किबीबाट वार्षिक रु छ लाखसम्म आम्दानी
किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ । करिब पाँच वर्षपछि फल दिने किबीले उहाँको खेतमा तीन वर्षमै फल दिन थालेको छ ।
विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ । रहरैरहरमा सुरु गरेको किबीखेती हाल उहाँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उहाँले वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ । करिब सात÷आठवटा दानाले एक किलो पुग्ने किबी स्थानीय बजारमा प्रतिकिलो रु ५०० का दरले बिक्री भइरहेको राई बताउनुहुन्छ ।
“एउटा बोटमा कम्तीमा पाँच किलोदेखि २६ किलोसम्म फल उत्पादन हुन्छ” उहाँले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको किबी सदरमुकाम दिक्तेल र भोजपुरसम्म निर्यात हुने गरेको छ । किबीको एउटै बोटबाट निरन्तर ४०÷५० वर्षसम्म ५० किलोदेखि १०० किलोसम्म फल उत्पादन हुने गरेको छ । “बजारसम्म पु¥याएपछि चाख्नकै लागि भए पनि खपत हुन्छ” राईले भन्नुभयो ।
व्यावसायिक रुपमा किबीखेती गर्नुभएका धनकुमारले औपचारिक तालिम लिनु भएको छैन । वन परियोजनाको जागिर छाडेर उहाँले आफ्नै अध्ययनबाटै किबीखेती सुरु गर्नुभएको हो । घुमफिरका क्रममा दोलखा, इलामलगायतका स्थानमा लगाइएको किबीखेती देखेरै उहाँले किबीखेती सुरु गर्नुभएको हो । उहाँले फलबाहेक प्रतिवटाको रु ४०० पर्ने किबीको बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ ।
अहिले उहाँको गाउँमा अन्य किसानले समेत किबीखेती सुरु गर्नुभएको छ ।
“छिमेकीले पहिला बारी मासेर लहरा रोप्ने भनेर खिसी गर्थे” राईले भन्नुभयो, “अहिले मेरो खेतमै आएर सिक्न थालेका छन् ।” हेवार्ड र रेड प्रजातिको किबीको जिल्लामा राम्रो सम्भावना रहेको छ । किबीलाई प्रशस्त पानीको स्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ ।
धनकुमार जस्तै दोर्पा, चिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ ।
विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका राईले वार्षिक रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । जिल्लाको नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबीखेती लगाउनुभएका उहाँले किबीको बिरुवा प्रतिगोटा रु ६०० सम्ममा बिक्री गर्दै आउनुभएको छ ।
कानुनमा स्नातक तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले यसवर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७०० बिरुवा बिक्री गरेको बताउनुभयो ।
पछिल्लो समय जिल्लाका किसान किबी खेतीप्रति आकर्षित भएपछि आगामी वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईको भनाइ छ ।
छ देखि आठ मिटरको दुरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गरे पुग्छ । किबी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा समेत लिन सकिन्छ । समुन्द्री सतहबाट दुई हजार ५०० मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्र भन्दामाथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबीखेती उपयुक्त मानिन्छ ।
रासस
0 comments
Write Down Your Responses