यस्तो सुसाइड नोट लेखेर कोरियामै झुन्डिए गणेश

२०७२ फाल्गुन १४ शुक्रबार

सोलः रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । चार ४ वर्षअघि यहाँ आएका पन्चमुल गाविस-३ स्याङजाका २४ वर्षीय गणेशराज चापागार्इँ कम्पनी नजिकै रुखको हाँगामा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

 उनको मृत शरीर बुधवार मध्यरातमा झुण्डिएको अवस्थामा भेटिएको थियो । खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत चापागाईँ बुधबार दिउँसोबाट हराएका थिए । उनको कम्पनीका एक नेपालीले दिएको जानकारी अनुसार चापागार्इँ बुधबार मध्यान्ह १२ बजे अन्य साथीलाई जानकारी नदिई बाहिर निस्केका थिए । उनले छोटो सुसाइड नोट पनि लेखेर छोडेका छन् ।

 मृतकका सहकर्मी पेलाकोट स्याङ्गजाका रमेश अधिकारीका अनुसार सुसाइड नोटमा साथीहरुसँग माफी माग्दै आफ्नो खातामा रहेको रकम भूकम्पपीडित र अपांगलाई सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय सुनछाङ प्रहरीले सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्राराम्भीक जानकारी गराएको छ । उक्त कम्पनीमा अन्य १२ नेपाली कामदारहरु कार्यरत छन् ।

 अबिबाहित चापागाईँ केही महिनाअघि बिदामा घर गएर फर्केका थिए । उनको परिवारमा आमा बुबा तिन दिदि बहिनि र एक भाइ रहेका छन् । नेपाली राजदूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहीबारै पठाइसकिएको जनाउँदै घटनास्थलमा शुक्रबार जाने बताए ।

0 comments

Write Down Your Responses