व्याकुल माइलाको जिन्दगीरचनाकारदेखि राष्ट्रगानसम्म

जिन्दगीको पाठशाला तीनपाइले डुंगा लाग्छ । सुनकोशी, दूधकोशी पवित्र गंगा लाग्छ ।। मैले लेखेको यो गीत अहिले रेकर्डिङको क्रममा छ । म सुनकोशी र दूधकोशीमा डुंगा चलाएर हुर्केको हुँ । मानव सभ्यता नदी किनारमा सुरु भएको पाइन्छ । नदीले मानिसलाई जीवन सिकाउँछ भन्छन् ।

 नदीबारे थुप्रै साहित्य पनि लेखिएका छन् । मेरो घर ओखलढुंगाको थाक्ले गाविस हिलेपानीमा पर्छ, दूधकोशी र सुनकोशीको संगममा । हाम्रो गाउँदेखि दक्षिणतर्फ एउटा ठूलो थुम्का छ, सिद्ध थुम्का । सिद्ध थुम्कालाई अत्यन्त पवित्र धामको रुपमा हामीले लिन्छौँ । त्यहाँका राईहरुले सिद्ध देवतालाई कुलदेवताका रुपमा मान्छौँयही सिद्धथुम्काको फेदीमा सुनकोशी र दूधकोशीको दोभान छ । दूधकोशीपारि खोटाङ पर्छ ।

 हाम्रो गाउँका मानिसले दूधकोशीपारि पनि खेतीपाती र दाउराघाँस गर्थे, अझै गर्छन् । हामीहरु दूधकोशीमा तीनपाइले डुंगा खियाएर पारि खोटाङमा खेतीपाती हेर्न, दाउराघाँस गर्न जान्थ्यौँ । खुट्टाले पाइला नाप्दा तीनपाइला हुनेलाई तीनपाइले डुंगा भन्छौँ । यसरी डुंगा चलाएर पारि दाउँराघाँस, मेलापात गर्न जानु हाम्रो जीवन हुन्थ्यो । यो चलन अझै पनि छ । यसरी नै हामीले सानैमा डुंगा चलाउन सिकिसकेका हुन्थ्यौँ । 

पहाडबाट नुन–चामल लिन सुनकोशी तरेर जानुपथ्र्यो । मूलबाटो हाम्रै गाउँ पथ्र्यो । मानिसहरु सुनकोशी ज्योर्तिघाट तरेर मधेसतिर नुन–चामल लिन जान्थे । कोही उदयपुर कटारी जान्थे, कोही धरान जान्थे, कोही काठमाडौं जान्थे, डुंगा तरी परदेश लाग्नेहरु पनि थुप्रै हुन्थे । फर्कनेहरु भारी लिएर फर्कंथे । उतिबेला पारिगाउँ, पारिगाउँका मानिसले पालैपालो डुंगा खियाउने चलन थियो । हाम्रो गाउँको पालोमा मैले पनि डुंगा खियाउँथे । उतिबेला डुंगा तारेबापत प्रतिव्यक्ति एक रुपैयाँ पाइन्थ्यो, भारीसहित तारे दुई रुपैयाँ । हप्ताभरि डुंगा चलायो भने एकजनाको भागमा त्यस्तै ६०–७० रुपैयाँ पथ्र्यो । त्यो पैसाले ठूलै गर्जो टथ्र्यो । 

अहिले मानिसहरुलाई त्यो बाटो हिँड्नुपर्दैन । अहिले त्यहाँ डुंगा लाग्ने चलन हराएको छ । किनभने हाम्रो गाउँ हुँदै मध्यमार्गी लोकमार्ग गएको छ । एसएलसी ०४६ सालमा दिएको हुँ, जतिबेला जनआन्दोलन उत्कर्षतर्फ जाँदै थियो । एसएलसी दिएपछि नै म सुनकोशीमा घटुवारे भएको थिएँ । डुंगा चलाउने कामलाई घटुवारे भनिन्थ्यो । गाउँकै लक्ष्मी बाँस्कोटा भन्ने दाइ काठमाडौंबाट पर्चा–पम्प्लेट लिएर गाउँ जानुभएको थियो । गाउँमा पञ्चायतविरुद्ध जनतालाई उठाउने अभियान थियो ।

 मैले डुंगा चलाउँदै थिएँ, त्यही बेला बाँस्कोटादाइ पनि डुंगा चढ्न आइपुग्नुभयो । उहाँले हामीलाई पनि पर्चा–पम्प्लेट गाउँमा बाँड्ने जिम्मा दिनुभयो । पर्चामा वीर गणेशमान, महामन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बिर थियो । पञ्चायतको विरुद्धमा केही कुरा लेखिएको थियो । त्यसको केही दिनमै बाँस्कोटा दाइ पक्राउ पर्नु भएछ । उहाँलाई केरकार भयो होला, प्रहरीले दुःख दियो होला, उहाँले गाउँमा पर्चा बाँडेको र बाँड्न लगाएको बताउनुभएछ ।उहाँले मेरो नाम पनि लिनुभएछ । पछि आन्दोलन सफल भयो, बहुदल आयो । 

तर, आन्दोलनताका पर्चा बाँडेकै आधारमा मेरो उचाइ बढ्यो । गाउँका पञ्चायत पक्षधर बूढाहरुको भने मोरल डाउन भयो, उहाँहरु हतास मनस्थितिमा हुनुहुन्थ्यो । तर, हाम्रो मनोबल बढ्यो । त्यतिबेला बहुदलीय प्रजातन्त्रका लागि गाउँमा आमसभा, कोणसभा हुन्थ्यो । एउटा समूह बनेको थियो, हिलेपानी युवा समूह भनेर । त्यसको अध्यक्ष म थिएँ । त्यतिबेला म १८ वर्षको थिएँ, २५ चैत ०२८ को जन्म हो मेरो । हामीले गाउँ, भञ्ज्याङ, स्कुलतिर कोणसभा गथ्र्यौं । हाम्रो कोणसभा विकासबारे हुन्थ्यो । स्कुल खोल्नुपर्छ, बाटो ल्याउनुपर्छ भन्नेसम्म हामीलाई थाहा थियो, हामीले यस्तै कुरा गथ्र्यौं । र भन्थ्यौँ, यसका लागि बहुदल आउनुपर्छ । 

हामीले भनेबमोजिमका केही विकास छिटै भए । त्यतिबेला ०१६ सालमा बनेको एउटा प्रावि तहको विद्यालय गाउँमा थियो । र, ब्रिटिस वेलफेयरले ल्याइदिएको पानीका धारा थिए । म भन्छु, विकास स्रोतको अभावले भन्दा पनि सोचको अभावले नहुँदो रहेछ । कुन ठाउँमा कस्तो विकास आवश्यक छ भन्ने पहिले परिकल्पना आवश्यक रहेछ । विकासको सोच, परिकल्पना भयो भने ढिलो–चाँडो विकास हुने रहेछ ।

 हामी गाउँका हिसाबमा धनी परिवार नै हौँ । मेरो हजुरबा वीरसिंह साहु भनेर कहलिनुभएको थियो । उहाँ अरूको शोषण गरेर धनी हुनुभएको होइन । उहाँ गर्भेटुहुरो हो रे, जन्मनुअघि नै बुवा बितेको । अत्यन्तै दुःखसँग हुर्कनुभएको हो रे । पछि आफ्नै बलबुताले जग्गाजमिन जोड्नुभयो । छोराहरुलाई पढाउनुभयो । मेरा हजुरबुवाको दुई विवाह भएको थियो, पाँच भाइ छोरा भए । मेरो बुवा मानबहादुर राई जेठो हो । मेरो वुवा शिक्षक हुनुहुन्थ्यो, अहिले अवकाश पाउनुभएको छ । बुवा ७१ लाग्नुभयो । ऊबेला नै १० कक्षासम्म पढ्नुभएको थियो । 

अवकाशपछि उहाँ कांग्रेसबाट राजनीतिमा लाग्नुभयो । गाविस अध्यक्ष हुँदै जिल्ला सदस्यसम्म हुनुभयो । अहिले स्वतन्त्र हुनुहुन्छ । बुवा शिक्षक भएपछि पनि केही सम्पत्ति जोडियो । उतिबेला थोरै दामको पनि ठूलो महत्त्वहुन्थ्यो । मेरो बुवाले तीन विवाह गर्नुभएको हो । मेरी आमा माहिली हो । मेरी आमा खसेपछि पनि बुवाले अर्की विवाह गर्नुभयो । अहिले जेठी आमा र कान्छी आमा हुनुहुन्छ । गाउँमै बस्नुहुन्छ । मेरी आमातर्फ दुई सन्तान छौँ, एकजना दिदी र म । जेठीआमातिर एकजना दाइ र एउटा भाइ छ । कान्छी आमाका सन्तान भएनन् ।

एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेपछि म क्याम्पस पढ्न काठमाडौं आएँ, ०४७ सालमा । ओखलढुंगाकै भगवती माविबाट एसएलसी गरेको हुँ । काठमाडौं आएर म नेपाल ल क्याम्पसमा आईएलमा भर्ना भएँ, उति बेला एसएलसीपछि आईएलमा भर्ना हुन पाइन्थ्यो । बुवाले काठमाडौं आउँदा भाइलाई र मलाई एक हजार रुपैयाँ दिनुभएको थियो । मेरो भाइ दिलीप राई, म र काकाको छोरा गणेश राई भएर काठमाडौं आएका हौँ । 

दिलीप अहिले गाउँमा शिक्षक छ । काठमाडौंमा आएर हामी सुरुमा माइलाकाका लघुधन राईकहाँ बस्यौँ, उहाँको डेरा बत्तीसपुतलीमा थियो । उहाँ बहुदलवादी नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो । उहाँ ०३० सालतिर काठमाडौं आउनुभएको हो । उहाँले सुरुमा लिंकन कलेज कलंकीमा जागिर खानुहुन्थ्यो । पछि जागिर छाडेर राजनीतितर्फ लाग्नुभयो । उहाँले धेरै विषयमा डिग्री गर्नुभएको छ । त्यो बेला गाउँले आफन्त काठमाडौं आउँदा लघुधन काकाकै डेरामा बस्थे ।गाउँमा हामीले विकासका काम गर्ने सोच बनाएका थियौँ, समूह बनाएका थियौँ । स्कुल खोल्ने, जनचेतना बढाउने कुरा गथ्र्यौं । यहीबीचमा म काठमाडौं आएँ । 

घरदेखि यति टाढा भएको त्यो नै पहिलोपटक थियो । काठमाडौं आएपछि मलाई गाउँघरको सम्झनाले सताउन थाल्यो, माया बढेर आयो । साथीहरुको याद आउन थाल्यो । अलि होमसिक जस्तो पनि भएँ । कहिलेकाहीँ त गाउँ सम्झेर रुन्थेँ पनि । मेरा वर्ष दिन यसरी नै बिते । योबीचमा मैले आफ्नै लागि कविता लेख्न थालेँ । आफ्ना भावना कवितामा व्यक्त गरेर हल्का भएको महसुस गर्थें । चढ्दो जवानीका बेला धेरैले सायद कविता लेख्ने वा भन्ने चेष्टा गर्छन् । मैले कवि हुन्छु भनेर त होइन, आफ्ना भावना व्यक्त गर्न कविता लेखेको थिएँ ।

 यो ०४८ सालको कुरा हो । आईएल गरेपछि मैले जागिर खाएँ । ०४५ सालको भुइँचालोले देशमा क्षति पुर्याएको थियो । सरकारले भूकम्पपीडित क्षेत्र पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना सञ्चालन गरेको थियो । यो परियोजनामा खरिदार पदमा जागिर खाएँ, ०४८ सालदेखि ०५२ सम्म । पाँच वर्षको करार थियो । जागिरको सुरुको एक वर्ष ललितपुर क्षेत्रमा रहेँ । त्यसपछि झन्डै चार वर्ष ओखलढुंगा सदरमुकाममा रहेँ । यो जागिर मलाई बलबहादुर राईले खुवाउनुभएको भनौँ । त्यतिबेला बलबहादुर राई आवास तथा भौतिक योजनामन्त्री हुनुहुन्थ्यो ।

 पछि ०५५ सालतिर उहाँ राष्ट्रियसभाको सदस्य हुनुभयो । उहाँको स्वकीयसचिव लेखबहादुर राईले मलाई राम्रैसँग चिन्नुहुन्थ्यो । उहाँले गणेश दाइमार्फत खबर पठाउनुभयो, जागिर खाने भए अवसर छ भनेर । बलबहादुर राईको घर हाम्रोभन्दा ५–६ घन्टा पैदल दूरीमा पर्छ । हामी नाता नै पर्ने त होइनौँ, तर भावनात्मक सम्बन्ध थियो । पञ्चायतविरुद्धको आन्दोलनताका उहाँ भूमिगत हुनुहुन्थ्यो । उहाँ थुप्रैपटक हाम्रो घरमा लुकेर बस्नुभएको थियो । 

०४६ सालको आन्दोलनमा म सक्रिय भएको, पर्चा बाँडेर चर्चामा आएको उहाँलाई थाहा थियो । उहाँले ‘प्रदीप कसरी टिकेको छ, काठमाडौंमा, जागिर खान्थ्यो कि ?’ भनेर कुरा गर्नुभएछ । मेरो कागजातको औपचारिक नाम प्रदीपकुमार राई हो । मैले अवसर पाए जागिर खाने खबर पुर्याएँ । अनि, जागिर मिल्यो । ६ कक्षामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कोपिला कविता पढ्नुपथ्र्यो । शिक्षकले हामीलाई यो कविताको सप्रसंग व्याख्या लेख्न गृहकार्य दिनुभएको थियो । यो कविताले मलाई यति छोयो कि मैले चार–पाँच पाना लेखेँ । तर पनि मलाई कविताको पूरै व्याख्या नभएको जस्तो लागेको थियो । शिक्षकले के भन्नुहुन्छ, पिट्नुहुन्छ कि भन्ने पनि लागिरहेको थियो । भोलिपल्ट शिक्षकलाई गृहकार्य देखाएँ । त्यस दिन गृहकार्य मैले मात्र गरेको रहेछु ।

 शिक्षकले मेरो कापी राम्रोसँग जाँच गर्नुभयो । र, मेरो लेखनको निकै प्रशंसा गर्नुभयो । अचेल सम्झँदा लाग्छ– त्यो कविताले किन मलाई मात्रै त्यति साह्रै छोयो होला, व्याख्या गरी नसक्नुगरी । अरु साथीहरुलाई किन छोएन त ? मलाई यो कुरा अनौठो लाग्छ । म सानै छँदा मेरी आमा खस्नुभएको हो, भाइ जन्मने क्रममा । भाइ र आमा दुवै रहनुभएन । आमा खस्दा म दुई वर्षको थिएँ रे । मैले आमाको अनुहार सम्झन सक्दिनँ । सानैमा आमालाई गुमाएकाले पनि होला, सानैदेखि नै म अलि बढी आत्मकेन्द्रित स्वभावको थिएँ ।

 मलाई साना कुराले पनि छुन्थ्यो । मेरो दाइ गणेश राईले पनि लेख्नुहुन्थ्यो, अझै पनि लेख्नुहुन्छ । मलाई लेख्नका लागि उहाँले झकझकाइरहनुहुन्थ्यो । उहाँले ०५० सालबाट हाम्रो मातृभाषा वाम्बुलेमा ‘लिब्जुभुम्जु’ भन्ने पत्रिका प्रकाशन र सम्पादन गर्न थाल्नुभयो । मैले मातृभाषामा पनि लेख्न थालेँ । राईभित्र पनि झन्डै तीन दर्जन भाषा छन् । २८ वटा भाषा त अहिले प्रचलनमा छ । त्योमध्येको वाम्बुले भाषामा पत्रिका निकाल्थ्यौ, देवनागिरी लिपिमा ।

 राईहरुको लिपि त छ तर प्रयोगमा ल्याइएको छैन । एसएलसीपछि मैले थुप्रै पुस्तक अध्ययन गरेँ । प्रायः पुस्तक गणेशदाइले ल्याउनुहुन्थ्यो, कता–कताबाट । उहाँले नेपाली साहित्यसम्बन्धी पुस्तक र पत्रपत्रिका ल्याउनुहुन्थ्यो । एकजना अर्को गणेश राई पनि हुनुहुन्थ्यो, खोटाङ हलेसीको, नाताले मामा पर्नुहुन्छ । उहाँ माक्र्सवादमा रुचि राख्नुहुन्थ्यो । उहाँमार्फत मैले केही कम्युनिस्ट विचारधाराका पुस्तक पनि पढेँ, नेपाली अनुवादमा । अहिलेसम्म मेरो कुनै मौलिक कृति प्रकाशित छैन ।

 ०५९ सालमा नेपाली गीत संग्रह मेरो सम्पादनमा प्रकाशित भएको छ । यसमा दुई स्थापित गीतकारका गीत रहेका छन् । गीतको इतिहास, सिद्धान्त विविध पक्ष पनि समेटिएको छ । मेरो कान्छा काका अविनाथ राई कवि हुनुहुन्थ्यो । मलाई साहित्यतर्फ लाग्न कान्छा काकाको विशेष प्रेरणा छ । उहाँ ३० को दशकमा चिचिनुभएकै कवि–लेखक हो । पछि निजामती सेवामा लागेपछि उहाँले लेखनलाई निरन्तरता दिनुभएन । अहिले उहाँ राजस्व अनुसन्धान तालिम केन्द्रको निमित्त प्रमुख हुनुहुन्छ । उपसचिव हुनुहुन्छ । अर्थ मन्त्रालयमा धेरै रहनुभयो ।

 सुरुमा आफ्नै काकाका कविता पत्रपत्रिकामा छापिएको देख्दा मलाई अचम्म लागेको थियो । विकट गाउँबाट आएर पनि चर्चित कवि बन्न सकिँदो रहेछ भन्ने लाग्यो । एक दिन मैले काका अविनाथ राईलाई कविता देखाएँ । मेरा कविता हेरिसकेपछि उहाँले भन्नुभयो, ‘मलाई त तेरा कविता राम्रै लागे । मलाई देखाउनभन्दा पनि कुनै पत्रपत्रिकालाई दे । छापिए राम्रै भयो, नछापिए किन छापिएन भन्ने कुरा पनि आउँछ ।’ उहाँले गोरखापत्र, मधुपर्क, गरिमा, समीक्षा भन्ने पत्रिकामा कविता दिन भन्नुभयो । मैले उहाँले भनेबमोजिम गरेँ ।

 ०४९ सालतिर मेरा कविता छापिन थाले । यो मेरो जागिरको पहिलो वर्ष थियो, कार्यक्षेत्र ललितपुरमा भएकाले कविता लेख्न र छाप्न सक्रिय भएँ । त्यसपछि युवामञ्चमा छापियो, पारिश्रमिक पनि पाएँ । त्यतिबेला ६०–७० रुपैयाँ आउँथ्यो । यो पनि निकै ठूलो हुन्थ्यो । पहिलोपटक समीक्षा पत्रिकामा मेरो कविता छापियो । यो कविता छापिएबापत मैले पैसा त पाइनँ । तर, कालो अक्षरमा नाम छापिएको थियो– व्याकुल माइला । व्याकुल माइला नाम मैले नै राखेको हुँ । भर्खरै गाउँघर छाडेर आएकाले व्याकुल थिएँ, त्यसमाथि घरको माइला छोरा परेँ । त्यसैले व्याकुला माइला नाम राखेँ ।

 यही बेला एउटा संस्थाले कविता प्रतियोगिता राखेको थियो । मैले ‘आमा’ शीर्षकमा कविता लेखेको थिएँ । त्यो बेला म द्वितीय भएको थिएँ । बाबा बस्नेत प्रथम र खिमानन्द पोखरेल त्रितीय हुनुभएको थियो । काठमाडौं गएर एक वर्षसम्म भाइ दिलीप र म माइला काकासँग बस्यौँ । पछि भाइ दिलीप काकाकै डेरामा बस्यो म केही साथीसँग छुट्टै डेरामा बस्न थालेँ, बानेश्वरमा ।

 एकपटक कोठामा चामल सकिएको थियो, पैसा आउने कुनै बाटो थिएन । के गर्ने होला त भनेर सोच्दै जाँदा युवामञ्चमा छापिएको कविताको पारिश्रमिक नलिएको याद भयो । पारिश्रमिक लिन गएँ, ६५–७० रुपैयाँ यस्तै पाएँ । त्यसले कमसल खालको पाँच किलो चामल आएको थियो । पाँचवर्षे जागिरपछि हामी अविनाश काकाको घरमा बस्यौँ, भाडा तिर्नुपर्दैनथ्यो । तर, भात–भान्सा बेग्लै थियो । यो बीचमा दाइ गणेश राईले मःमः पसल खोल्नुभयो, ०५१ सालतिर, प्याराडाइज मःमः सेन्टर ।

 ललितपुर मानभवनको आदर्श विद्या मन्दिर स्कुलअगाडि पसल थियो । म त जागिरकै सिलसिलामा थिएँ । पछि जागिर सकिएर आएपछि ०५२ सालतिर मैले पनि दाइको मःमः पसलमा काम गरेँ । यो जागिरको काम थिएन, आम्दानी बाँड्ने भन्ने पनि थिएन । हामीले हातमुख जोर्नका पसल गरेका थियौँ । ठीकै चलेको थियो । यहीबीचमा मैले बिएल गरेँ र वकालत गर्नतिर लागेँ । 

गणेशदाइले पढाउन लाग्नुभयो । पसल छाड्यौँ । गणेशदाइले मा पढाउनुहुन्थ्यो । पछि पत्रकारितातर्फ लाग्नुभयो, अहिले कान्तिपुरमा हुनुहुन्छ बिएल गरेपछि वकालत अभ्यास गर्न थालेँ । पढेर पास भएर मात्रै हुँदैनथ्यो । बहस–पैरवी गर्ने अभ्यास गर्नुपथ्र्यो । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानको फर्मबाट मैले वकालत अभ्यास सुरु गरेँ । उहाँको काठमाडौं ज्याठामा कानुनी उपचार केन्द्र थियो । यहाँ तीन वर्ष वकालत अभ्यास गरेँ, ०५८ देखि ०६० सम्म सायद । सामान्य खर्च आउँथ्यो । यस्तोमा त सिक्ने मात्रै कुरा हुन्थ्यो । त्यसपछि म जनप्रशासन क्याम्पस जमलमा भर्ना भएँ ।

 एमपिए पढ्ने क्रममा केशवराज पाण्डेको फर्ममा वकालत अभ्यास गरेँ । मुक्ति प्रधानकहाँ अलि बढी कामको चाप थियो । पढाइलाई सँगसँगै लैजानुपर्ने र लोकसेवाको पनि तयारी गर्ने सोच बनाएको थिएँ । त्यसैले एमपिए पढ्ने क्रममा मैले केशवराज पाण्डेको फर्म पूर्वाधार कानुनी सेवामा वकालत अभ्यास गरेँ । पाण्डे सरले जनप्रशासनमा मलाई पढाउनुहुन्थ्यो । एमपिए दोस्रो वर्षमा अध्ययन गर्दै थिएँ । कलेजको पुस्तकालयमा सूचना टाँसिएको देखेँ, नयाँ राष्ट्रगानबारे । 

सूचनामा राष्ट्रगान कस्तो हुनुपर्ने भन्नेबारे पनि लेखिएको थियो । मैले सूचनाबाट आवश्यक कुरा डायरीमा टिपेँ । सरल र नवीन शैलीमा सम्पूर्ण नेपालीलाई समेट्ने, राष्ट्रप्रेम भाव आउने खालको गीत हुनुपर्ने सूचनामा उल्लेख थियो । मैले यही भावनाअनुसार गीत लेख्ने प्रयास गरेँ, तर गाह्रो भयो । धेरै प्रयास गर्दा पनि भनेजस्तो सिर्जना तयार पार्न सकिनँ । प्रयास गर्दै थिएँ, भावना त आएको थियो, छन्द मिलिसकेको थिएन । यता, राष्ट्रगान चयन कार्यदलले निर्धारण गरेको समय पनि सकियो ।

 तर, कार्यदलले फेरि समय थप्यो, मलाई थप ऊर्जा मिल्यो । प्रयास गरिरहेँ । थपिएको म्यादको अन्तिम–अन्तिमतिर मात्र आफैँले पढ्दा पनि आनन्द आउने खालको सिर्जना तयार भयो । राष्ट्रगान चयन कार्यदलको सचिवालय प्रज्ञाप्रतिष्ठान कमलादीमा थियो, गीत बुझाएँ । मेरो सिर्जना राष्ट्रगानका लागि छानियो । 

राष्ट्रगानको रचनाकार भएपछि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिनारी बन्यो । धेरैको चासो र सरोकारको व्यक्ति बनेँ । एकाएक राष्ट्रिय व्यक्तित्व भएपछि भनौँ मलाई आफ्नो दैनिकी व्यवस्थित गर्न गाह्रो भयो । थुप्रै ठाउँमा सम्मान थाप्न जानुपथ्र्यो । त्यसपछि अतिथि, प्रमुख अतिथि बन्ने क्रम सुरु भयो । यस्तै व्यस्तताले गर्दा पढाइ पूरा हुन पाएन ।

 राष्ट्रगानको रचनाकार भएकाले सरकारले मासिक २५ हजार रुपैयाँ भत्ता दिन्छ । साधारण घर खर्च चलेकै छ । अहिले एउटा गीति एल्बम र कविता संग्रहको तयारीमा छु । जुन राष्ट्रिय भावनाको गीत लेखेँ, मेरो जीवन पनि त्यस्तै भइदियो, सधैँ आफूलाई सिंगो मालाको एउटा फूल पाउँछु । गीतले सम्पूर्ण नेपालीको घाँटी, मन–मस्तिष्क जोड्न सकेँ जस्तो लाग्छ ।

 अहिले नेपालीमाझ जहाँ–जहाँ पुग्छु, सबैको प्रेम पाउँछु । राष्ट्रिय भावना मिसिएको प्रेमको शक्ति बेग्लै हुँदो रहेछ । अहिले आफैँ राष्ट्रप्रेम र राष्ट्रभक्तिले ओतप्रोत भएको छु । राष्ट्रिय भावना विशाल समुद्रको धारजस्तै रहेछ । त्यो धारमा म बगिरहेको हुन्छु । यसरी बग्ने क्रममा मैले आफ्नो व्यक्तिगत जीवन नै बिर्सन पुग्छु ।

0 comments

Write Down Your Responses