यी तिनै फ्याटी एसिडरुका बनावट र मुटुमा पार्ने असरहरुबीच त्यति धेरै फरक छैन । बनावटको हिसाबले यिनीहरुमा हाइड्रोजनअणुको मात्रा घटिबढी हुन्छ भने असरको हिसाबले स्याचयुरेटेडले बढी नकारात्मक असर गर्छ । धेरै थोरै सबै प्रकारका फ्याटी एसिडले मुटुलाई हानि नै पुर्याउँछ ।
अनस्याच्युरेटेड फ्याटी एसिडको एउटा बडो राम्रो गुण छ । मनो र पोली अनस्याच्युरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पुयाउँछ । यसका साथै वनस्पति तेलमा भएको लिनोलेइक फैटी एसिडले पनि रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पुर्याउछ ।
कुनै तेलमा यो बढी हुन्छ त कुनैमा घटी हुन्छ । यी लाभदायी तत्वहरुबाहेक तेलले रगतमा ट्राइग्लिसेराइड बढाउने, हृदयघातक कालेस्टेरोलको उत्पादन बढाउने आदि नकारात्मक असरहरु प्रशस्त पार्दछ । आमजनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका छन् ।
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञएउटा साधारण उदाहरणः
विदेशबाट आयात गरिएको धेरैले प्रयोग गर्ने सूर्यमुखी तेलको सिसीलाई हेरौं । त्यसमा बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ– शतप्रतिशत कोलेस्टेरोल फ्री । कुरा एकदम ठीक हो, किनकि कुनै पनि वनस्पति तेलमा कोलेस्टोरोल पाइँदैन ।
कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लो पदार्थमा मात्र पाइन्छ । सूर्यमुखी तेलमा कालेस्ट्रेरोल हुँदैन । त्यसमा ९५ प्रशित फ्याटी एसिड हुन्छ, जसमध्ये ११ प्रतिशत स्याच्युरेटेड, ३४ प्रतिशत मोनो अनस्याच्यरेटेड र ५० प्रतिशत पोली अनस्याच्यरेटेड रहेको हुन्छ ।
यो पक्षलाई पूर्णरुपले गोप्य राखेर ‘कालेस्ट्रेरोल फ्री’ भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ ।
हाम्रो जे देख्यो, जे सुन्यो, त्यो पत्याउने वानी छ । फेसन भइसक्यो विदेशबाट आएको सूर्यमुखीको तेल खाने चलन सहरबजारमा ।चिल्लो पदार्थ चाहे त्यो तेल होस् वा घिउ, शरीरका लागि आवश्यक पदार्थ हो ।
तेलमा कोलेस्टेरोल हुँदैन तर अनस्याच्युरेड फ्याट बढी हुन्छ भने घिउमा कालेस्टेरोल र स्याच्युरेटेड फ्याट बढी हुन्छ ।
कालेस्ट्रेरोलबाट शरीरमा केही हर्मोनहरु र पित्तरस बन्छ । साथै स्नायुहरुको कार्य सञ्चालनमा यसको आवश्यकता पर्छ । आवश्यक भन्दा बढी भएमा कोलेस्ट्रेरोल रक्तनलीहरुभित्र गएर जम्छ ।
शरीरका लागि शक्तिको प्रमुख स्रोत नै चिल्लो खाद्य पदार्थ हो ।
१ ग्राम चिल्लो पदार्थबाट ९ क्यालोरी शक्ति प्राप्त हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट को १ –१ ग्रामबाट जम्मा ४ क्यालोरी मात्र प्राप्त हुन्छ । सामान्य परिश्रम गर्ने मान्छेले दैनिक २४ सय क्यालोरी शक्ति आउने खाना खानुपर्छ ।
हाम्रो खानामा चिल्लो पदार्थ, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थहरु हुन आवश्यक छ ।
घिउ, तेल र बोसोमा चिल्लो हुन्छ भने भात, रोटी, मिठाईमा कार्बोहाइड्रेट ज्यादा पाइन्छ । माछा, मासु, दूध र गेडागुडीमा प्रोटिन हुन्छ ।खानाको २० प्रतिशत चिल्लो पदार्थ, ६५ प्रतिशत कार्बोहाइड्रेट र १५ प्रतिशत प्रोटिन पदार्थ हुनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
यदी चिल्लो पदार्थ ३० प्रतिशतभन्दा बढी भएमा त्यो बोसोको रुपमा शरीरका विभिन्न भागमा जम्मा भएर बस्छ ।नरिवलको तेलमा स्याच्युरेटेड फ्याटको मात्रा ज्यादै धेरै छ । यस्तै गाई र भैंसीको घिउमा पनि स्याच्युरेटेड फ्याट बढी छ । यसकारण यी चिल्लो पदार्थले कोरोनरी मुटुको रोग भएकाहरुलाई निकै नै क्षति पुर्याउँछ ।
बदाम, मकै, सूर्यमुखी, भटमास, तोरी आदिको तेलमा स्याच्युरेटेड फ्याट कम तर मोनो र पोली अनस्याच्युरेटेड फ्याटको मात्रा बढी छ । यो तेल ठीक मात्रामा प्रयोग गरेको खण्डमा मुटुलाई त्यति क्षति
पुर्याउँदैन । तोरी र बदामको तेलमा मोनो–अनस्याच्युरेटेड फ्याटको मात्रा सबैभन्दा धेरै छ । त्यसकारण ठिक्क मात्रामा लिएको खण्डमा मुटुका रोगहरुका लागि यी तेल सबैभन्दा कम हानिकारक छन् ।
तोरीको तेलमा लिनोलेइक एसिड नामक रसायन अरु तेलमा भन्दा बढी मात्रामा पाइन्छ ।
यो रसायनले हृदयघातको सम्भावनालाई कम गर्छ, यसकारण यो मुटुको लागी लाभदायक मानिन्छ ।माछाको तेलमा ओमेगा–३ फ्याटी एसिड धेरै पाइन्छ । यसले पनि हृदयघातको सम्भावनालाई कम गर्दछ ।
तोरीको तेल धेरै पटक तताउँदा पनि अन्य तेलसरह ट्रान्सफ्याटमा परिवर्तन हुँदैन ।ट्रान्सफ्याटले मुटुलाई धेरै क्षति पुर्याउँछ । तोरीको तेलको यो पनि एक राम्रो गुण हो । यी सबै तथ्यहरुलाई ध्यानमा राख्दा यो प्रस्ट हुन आउँछ कि कोरोनरी मुटुका रोगीहरुले घिउ र नरिवलको तेल खानु हानिकारक छ ।
वनस्पति तेल थोरै मात्रामा प्रयोग गर्दा हुन्छ । वनस्पति तेल मध्ये शुद्ध तोरीको तेल नै सबैभन्दा कम हानिकारक छ ।
हृदयघातसम्बन्धी रोग भएकाहरुले ‘शून्य तेल खाना’ ९जीरो फ्याट डाइट० खानु उपयुक्त हुन्छ । शून्य तेल खाना भनेको खाना पकाउँदा तेलको प्रयोग गर्दै नगर्ने भनेको हो । खाना पानीमा उसिनेर पकाउने भनेको हो । स्वादका लागि जीरा–मरिच हाले हुन्छ ।
हाम्रो शरीरलाई आवश्यक पर्ने फ्याट, कालेस्टेरोल र फ्याटी एसिडहरु चामल, गहुँ, दालजस्ता अन्य स्रोतहरुबाट पनि पूरा हुन्छ ।यस प्रकार सबैले यो बुझ्नु जरुरी छ की तोरीको तेल खाएर मुटु बलियो हुन्छ भन्ने कुरा होइन । अन्य तेलहरु भन्दा तोरीको तेल कम हानिकारक छ भनेको हो । यस कारण मुटु बलियो पार्न तोरीको तेल खाने गर्नु भन्ने विज्ञापनलाई निरुत्साहित गर्नुपर्छ र तेलले मुटुलाई फाईदा गर्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुनु पर्छ ।
स्वास्थ्यखबर बाट

0 comments
Write Down Your Responses