अनन्तको स्वास्थ्यमा सुधार, ९ दिनपछि पत्ता लाग्यो समस्या -

२०७२ मंसिर ४ , काठमाडौं 

 एमाओवादीका सचिव वर्षमान पुन (अनन्त)को स्वास्थ्य समस्याको मूल जड भारतीय चिकित्सकहरुले नौं दिनपछि मात्रै पत्ता लगाएका छन् । अहिले स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले केहि दिन भित्रै अनन्त डिस्चार्ज हुने बताइएको छ ।

अनन्तको उपचार भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा भैरहेको छ । जण्डिसको समस्या अस्वाभाविकरुपले बढेपछि उनलाई भारत लगिएको थियो । सुरुमा चिकित्सकहरुले कलेजोको संक्रमण बढ्दै गएर क्यान्सर भएको शंका गरेका थिए । तर, रिपोर्टमा त्यस्तो केहि नभएको पुष्टि भएको छ । बिहीबार आएको बायोप्सी रिपोर्टबाट उनमा गम्भीर प्रकारको कुनै रोग नभएको पुष्टि भएको अनन्तसँगै रहेका अखिल क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिए ।

 दिपेशले नयाँदिल्लीबाट टेलिफोनमा कुरा गर्दै अनलाइनखबरसँग भने, ‘शंका गरेजस्तो कुनै गम्भीर रोग छैन, नौं दिनपछि समस्या पत्ता लागेपछि डाक्टर पनि खुसी छन् । हामी पनि खुसी छौं ।’ सम्भवतः चिकित्सकहरुले एक हप्तापछि अनन्तलाई डिस्चार्ज गर्ने उनले जानकारी पनि दिए । सशस्त्र युद्धकालमा पनि अनन्त जण्डिसले पीडित भएका थिए । हालै उनले एक औषधि सेवन गरेको र त्यसैको रियाक्सनले स्वास्थ्य बिग्रिएको पत्ता लागेको चिकित्सकहरुको भनाइ छ ।अनन्तको तौल पहिलेको भन्दा ११ किलो घटेको र जण्डिसको मात्रा बढेर ३४ पुगेको छ । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको दिपेशले बताए ।

0 comments

Write Down Your Responses