नयाँशक्तिको आरोप: देशभक्तिलाई ‘उत्ताउलो राष्ट्रवाद’मा घोलियो-भिडिओ सहित- डाक्टर बाबुराम भट्टराई

'मधेसको आन्दोलन नेपाली जनताले आफैं गरेको हो

'८ मंसिर, काठमाडौं - डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति निर्माण अभियानले केपी ओली सरकारले देशभक्तिको भावनालाई ‘उत्ताउलो राष्ट्रवाद’मा घालमेल गरेको आरोप लगाएको छ । साथै उसले सरकारले देशको आन्तरिक समस्या हल गर्नुको साटो ‘चिया वार्ता’ मात्र गर्ने गरेको आरोप लगाएको छ । राजधानीमा दुई दिनसम्म भएको भेलापछि अभियानद्वारा जारी विज्ञप्तिमा चार महिनादेखि तराई मधेस, थारुहट लगायतमा आन्दोलन भएपनि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।


 ‘दिनहुँ वार्ताका प्रसंग सार्वजनिक भएका छन्, तर कुनै पनि दिनको वार्ताले केही निर्णय दिन सकेको छैन’ सरकार गम्भीर नभएको भन्दै विज्ञप्तिमा भनिएको छ-‘शुन्य निर्णयको परिणमविहीन चिया वार्ता सुन्दा सुन्दा जनता समेत वनक्क हुँदै गएका छन् ।’ अभियानले भारतीय नाकाबन्दीको पनि विरोध गरेको छ । तर, सरकारले तराईर् मधेसको आन्दोलन र नाकाबन्दीलाई घालमेल गरेर जनतालाई नै भ्रमित पार्ने काम गरेको उसको आरोप छ ।

नयाँ शक्ति निर्माण अभियानले भनेको छ-वर्तमान सरकारले आन्दोलनको विषय र कूटनीतिक विषयलाई एउटै बनाएर गाँजेमाजे पार्दै देशभक्ति भावनालाई उत्ताउलो राष्ट्रवादमा घालमेल गरेर भ्रमित पार्ने काम गरेको छ ।’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति निर्माण अभियानका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियता विवादको विषय हुन नसक्ने र हुन नहुने बताए ।उनले भने-‘देशका जनता मधेसी, थारु, जनजातिलगायतले आन्दोलन गरेका छन्, यो हाम्रो आन्तरिम समस्या हो ।

सरकारले त्यसलाई आन्तरिकरुपमा नै आन्दोलनकारीसँग सार्थक वार्ता गरेर उहाँहरुले उठाएका मागलाई कुन हदसम्म सम्बोधन गर्न सकिन्छ गरेर टुंग्याउनुपर्छ ।’ साथै उनले भारतीय पक्षले गरेको नाकाबन्दी नाजायज छ र गलत भन्दै कूटनीतिक ढंगले वार्ता गरेर हल गर्नुपर्ने बताए । तर, सरकारले आन्दोलन र भारतको नाकाबन्दीलाई अलग-अलग गरेर डिल गर्नुका साटो छासमिस पार्ने काम गरेको उनले बताए ।

 ‘तराई मधेसमा भएको आन्दोलन नेपाली जनताले आफैंले गरेको हो र भारतको नाकाबन्दीभन्दा ४० दिन पहिलेदेखि गर्दै आएको आन्दोलन हो’ भट्टराईले भने-‘त्यसलाई ओझेलमा पर्ने गरी अहिले भारतीय नाकाबन्दीका मात्र चर्चा छ । यसले आम जनतामा भ्रम पर्न सक्छ । त्यस्तो नहोस् भन्न खोजिएको हो ।’

0 comments

Write Down Your Responses