अरू देशका सेना जान नमानेको ठाउँमा नेपाली गएर उत्कृष्टता प्रदर्शन

शान्ति मिसनमा थपिँदै नेपाली सैनिक१४ असार, काठमाडौं ।

 संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन् । इन्जिनियर्स, सैनिक प्रहरीलगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन् । थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ । 

मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्नेछन् । राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जाँदै छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन् । त्यहाँ ६४ सैनिक पठाउने तयारी छ ।

 सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन् । त्यहााँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत छ । संयुक्त राष्ट्रसंघले एक बटालियनस्तरको अर्थात् आठ सय ५० सैनिक रहने फौजलाई तयारी हालतमा राख्न भनेको छ । यसलाई सेनाले ‘र्‍यापिड डिप्लोइड बटालियन’ भनेको छ । यसबाहेक एक सय ५० जनाको विशेष फोर्सका सैनिकलाई पनि तयारी हालतमा राख्न भनिएको छ । 

‘उनीहरू जानका लागि तयारी हालतमा छन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘राष्ट्रसंघले पठाउनु भनेपछि जाने अवस्थामा नेपाली सैनिक छन् ।’ शान्ति मिसनमा नेपाली सेनाको विश्वसनीयता बढेको पनि कार्कीले बताए ।नेपाली सेनाको विश्वसनीयता झन् बढेको छ, हामीले कहिल्यै पनि रोकेनौँ,’ उनले भने, ‘आर्थिक रूपमा सेना र देश नै लाभान्वित भएको छ ।

 हाल नेपाली सेना मिसनहरूको अतिसंवेदनशील ठाउँमा छन् । लेबनान र कंगोमा अरू सैनिक जान नमानेको ठाउँमा नेपाली गएर उत्कृष्टता प्रदर्शन गरेका छन् ।’ अहिले १५ वटा शान्ति स्थापक मिसनमा जम्मा चार हजार तीन सय ६१ सैनिक कार्यरत छन् । यीमध्ये महिला ९८, फौज चार हजार दुई सय सात, सैनिक पर्यवेक्षक ५६ र स्टाफ अधिकृत ९८ छन् । 

 अब एक हजार तीन सय २७ सैनिक थपिँदा शान्ति स्थापक सेनामा जाने संख्या पाँच हजार ६ सय ८८ पुग्नेछ । यसअघि नेपालले पाँच हजार सैनिक पठाउने निर्णय गरेकोमा यसपटक संख्या बढाएको छ । सरकारले सेनाको कुल संख्याको दश प्रतिशत जनशक्ति शान्ति स्थापनाका लागि पठाउने निर्णय गरेको छ ।

 सेनाको कुल दरबन्दी ९६ हजार नौ सय २४ छ । सरकारले कुल सेनाको दश प्रतिशत अर्थात् नौ हजार ६ सय सैनिक पठाउन नेपालले प्रतिबद्धता जनाएको छ ।१९५८ मा ५ पर्यवेक्षकबाट लेबनानस्थित शान्ति स्थापक सेनामा सहभागिता सुरु गरेको नेपालले हाल ५६ पर्यवेक्षक खटाएको छ । यीमध्ये कंगोमा १४ तथा दक्षिण सुडान र सुडानमा ११–११ पर्यवेक्षक कार्यरत छन् । 

शान्ति मिसनमा हालसम्म एक लाख ११ हजार तीन सय ९९ जनाले विभिन्न ओहोदामा रहेर काम गरेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए । अहिलेसम्म ६३ सैनिक मारिएका छन्, ५९ जना घाइते छन् । नेपाली सेना शान्ति मिसनमा योगदानकर्ता देशको छैटौँ स्थानमा छ । मिसनमा हालसम्म आठ सय ७० जना महिला सैनिक सहभागी भएका छन् । 

 २०७३ असार १४ गते ६:३४ मा प्रकाशित

0 comments

Write Down Your Responses