रक्सौल नाकामा भारतले अबरोध हटायो

२०७२ माघ ११ सोमबार

वीरगन्ज : पाँच महिनादेखि अवरुद्ध वीरगञ्ज–रक्सौल नाकामा रहेको अवरोध भारतीय पक्षले हटाएको छ । मधेसी दलले मितेरी पुलमा अवरोध राखेर धर्ना बसेपछि भारतीयपक्षले पनि रक्सौलबाट नेपालतर्फ सामान आपूर्तिमा गरेको अवरोध अब नरहेको भारतीय भन्सार कार्यालयका अधिकारीहरुले बताएका हुन् । रक्सौलमा रहेको भारतीय भन्सारका अधिकारीहरुले नेपाल भित्रने मालवाहक सवारी साधनलाई अब आफुहरुले अवरोध नगर्ने बताएका हुन् ।

 रक्सौल भन्सार मिडिया प्रभारी (सूचना अधिकारी) अभिषेक कमलले व्यपारीहरु नेपालतर्फ सामान लैजान तयार भए आफूहरुको तर्फबाट कुनै अवरोध नहुने बताए । सरकारले शनिबार संविधान संशोधन गरेपछि मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी दलले नाकाबन्दी कायमै रहेको बताइरहेका बेला भारतीय सरकारले भने संविधान संशोधन सकरात्मक भएको टिप्पणी गरिसकेको छ । 

 ‘व्यपारीहरु ट्रकसहितको सामान लैजान तयार हुन्छन् भने पनि हामीबाट कुनै अवरोध हुँदैन’, मिडिया प्रभारी कमलले भने, ‘हामी कस्टम जाँचपास गर्न तयार छौं ।’ सीमामा जारी अवरोध दुईचार दिनभित्रमा हट्ने पनि भारतीय अधिकारीहरुले संकेत गरेका छन् । संविधान संशोधनले मधेसी दलको माग पुरा भएको दाबी सरकारले गरेपनि वीरगञ्ज–रक्सौल नाका अझै खुलेको छैन ।

 रक्सौल नाकामा मधेसी दलको धर्ना यथावत नै छ । नाकाबन्दी शुरु भएदेखि भारतीय कस्टमले नेपाल भित्रिने सामानको जाँचपास रोकेको थियो । दुई सातायता भने रक्सौल कस्टमले नेपाल जाने सामानको जाँचपास सजिलै दिने गरेको छ । ‘संविधान संशोधनको विदेश मन्त्रालयले ‘वेलकम’ गरिसकेको छ’, कमलले भने, ‘शायद दुईचार दिनमा नाकाको अवरोध हट्छ होला, हामी पनि त्यसैको प्रतिक्षामा छौँ ।’

संविधान र सीमांकनप्रति असन्तुष्ट मधेसी दलले गत असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् । मोर्चाका कार्यकर्ताले पनि अवरोध गर्न छाडे मितेरी पुलमा आन्दोलनकारीहरु धर्नामा बसेपछि ट्रकमा मालसामान आयात नभएपनि दुई सातायता धर्नास्थलकै बाटोबाट दिनहुँ ठेला र टायर गाडाबाट पोकामा रहेका मालसामान वीरगञ्ज भित्रिने क्रम बढेको छ । काराबोरी र व्यपारीहरुले आयात गरेको पोकाका सामानको रक्सौल कस्टमले सहजरुपमा जाँचपास दिने गरेको छ । रक्सौलबाट ठेला र टायरगाडामा लोड गरेर ल्याइएको सामान मितेरी पुलमा झारिन्छ ।

 त्यहाँबाट आयातकर्ता र व्यपारीहरुले ती सामान धर्नास्थल मितेरीपुलकै नाका हुँदै भरियामार्फत सीमावारी ल्याएर पुनः ठेला र रिक्सामा लोड गरी वीरगञ्ज भन्सार कार्यालयमा भित्र्याउने गरेका छन् । धर्नामा बसेका आन्दोलनकारीहरुले पनि सामान भित्र्याउन रोकटोक गर्न छाडेका छन् । दुई हप्ता अघिसम्म व्यापारीहरुले रक्सौलबाट रातिमात्रै ठेला र रिक्सामा सामान भित्र्याउँदै आएका थिए । राति सामान भित्र्याउने क्रममा धर्नामा बसेका आन्दोलनकारीले व्यपारी र भरियालाई अवरोध पुर्‍याउँदै आएका थिए ।

 सामान भित्रने क्रममा अवरोध गर्दा आन्दोलनकारी र व्यपारीबीच पटक पटक झडपसमेत भएको थियो । झडपका क्रममा व्यपारीका भारतीय भरियाहरुले केही आन्दोलनकारीलाइ कुटेर घाइते पनि बनाएका थिए । दुई सातायता भने व्यपारीहरुले दिउँसै ठेला र गाडामा पोका सामान भित्र्याउँदा पनि आन्दोलनकारीले अवरोध गर्न छाडेका छन् । धर्नामा बस्ने आन्दोलनकारीको संख्या पातलिँदै गएकाले व्यपारीहरुलाई सामान भित्र्याउन सहज भएको छ । 

 नाकामा मधेसी दलको धर्नाका कारण रक्सौलबाट इन्धनसहितको ट्याङकर भित्रन नसकेपनि दुई साता यतादेखि कपडा, तयारी पोशाक, हार्डवेयर, जुत्ता चप्पल र विद्युतीय सामानहरु भने सहजै वीरगञ्ज भित्रिरहेको छ । दुई सातायता भारतबाट सामान भित्रिने क्रम बढेपछि वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली पनि बढेको छ । नाकाबन्दी शुरु भएपछि भन्सार कार्यालयको दैनिक राजश्व असुली २०-२५ हजार रुपैयाँमै सीमित भएको थियो । तर दुई सातायता भने दैनिक राजश्व असुली ३०-३२ लाख रुपैयाँ पुगेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले बताए ।

 माघ १ देखि ९ गतेसम्म नौ दिनकै अवधिमा भन्सार कार्यालयले तीन करोड ३८ लाख ७० हजार नौ रुपैयाँ राजश्वस असुली गरेको छ । ‘नाकाबन्दी शुरु भएपछिका दिनमा एकताका दैनिक असुली २०-२५ हजारमै सीमित भएको थियो’, सूचना अधिकारी शर्माले भने, ‘तर अहिले दैनिक ३०-३२ लाखसम्म राजश्व उठ्न थालेको छ । रक्सौलबाट ठेला र रिक्सामा सामान भित्रिने क्रम बढेकाले राजश्व असुली पनि बढेको शर्माले बताए । पुुसमा भने भन्सार कार्यालयले सात करोड ७० लाख १४ हजार ६ सय ८२ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

0 comments

Write Down Your Responses