भोलिदेखि पुरानो बसपार्कमा बस रोकिँदैनन्, खुलामञ्च जानुस्

२१ वैशाख, काठमाडौं ।

 अब काठमाडौंको पुरानो बसपार्कमा गाडी चढ्न नजानुहोला । भोलिदेखि पुरानो बसपार्कमा रोकिने सबै सवारीको पार्किङ खुलामञ्चमा सारिँदैछ । सुविधासम्पन्न २९ तले काठमाडौं टावरको निर्माण सुरु गर्नका लागि बसपार्कलाई खुलामञ्चमा तयारी सकिएको हो । त्यसका लागि खुलामञ्चको पार्किङ क्षेत्रमा कालोपत्रे गर्ने काम पनि सकिएको छ ।

 भोलिदेखि बसपार्कका बसहरू खुलामञ्चबाटै छुट्नेछन् । खुलामञ्चको एकतिहाई भागलाई कम्पाउण्डिङ गरेर पार्किङस्थल निर्माण गरिएको हो । अब पुरनो बसपार्कबाट छुट्ने उपत्यका भित्रका र अरनिको राजमार्ग अन्तरगतका विभिन्न जिल्लामा जाने बसहरु खुलामञ्चबाट छुट्ने काठमाडाैं महानगरपालिकाले जनाएको छ ।

 खुलामञ्चको रत्नपार्क पट्टीको एकतिहाई भागलाई जस्तापाताले घरेर कालोपत्रे गरिएको छ । पार्किङ व्यवस्थापनको लागि लागि टावर निर्माता कम्पनीले बहोरेको छ । अब दुई वर्षसम्म खुलामञ्चमा पार्किङ कायम रहने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए । ‘खुलामञ्चमा स्थायी बसपार्क रहँदैन, यो केही समयमा लागि मात्रै हो’ तामाङले भने-‘पुरानो बसपार्कमा काठमाडौं टावर बनेपछि बसहरु पुरानै पार्किङ स्थलमा र्फकनेछन् ।’

 उनकाअनुसार टावरमा स्तरीय ‘बस टर्मिनल’ पनि रहने भएकाले निर्माण अवधिभरमा मात्रै खुलामञ्चमा पार्किङ सार्न लागिएको हो । नयाँ बन्ने टावरमा अत्याधुनिक र व्यवस्थित बस टर्मिनलसँगै दुई तलामा सवारी पार्किङको सुविधा पनि हुनेछ । जलेश्वर, स्वछन्द र विकोइ जेभी कम्पनीले काठमाडाैं टावरको निर्माणका लागि काम थाल्दैछन् ।

 २०७३ वैशाख २१ गते १६:५९ मा प्रकाशित

0 comments

Write Down Your Responses