साहित्यकार झमकलार्इ सरकारले आवास बनाइदिने

२०७२ मङ्शिर २३ बुधवार

काठमाडौं : चर्चित साहित्यकार झमक घिमिरेलार्इ सरकारले आवासगृह बनाइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले झमकका लागि भक्तपुरको गोठाटारमा ६ आना जग्गा उपलब्ध गराइदिने भएको हो ।

 झमकका लागि आवासगृह बनाउन सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन आनन्द पोखरेलले विशेष चासो देखाएर पहल गरेपछि ६ महिनाभित्र झमकका लागि सरकारी जग्गामा आवास गृह बन्न लागेको हो । 'शारीरिकरुपमा अशक्त भएपनि झमकले साहित्य सिर्जनामार्फत आफूलार्इ राष्ट्रिय व्यक्तित्वका रुपमा उभ्याइसकेकी छन्', झमकका लागि आवास निर्माणको पहल गर्नेमध्ये एक सञ्चारकर्मी राजन काफ्लेले भने, 'पशुपति क्षेत्र विकास कोषले जग्गा उपलब्ध गराएपछि ६ आना जग्गामा आवास बन्ने छ ।

 आवास गृहको कम्पाउन्डका लागि थप ६ आना जग्गा पनि मिल्ने भएको छ।' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेटेर साहित्यकार घिमिरेलाई आवास उपलब्ध गराउनेबारे कुरा गरेका थिए । एक साताअघि झमक धनकुटाबाट आफ्ना कबिता बाचन कार्यक्रममा काठमाडौं आएका बेला उनका लागि आवासगृह बनाउने पहल थालिएको थियो ।

 आवासगृह निर्माणका अभियन्ता काफ्लेसहितले झमकको अवस्था र उनको आवश्यकताबारे जानकारी गराएपछि मन्त्री पोखरेलले तत्काले आवास गृह निर्माणका लागि पहल थालेका थिए । पशुपति क्षेत्र विकास कोषले जग्गा उपलब्ध गराउने भएपछि झमकका लागि सहरी विकास मन्त्रायले ६ महिनाभित्र आवास बनाइदिने भएको छ। मन्त्रालयका सचिव अर्जुन कार्कीले झमकका लागि आवासगृह ६ महिनाभित्र निर्माण दिने प्रतिवद्धता जनाएका अभियान्ता काफ्लेले बताए ।

0 comments

Write Down Your Responses