‘पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए’

२०७२ फागुन १४ गते

फागुन, काठमाडौं -

‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउने गर्न थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।

’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भन्छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’

 नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो । 

 आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । 

यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो । यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिमि्रक एयरका पाइलट विनोद पुरी बताउँछन् ।

 ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’ विमानका पाइलट दिनेश र को पाइलट सन्तोष रानाले विमानलाई खेतमा अवतरण गराएका थिए ।

 दुर्घटनामा घाइतेहरुलाई लिन कालिकोट पुगेका श्रीएयरलाइन्सका पाइटल कर्णेल मदन केसीका अनुसार ल्याण्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको देखिन्छ ।

 कर्णेल केसीले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्याण्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्याण्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरु बाँच्न सफल हुनुभएन ।’ जहाजमा सवार यात्रुहरुमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर छ । 

अरुलाई पनि चोट लागेको छ ।

0 comments

Write Down Your Responses