मोर्चाको निर्णय बावजुद कार्यकर्ताले औषधि बोकेको ट्रकमा आगो लगाए -
मंसिर ४वीरगन्ज-
वीरगन्जमा मधेसी मोर्चाका कार्यकर्ताले औषधि बोकेको ट्रकमाथि आगजनी गरेका छन् । ओम आश्रममा रहेको शिवरात्रि फर्मास्युटिकल्सको गोदामबाट लोड गरिएको सलाइन पानी बोकेको ट्रकलाई मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार मध्यराति नियन्त्रणमा लिएर आगजनी गर्दा सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् ।
वीरगन्जबाट जनकपुरतर्फ जान लागेको ना २ ख ८२९२ नम्बरको ट्रकमाथि आन्दोलनकारीले आगजनी गरेका हुन् । ट्रकले नवीनम मेडिकल हल, जनकपुरको औषधि बोकेको थियो ।आगजनीबाट सम्पूर्ण औषधि नष्ट भएको जानकारी शिवरात्रि मेडिकल हलका पप्पु झाले जानकारी दिए ।
२० लाख रुपैयाँको औषधि नष्ट भएको उनको भनाइ छ ।
चालक गाडीभित्रै रहेका बेला आन्दोलनकारीले गाडीमाथि आगजनी गरेका थिए । मोर्चाका कार्यकर्ताले चालकलाई ट्रकभित्रै राखेर आगजनी गरे पनि चालक भाग्न सफल भएका थिए । आगजनीपछि दमकल र बारुण नियन्त्रकको सहयोगमा प्रहरीर स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगजनीबाट ट्रक समेत जलेको छ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार मात्रै औषधिलगायतका अत्तयावश्यकीय वस्तु बोकेका सवारी साधनलाई अवरोध नगर्ने निर्णय गरेको थियो । मोर्चाले यस्तो निर्णय लिएकै दिन कार्यकर्ताहरुले औषधि बोकेको गाडीमाथि आगजनी गरेका हुन् ।

0 comments
Write Down Your Responses