'स्वाभिमानी नेपाली भारतको उपनिवेश बनेर बस्दैनन्'
२०७२ कार्तिक १ आईतवार
महोत्तरी : एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश बनेर नबस्ने बताएका छन् ।
आइतबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप लगाए।
भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको पोखरेलले बताए । 'संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसके', उनले भने, 'संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।'
नयाँ संविधानले मधेसी जनताका अधिकार खोसेको प्रचार गरेर मधेसवादी दलले मधेसी जनतामा भ्रम सिर्जना गरिरहेका भन्दै उनले अब त्यसलाई चिर्नुपर्ने बताए ।
उनले नयाँ संविधान बहुसङ्ख्यक मधेसी जनताको हितमा बनेको तर मधेसका केही ठालुहरुले नयाँ संविधानमा मधेसी जनतालाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाए ।
'सीमित पहाडिया अहङ्कारवाद र मधेसका सीमित दलालहरुका हर्कतले देश गम्भीर मोडमा पुग्यो', उनले भने, 'मधेसी जनतालाई संविधान राम्रोसँग पढ्न आग्रह गर्दछु ।
मधेसी जनताहरू मधेसवादी दलको भ्रममा नपर्नुस ।'
मधेसवादी दलले आगामी चुनावलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका भन्दै उहाँले अहिलेका मधेसवादी दलले मधेसका बहुसङ्ख्यक श्रमजीवि मधेसी जनताको प्रतिनिधित्व गर्न नसक्ने तर्क गरे ।
एक अर्को प्रसङ्गमा बाँकी छ प्रदेशको तुलनामा दुई नं प्रदेशले मात्र सीमाङ्कन र पहिचानलाई ठीक ढङ्गले सम्बोधन गरेको पोखरेलको भनाइ थियो । रासस
0 comments
Write Down Your Responses