संविधानको स्वागत नगरी बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरे
गोरखाबजार : संविधानसभाबाट जनताको प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्ने दिन संविधानको स्वागत नगरी बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरेका छन् ।
बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा–माओवादी, नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमका नेता कार्यकर्तालाई यातायात सञ्चालन गर्न पाउनुपर्ने, पसलहरु खोलेर व्यापार, व्यवसाय, काम गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको प्रतिकार गरेका हुन् ।
प्रतिकार टोलीले जारी हुन लागेको संविधान प्रगतिशील र जनचाहनाअनुसार आएको बताएका छन् ।
स्थानीयवासीले चलाएको मोटरसाइकलको साँचो माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएपछि स्थानीयवासीले बन्दको प्रतिकार सुरु गरेका हुन् ।
नेकपा–माओवादीका जिल्ला इञ्चार्ज परशुराम रम्तेल र प्रतिकार समूहबीच पटक–पटक भनाभन भएको थियो ।
प्रतिकार समूहले बन्द गर्नुको औचित्यबारे माओवादीसँग प्रतिक्रिया मागेका थिए । 'अब कसैले बन्द गर्न पाउँदैन । बन्दविरुद्ध आजदेखि गोरखाबाट अभियान सुरु भयो' प्रतिकार समूहका एक सदस्यले भने ।
करिब २० जना बन्दकर्ता झन्डा बोकेर सडकमा छन् । साथै ५० भन्दा बढी स्थानीय बन्दको प्रतिकारमा अस्पतालमार्गस्थित सडकमा छन् ।
२०७२ आस्विन ३ आईतवार
0 comments
Write Down Your Responses