काठे पुल बगेपछि दार्चुलाका विद्यार्थी तुइनको भरमा

भाद्र १८, २०७२- विद्यालय जाने र फर्कने समय जतिजति नजिकिन्छ तुसरपानीकी शारदा डडाल त्यति नै त्रसित बन्छिन् । बिहान घरबाट हिँड्ने बेला र स्कुलबाट फर्किने बेला उनलाई तुइनकै झल्कोले सताउँछ ।सम्पाल मावि सुन्सेरामा कक्षा १० मा अध्ययनरत शारदालाई तुइनकै चिन्ताले पिरोलिएकी छिन् । भन्छिन्, ‘पढ्नेभन्दा पनि तुइनबाट खसिएला भन्ने डरले सधै मुटु ढुकढुक गर्छ ।

’ कक्षा ८ का मुकेश डडाललाई पनि बेलुकी घर पुगएला नपुगिएला भन्ने भयले स‘धै पिरोल्छ ।मुकेश र शारदा उदाहरण मात्र हुन् । सुन्सेरा–९ तुसरपानी खोलाको अस्थाई काठेपुल नदीले बगाएपछि अहिले यहॉका छात्रछात्रा तुइनको भर पर्न विवस छन् । दुई वर्षअघि तुसरपानी खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि काठेपुलको मद्दतले उनीहरु विद्यालय आउजाउ गर्थे । ‘काठेपुल बगेको तीन साता पुग्दै छ,’ शारदाले भनिन्,

 ‘अचेल होमवर्क गर्दा पनि किताबमै तुईन देखिन्छ । मजस्तै तुईनको झझ्ल्कोले धेरैको पढाई बिग्रेको छ ।’तुसरपानी गाउँमा गत वर्षसम्म ५ कक्षासम्म पढाई हुन्थ्यो । विद्यार्थी घटेपछि अहिले यो स्कुलमा ३ कक्षासम्म मात्रै पढाइन्छ । तुसरपानीबाट अर्को विद्यालय दम्फा प्रावि पुग्न डेढ घण्टा लाग्छ । तुसरपानीमा ३१ परिवार छन् । गाउँमा ३ सम्म मात्रै पढाइ हुने भएपछि कति विद्यार्थी डेरा लिएर अर्को गाउँमा बसेका छन् । काठेपुल बगाएको ४/५ दिनसम्म तुईन तर्न नसक्ने विद्यार्थीलाई अभिभावकले तुईन तराएर विद्यालय पठाएका थिए । 

५ कक्षामा पढ्ने सरस्वती डडाललाई उनका बाजे मोहनसिंहले तुईन तराएर विद्यालय पुर्‍याएका थिए । अहिले सरस्वति र समीक्षा डडाल सुन्सेरा गाउँमै भाडामा बसेका छन् ।राज्यको पहूँचबाट टाढा रहेका स्थानीयले आफ्नै पहलमा दुई वर्ष अघि काठे पुल हालेका थिए । तुईन तार्न आउने अभिभावक नभएहरु धमाधम डेरा लिएर बस्न थालेका छन् । 

 तुसरपानी खोलामा यहाँबाट नजिक सिनामा झोलुङ्गे पुल छ । यो पुलसम्म पुग्न ४ घण्टा लाग्छ । तुइनको बाटो गए १ घण्टामा पुगिन्छ । ‘४–५ कक्षामा पढ्ने साना बालबालिकाहरु पनि तुईनको जोखिम मोलेर विद्यालय जान बाध्य छन्,’ महादेव प्राविका शिक्षक नारायण दत्त भट्ट भन्छन् । सुन्सेरा र तुसरपानी गाउँका स्थानीयको दुवै ठाउँमा खेतबारी भएकाले खेतमा जान समेत तुईनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको विक्रमसिंह कुँवरले बताए ।
गत वर्ष तुसरपानी खोलामा झोलुङ्गे पुल निर्माणका लागी सर्भे गरिए पनि त्यसयता कोही नफर्केको उनको गुनासो छ । सर्भे अनुसार १ सय २० मिटर लामो झोलुङ्गे पुलको लागत ३८ लाख १९ हजार छ ।

0 comments

Write Down Your Responses