कमाइ भन्दा खर्च धेरै हुने देशमा नेपाल छैटौं
२०७२ माघ ५ गते
माघ, काठमाडौं - चार जनाको परिवारलाई एक सातामा चाहिने दैनिक उपभोग्य वस्तु (किराना सामाग्री) किन्न कति खर्च लाग्ला ?
एक जनाको कमाइले पुग्छ ?
तपाईको सहज जवाफ हुन सक्छ जसोतसो पुग्ला । तर, यदि औषत ज्यालाको आधारमा हिसाव गर्ने हो भने एक जनाको कमाइले अरु खर्च त छाडौं, किराना सामाग्री किन्न पनि पुग्दैन ।
यति मात्र होइन, नेपालमा हुने यस्तो खर्च युरोपियन र अरब देशको भन्दा धेरै बढी देखिएको छ ।
मुभहव नामक वेबसाइटका अनुसार ज्यालाका आधारमा चार जनाको परिवारका लागि एक सातामा किराना सामाग्रीमा धेरै खर्च हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा परेको छ ।
उसका अनुसार नेपालमा किराना सामाग्री खरिदका लागि हुने खर्च आषौत ज्यालाभन्दा झण्डै दोब्बर छ ।
जस अनुसार नेपालमा एक जनाको साताको कमाइ १०० रुपैयाँ छ भने उसले चार जनाको परिवारका लागि किराना सामाग्री खरिदमा एक सातामा १७१.१६ खर्च गर्नुपर्छ ।
यसमा सबैभन्दा अगाडि युुगाण्डा देखिएको छ । त्यहाँ किराना सामाग्री खरिदका लागि साप्ताहिक कमाइको २७५.८६ प्रतिशत खर्च हुन्छ ।
इथियोपिया दोस्रो, केन्या तेस्रो, जिम्बाब्वे चौथो र म्यानमार पाँचौं स्थानमा छ ।
साप्ताहिक कमाइबाट किराना सामाग्री कम खर्च हुने देशमा सबैभन्दा अगाडि खाडी मुलुक छन् ।
शीर्ष स्थानमा कतार छ । त्यहाँ एक व्यक्तिले चार जनाको परिवार पाल्न साप्ताहिक कमाइको २.६२ प्रतिशत मात्र किराना सामाग्रीमा खर्च गर्नुपर्छ ।
दोस्रो स्थानमा मकाउ, तेस्रोमा कुवेत, चौथोमा सिंगापुर र पाँचौं नम्बरमा यूएई छन् । नर्वे दशौं नम्बरमा छ, जहाँ एक व्यक्तिले चार जनाको परिवार पाल्न साप्ताहिक कमाइको ८.२७ प्रतिशत मात्र किराना सामाग्रीमा खर्च गर्नुपर्छ ।
नुम्बेओ नामक वेबसाइटले हरेक वर्ष अध्यावधिक मूल्य सूचीलाई आधारमा मानेर औषत खर्च निकालिएको मुभहवले जनाएको छ ।

0 comments
Write Down Your Responses