श्रीमानलाई बिदेशको जागिरले तान्यो श्रीमतीको मनलाई असईले तान्यो

POSTED ON : DECEMBER 17, 2015, IN : NEWS

नक्कली कागजी विवाह गर्दा मान्छेले सास्ती र अनेक बुहार्तन खेप्नुपरेको पीडादायी व्यथा हाम्रै आँखाअगाडि देखिएकै हुन् । तर, नेपाली सेनाबाट रिटायर्ड व्यक्तिको नक्कली सम्बन्धविच्छेदलाई आड मान्दै प्रहरीका असइले श्रीमती र सम्पत्ति उछिट्याएपछि मर्नु र बौलाउनुको अवस्थामा पुगेका छन् एक व्यक्ति ।

 उनी न्यायको खोजीमा भौँतारिरहेका छन् । कोही–कोहीको नियति नै छोटो हँुदो रहेछ । जसरी हुन्छ धन कुम्ल्याऊँ भन्ने मानसिकता भएका एक केटीका कारण आज उनी घर न घाटको भएका छन् । शान्ति, सेवा, सुरक्षणम्को मूलमन्त्र जप्ने एक प्रहरीका कारण आज मानसिक रूपमा अशान्त जीवन व्यतित गर्न बाध्य छन् ओम थापा ।

 नेपाली सेनाबाट रिटायर्ड भएका हुन् उनी । सेनाको मान्छेले आज एउटा प्रहरीका कारण न्याय खोज्दै भाँैतारिएर हिँडिरहनुपरेको छ । पहिलो विवाह गरे । श्रीमतीबाट छोरा भयो । एसएलसीसम्म पढ्दै गर्दा ऊ माओवादीमा लाग्यो । दुःखजिलो गरेर घर बनाएका थिए ०५८ सालमा । जनयुद्धका कारण सिंगो देशै थिलथिलो भएको अवस्था थियो । आफ्नो एउटै छोरा, भर्खरै एसएलसी पास गरेको । त्यही कुलंगार भएर निस्कियो । ओमको घर बिगार्नेमा उही छोरा ।

ऊ माओवादीतिर लाग्यो । लोग्ने–स्वास्नीका रूपमा बाँच्न निकै कठिन हुँदै थियो । श्रीमतीले सास्ती खेप्नु नपरोस् भनेर उनले माओवादीलाई देखाउन मात्रै सम्बन्धविच्छेदको नाटक रचे । तर, नजिकबाट चिन्ने–जान्ने हामीलाई उनको कहानी थाहा थियो । उनको बुझाइ थियो नक्कली सम्बन्धविच्छेद गरेपछि माओवादीबाट सास्ती हुने छैन । तर, यही नै बन्यो बर्बादीको कारण । जेठीपट्टिको छोरा माओवादीमा लागेर अनेक दुःख दिन थाल्यो ।दोस्रो विवाह भयो, ५५ साल जेठ १२ गते । 

विवाहमण्डपको जग्गेमा घुम्दा सात जुनी सँगै जिउने सँगै मर्ने कसम खाएको १५ वर्ष पनि टिकेन । रामेछापको सिन्धुपान्थलीकी उमा देवी खत्रीसँग दोस्रो विवाह भएको हो । अहिले उनी ३७ वर्षकी भइन्, यही बीचमा बच्चा भए । खान–लाउन दुःख थिएन । जसोतसो जिन्दगीको रथ गुडिरहेको थियो । सेनाको जागिरबाट अवकाश पाएपछि स्वदेशमा बसेर सेक्युरिटी गार्डको कामबाट खासै प्रगति र उन्नति गर्न सक्ने छाँटकाँट नदेखेर विदेश जाने घरसल्लाह गरेका थिए ।

 हामीसँग पनि उनले यस सन्दर्भमा सल्लाह गरेकै हुन् । कामको खोजीमा मलेसियातर्फ हान्निए । तर, त्यही मलेसियाको यात्रा नै अभिशाप बन्न पुग्यो । अगाडि शान्ति सेनामा गएको हँुदा केही पैसा बचाएका थिए । त्यही रकमले सानो ओत लाग्ने घर ठड्याए । घर श्रीमतीकै नाममा दर्ता थियो । आफूले हृदयदेखि प्रेम र विश्वास गरेको मान्छेलाई अविश्वास गर्ने कुरा पनि आउँदैनथ्यो । आँखा चिम्लिएर विश्वास गरे । यही विश्वासका कारण आज मर्नु न मोटाउनुको अवस्थामा आइपुगेका छन् । 

तीन वर्ष विदेशको बसाइ सकाएर फर्किए । यो बीचमा ११ लाख रूपैयाँ कमाए । जति कमाए सबै श्रीमतीको खातामा पठाइदिन्थे । आफ्नो मन श्रीमतीमाथि, श्रीमतीको मन परपुरुषमाथि भएपछि के लाग्दो रहेछ र ? तीन वर्षको कष्टकर जीवन बिताएर घर फर्किए गत साउन ११ गते । विवाह गरेको तीन वर्षपछि नै फागुनको ११ गते घर ठड्याएका थिए । आफ्ना लागि मात्रै सोचेर हँुदैन सन्तानका लागि पनि सोच्नुपर्छ भनेर । मलेसिया गएपछि पठाएको पैसाले घरमा मार्बल र रेलिङ हालियो, घरको रूप रंग फेरियो ।

 मलेसियामै रहेको समय तीन÷तीनपटक घर चोरिएको हल्ला चल्यो । अघिल्लो फागुनको ८ गते, ९ गते र १५ गते । यही चोर पसेको रिपोर्ट लेखाउन उनी पुगेकी थिइन् बौद्ध प्रहरीमा । त्यही वृत्तमा कार्यरत रहेछन् केशव खड्का । उनीसहितको टोली चोरीको घटनाबारे निरीक्षण गर्न आयो । पढे÷लेखेको शिक्षित एक्ली आइमाई देखेपछि सायद उसको पापी मन लोभियोे ।

 उसले ओमको श्रीमतीमार्फत त्यो सम्पत्तिलाई आफ्नो बनाउन अनेक प्रयास ग¥यो । समस्या एउटा मात्र थियो, ओमको श्रीमान्÷श्रीमतीबीच उमेरको ग्याप । सायद यही कारण पनि श्रीमतीको मन ती असइप्रति तानियो । त्यसमाथि हिजो उनीहरूले बनाएको नक्कली सम्बन्धविच्छेदको पत्रले झन् सम्बन्ध प्रगाढ बनाउन सहयोग ग¥यो । त्यही कागजलाई आधार मानेर असइले भएभरको सम्पत्ति आफ्नो पार्न श्रीमतीलाई आफ्नो बनायो ।

विदेशमा श्रम बगाएर पढाएको ११ लाख दम्पच, श्रीमतीको नाममा भएको घर पनि उसैले अनेक प्रपञ्च रचेर आफ्नो नाममा पारिसकेको । तीन वर्ष बिताएर फर्किएपछि न घर छ न त श्रीमती । फर्किएपछि श्रीमतीको आनीबानीमा परिवर्तन आएको पाए । पहिलोको देवीजस्ती श्रीमती एकाएक अर्कै बन्न पुगी । एक दिन श्रीमतीले चाल नपाउने गरी पिछा लाग्दै गए, उनी सिधै बौद्ध गेस्ट हाउसमा पसिन् । त्यहाँ दुवै जना भेटिए । 

सेनाको रगत उम्लियो, बूढीले ‘राजा, छाडिस्यो भन्न थालिन् । त्यहीँ हातपात भयो ऊसँग । ऊ उम्कियो । उम्किएको माछा ठूलो भनेझैँ भइगयो । यो केसलाई लिएर हनुमानढोका गए । तर, जता गए पनि उल्टै सास्ती र बुहार्तन खेप्न बाध्य भए । उसलाई केही कारबाही भएको छैन । यही कारण उनी पीडित छन् । मानसिक तनावमा दिन गुजारिरहेका छन् । एकमुठी सास अड्काउन गुप्र फोरमा कार्यरत छन् । यति राम्रो सम्बन्ध रहेको यो जोडीको घरमा उही प्रहरीको आँखा लाग्दा घर भत्कियो ।

 उनी घर न घाटको जिन्दगी बाँच्न विवश भए । शान्ति–सुरक्षाको जिम्मेवारी पाएको प्रहरीबाट एक भूपूसेना लुटिए, बर्बाद भए । अहिले श्रीमती उनैले बनाइदिएको घरमा राज जमाएर बसिरहेकी छन् र ओम डेराको जिन्दगी बाँचिरहेको छ । न्यायको खोजमा कहिले यता कहिले उता भौंतारिरहेका छन् । देशमा नयाँ संविधान त बन्यो तर ओमजस्ता पत्नीपीडितले कसरी न्याय पाउलान्, थाहा छैन ।

 – ओम थापाको साथी, नक्साल, काठमाडौं

0 comments

Write Down Your Responses