असोज ४ गते सैनिक मञ्चमा ३ दलले संयुक्त सभा गर्ने
काठमाडौं, भदौ ३१
संविधान जारी भएको उपलक्ष्यमा तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले असोज ४ गते काठमाडौंको सैनिक मञ्चमा संयुक्त सभा गर्ने भएका छन्। बिहिबार बसेको तीन दलका नेताहरुको बैठकले संयुक्त सभा गर्ने निर्णय गरेको हो। सो सभामा संविधान सभामा रहेका अन्य दल पनि सहभागी हुने एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले सेतोपाटीलाई जानकारी दिए।
‘आजको बैठकले ४ गते सभा गर्ने निर्णय गरेको हो। यो सभा पार्टीका तर्फबाट भन्दापनि राज्यका तर्फबाट गर्नुपर्छ भनेका छौं। सायद सरकारका तर्फबाट नै सभा आयोजना हुन्छ होला‘ महराले भने ‘भोलि फेरि बैठक बसेर सभा बारे थप छलफल गर्नेछौं।‘
सो दिन उपत्यकाका विभिन्न स्थानबाट ती दलका भातृ संगठनले विजय जुलुस निकाल्ने कार्यक्रम पनि छ।
त्यसैगरी संविधान अाएको खुसीयालीमा ७५ वटा जिल्लामा पनि तीन दलले संयुक्त सभा गर्ने निर्णय भएको महराले जानकारी दिए।
यसअघि प्रमुख तीन दलले संविधान जारी हुने दिन असोज ३ गते साँझ दीपावली गर्न आग्रह गरिसकेका छन्।
0 comments
Write Down Your Responses