खाडी जान छाडेर सुन्तलाखेतीमा जिल्लाकै उत्कृष्ट

२०७२ मङ्शिर ५ शनिबार

पर्वत: एक दशकभन्दा बढी खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका उत्तरी पर्वतको विकट गाउँ शालिजाका कृषक नरु पाइजा जिल्लामै उत्कृष्ट बनेका छन्। साउदी अरबमा बसेर गतिलो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर कृषि पेसा अङ्गालेका पाइजा अहिले जिल्लाकै नमुना कृषक बन्न सफल भएका हुन्।

 उनले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। उनी सुन्तला बिक्रीबाट छोटो समयमै रु पाँच लाख आम्दानी गर्न सफल भएका छन्। घर वरिपरि रहेको १० रोपनी जग्गामा व्यावसायिकरुपमा सुन्तलाखेती गरेका पाइजाले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएको बताउँछन्। छोटो अवधिमै जिल्लाकै उत्कृष्ट बन्न सफल भएकामा उनले राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कार समेत प्राप्त गरेका छन्।

 पैतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरिएको हो। जिल्लाका ४९ जना कृषकले आवेदन दिएकामा उनी उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ। उनी ८२ नम्बर प्राप्त गर्न सफल भएका थिए। अहिले उनको घरमा ३५० वटा सुन्तलाका बोट रहेका छन्। यसमध्ये अहिले ५०/६० वटा बोटले मात्रै फल दिने गरेका छन्। आफ्नो उत्पादन सदरमुकाम कुश्माबजार, बागलुङ, म्याग्दी र पोखरासम्म पनि पुग्ने गरेको पाइजाले बताए।

 सुन्तला मात्र हैन, पाइजाले गाउँमै व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन्। उनको फार्ममा अहिले ३०० भन्दा बढी ब्रोइलर कुखुरा छन्। ग्रामीण क्षेत्रमा मासुको मागलाई पूरा गरेको उनको अनुभव छ। पचास वर्षीय कृषक पाइजा भन्छन् 'विदेश गएर १० वर्ष बिना उपलब्धि बिताइएछ। पहिल्यैदेखि गाउँमै बसेर सुन्तलाखेती गरेको भए अहिले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नसक्ने रहेछु।

 विदेश बसेको समयको अहिले पछुतो लागेको छ। स्वदेश फर्केलगत्तै उनले जिल्ला कृषि विकास कार्यालयमार्फत तालिम र परामर्श लिएर सुन्तलाखेतीमा लागेका हुन्। खाद्य दिवसको अवसरमा उनीबाहेक अन्य दुईजना कृषकले पनि राष्ट्रपति पुरस्कार प्राप्त गरेका छन्। कुस्मा नगरपालिकाका बंगुरपालक कृषक प्रेमबहादुर गुरुङ र कार्किनेटा गाविसका कफी उत्पादक कृषक भवानीप्रसाद शर्मा पनि पुरस्कृत भएका छन्। रासस

0 comments

Write Down Your Responses