ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर

रमेश धमला

५ असार, काठमाडौं । 

नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ । ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् ।

 करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको हो । आफ्ना लगभग सम्पूर्ण जनिशक्ति अपरेसन क्वाकमा परिचालन गरेको सिआइबीले ३६ जना ‘डाक्टर’लाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंका अस्पतालबाट १३ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।

 यो समाचार पनि पढ्नुस्: नक्कली प्रमाणपत्रका आधारमा को-को भएछन् डाक्टर (विवरणसहित) 

 यसैगरी ललितपुरबाट २ जना,
 इटहरीबाट १ बिराटनगरबाट ३, झापाबाट १, धनुषाबाट २, विरगञ्जबाट ९, चितवनबाट ३, पोखराबाट १ र दाङबाट १ जना पक्राउ परेका छन् । काठमाडौंको अपरेशनमा ट्रमा सेन्टर र नर्भिकसहित कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकमा नक्कली डाक्टर भेटिएको सिआइबी स्रोतले जानकारी दियो ।

 ट्रमा सेन्टर भारतले बनाइदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो भने नर्भिक निजी लगानीको ठूलो अस्पताल हो ।पक्राउ परेका अधिकांशको आइएस्सीको प्रमाणपत्र नै नक्कली भेटिएको छ,’ स्रोतले भन्यो, ‘उनीहरुले अध्ययन गरेको भनिएको कलेजमा कुनै रेकर्ड छैन ।’

 सिआइबीले १ सय जना नक्कली प्रमाणपत्रधारी पक्राउ पर्ने अनुमानसहित अपरेसन क्वाक चलाएको थियो । तर सुचना चुहिएपछि अधिकांश थुप्रै फरार भएको स्रोत बताउँछ । सिआइबी स्रोत भन्छ, ‘१ सय जना नक्कली डाक्टर र उनीहरु कार्यरत अस्पताल कारवाहीको सुचिमा थिए ।

 सुचीमा रहेका डाक्टहरुको बारेमा सिआइबीले चार महिनादेखि अनुसन्धान गरिरहेको थियो । त्यसबाट प्राप्त प्रमाणको आधारमा कारवाही चलाइएको हो ।’ शुक्रबार अपरेसन चलाउने तयारीसँगै सिआइबीको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बिहान ६ बजेदेखि एसएसपीहरु ‘स्ट्याण्डवाइ’ बसेका थिए । 

 जिल्ला जिल्लामा सिआइबीका टोली पुगेपछि स्थानीय प्रहरी प्रमुख र सीमित अधिकृतलाई मात्रै जानकारी दिएर अपरेसन सञ्चालन गरिएको थियो ।परिषद र काउन्सिलको साथ नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर विरुद्धको अपरेशनमा सिआइबीलाई नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले साथ दिएका छन् ।

 स्रोतका अनुसार नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर र उनीहरु कार्यरत अस्पतालको सुची सिआइबीलाई उपलब्ध गराएको थियो । काउन्सील नम्बरको लागि दिइने परिक्षामा पटक-पटक फेल भएकाहरु पनि अस्पतालमा कार्यरत देखिएपछि काउन्सिलले आन्तरिक छानविन गरिरहेको थियो । छानविनमा परेकाहरुले पेश गरेको प्रमाणपत्र नक्कली हो कि होइन भन्ने जाँच गर्न उच्च माध्यमिक शिक्षा परिषदले साथ दिएको हो ।

 अनुसन्धानको क्रममा आइएस्सी पास गरेको भनिएकाहरुको रेकर्ड सम्बन्धित कलेजमा नभएको पाइयो । कतिले वास्तविकभन्दा बढी नम्बर राखेको त कतिले एसएलसीको समेत नक्कली प्रमाणपत्र पेश गरेको भेटिएको सिआइबी स्रोत बताउँछ । आइएस्सी र एसएलसीको नक्कली प्रमाणपत्र हात पारे पनि अधिकांशले एमबिबिएस भने अध्ययन गरेको पाइएको छ । 

यसअघि गरेको पटक-पटकको अपरेसनमा नक्क्ली शैक्षिक प्रमाणपत्रको आरोपमा १९ जना कारवाहीमा परिसकेका छन् । २०७३ असार ६ गते २:१० मा प्रकाशित (२०७३ असार ५ गते २०:३०मा आवधिक गरिएको)

0 comments

Write Down Your Responses