'दु:ख परेका बेला घाँटी अँठ्याउने भारतको कस्तो मित्रता ?'
रासस
२०७२ कार्तिक २० शुक्रबार
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र, जिम्मेवार, निर्बाध, सुरक्षित र सम्मानित पत्रकारिताको पक्षमा रहेको बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछी बधाई र सफल कार्यकालका लागि शुभकामना दिन सिंहदरबार पुगेका नेपाल पत्रकार महासङ्घका पदाधिकारीलाई प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
'स्वतन्त्रताको नाममा प्रेसलाई बाध्य पार्न थर्काउने, तर्साउने अनेकौँ प्रवृत्ति पनि रहेका छन्', उनले भने, 'ती जेसुकै भएपनि देशको सार्वभौमसत्ता र स्वतन्त्रता होच्याउने, राष्ट्रिय हित र अखण्डतालाई अवमूल्यन गर्ने कुरा नेपाली जनता र प्रेसले हुन दिनु हुँदैन, प्रेस स्वतन्त्र र जिम्मेवार रहनुपर्छ ।'
प्रधानमन्त्री ओलीले स्वतन्त्रताको नाममा अराजकता फैल्याउन नहुने पनि पत्रकारलार्इ सुझाव दिए ।'
स्वतन्त्रता भनेको अराजक हुनु होइन, परिपक्वतातिर जानुपर्दछ', उनले भने, 'अहिले मुलुकलाई राष्ट्रिय एकता र राष्ट्रियताको भावना चाहिएको छ, मुलुक अप्ठेरोमा रहेको बेलामा देशप्रेम प्रकट हुनुपर्छ ।'
'नेपाली जनतामा अहिले असाधारण राष्ट्रवाद र देशप्रेम प्रकट भएको छ, विकल्पहीन अवस्थामा विकल्प खोजेर मुलुकसामु देखिएको सङ्कट समाधान गर्नुपर्ने अवस्था छ', उनले भने, 'महान् मित्रताको परिणाम नेपालले नाकाबन्दीको कारणबाट पाँच खर्बभन्दा बढी क्षति भोगिसकेको छ।
',
जसजसले नयाँ संविधानका बारेमा प्रश्न उठाएका छन्, उनीहरुको संविधानभन्दा कुनै अर्थमा कँही पछाडि छ भने हामी बहस गर्न तयार रहेको प्रधानमनन्त्रीले चुनौती दिए ।
'तराईमा जुन समस्या छ, त्यसलाई सुल्झाउन संवाद गर्न तयार छौँ, शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्छौं, उनले भने, 'संवाद जारी छ, वार्ताबाट समाधान खोज्ने हाम्रो नीति र प्रयास हो, हामी त्यसै बाटोबाटै अघि जान्छौँ ।
' नेपाली जनताको जनजीवनको ढाँचामा परिवर्तन ल्याउने गरी निकट भविष्यमै विद्युतीय सवारीसाधन र विद्युतीय हिटरको प्रयोगलाई प्रोत्साहन गरिने प्रमको भनाइ थियो । उनले इन्धनको अभावले मानवीय सङ्कटको स्थिति आइरहेका बेला अरू विकास र सुधारको पक्षमा धेरै ध्यान दिन नपाएको र नसकिएको बताए ।
सरकार मुलुकको यो सङ्कटलाई समाधान गर्न सरकार गम्भीर र परिस्थितिप्रति चिन्तित छ, जनताले भोगिरहेको समस्या र दुःखप्रति अत्यन्तै संवेदनशील र दुःखित छ', उनले भने, 'भूकम्पबाट नेपाल र नेपाली जनतालाई ठूलो क्षति, घाइते, मर्माहत बनाएको बेलामा पेट्रोलियम पदार्थ नदिने, निर्माणलाई असहयोग र अवरोध पुग्ने व्यवहार देखाउने, चुलो बल्न नपाउने जस्ता काम छिमेकीबाटै भएको छ ।'
मित्रलाई दुःख परेको र घाइते भएको बेला खान नदिएर घाँटी अँठ्याउने आश्चर्यजनक मित्रताको परिभाषा अहिले खोज्नु परेको प्रधानमन्त्री ओलीले बताए ।
'अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रिया पूरा गरेर, प्रत्येक दफा र धारामा छलफल गरेर दुई तिहाइले पास गरेर संविधान बनाएको हो', उनले भने, 'यो संविधान हामी आफूले, आफ्ना निम्ति, बनाएका हौं, कसैका विरुद्ध नभएकाले अरूले आपत्ति गर्ने स्थिति थिएन ।'
सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देशको परिस्थिति, नाकाबन्दीले देश, जनता र सञ्चारमाध्यमले भोग्नु परेको समस्या र गर्नुपर्ने कामका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
0 comments
Write Down Your Responses