यी हुन् पूँजी बढाउन हकप्रदको साहारा लिने बैंकहरु

काठमाडौ–नेपाल राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पूँजी वृद्धि गर्न डेढदर्जन वाणिज्य बैंकले हकप्रद सेयरलाई प्राथमिकता दिएका छन् । केन्द्रिय बैंकले एक आपसमा गाभिन (मर्ज) दवाव सहित पूँजी वृद्धिको नीति लिएपनि धेरैजसो वाणिज्य बैंकले पूँजी बढाउन हकप्रद सेयरकै साहारा लिएका हुन् ।

मुलुकमा बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै जाँदा नियमन र सुशासन कायम गर्न चुनौती थपिएपछि राष्ट्र बैंकले ‘फोर्स मर्जर’ को अवधारणा अपनाएको थियो । तर, अहिले धेरैजसो बाणिज्य बैंकहरुले त्यसलाई स्वीकार नगरेको पाइएको छ । केही क्षेत्रिय स्तरका र साना बैंक तथा फाइनान्स कम्पनी खरिद गर्ने र हकप्रद सेयर जारी गरेर तोकिएको पूँजी पुर्याउने ती बैंकको नीति देखिएको छ । 

कतिपय बैंकले त सतप्रतिशत हकप्रद सेयर जारीको तयारी गरेका छन् । राष्ट्र बैंकले आगामी २०७४ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिका लागि समयसिमा तोकेको छ । यो अवधीमा तोकिएको पूँजी पुर्याउन बाणिज्य बैंक धमाधम हकप्रदा जारी गर्नेतिर लागेका हुन् । 

राष्ट्र बैंकको नीति अनुसार अब एक बर्ष अवधीमा वाणिज्य बैंकहरुले चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्छ । यहि दवावका कारण अहिले धेरैले हकप्रद जारी गरिरहेका छन् भने कोही पाइपलाइनमा रहेका छन् ।

कुन–कुन बैंकले लिए हकप्रदको साहारा ?

चुक्ता पूँजी वृद्धिकै लागि सानिमा बैंकको हकप्रद सेयर बिक्री सुरु भईसकेको छ । साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेगरि बैंकले १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । हकप्रद सेयर बिक्री पछि बैंकको चुक्ता पूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।

 यस्तै, जनता बैंकले पनि मर्जर प्रक्रिया असफल भएपछि ५० प्रतिशत हकप्रद दिने निर्णय गरिसकेको छ । पूँजी पुर्याउन हकप्रदको साहारा लिनेमा लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, कृषि विकास, माछापुच्छ«े बैंक, सिटिजन्स बैंक, सनराइज, सेञ्चुरी, प्राइम बैंक, सिद्धार्थ, एनआइसी एसिया, नेपाल बैंक, हिमालय बैंक लगायत छन् । 

 नेपाल बंगलादेश बैंकले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने जनाएकोे छ । कृषि विकास, माछापुच्छ«े बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छन् । सिटिजन्स बैंकले ५५ प्रतिशत र सनराइज बैंकले पनि ३० प्रतिशत, सेञ्चुरी, र प्राइम बैंकले ३० प्रतिशत, सिद्धार्थ, एनआइसी एसिया लगायतका बैंकले पनि चुक्ता पूँजी पुर्याउन हकप्रद सेयरको साहारा लिने भएका छन् ।

 यस्तै, नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । अन्य थुप्रै बैंक हकप्रद जारी गर्ने तयारीमा रहेकाले केही साताभित्रै ३० अर्ब रुपैयाँ भन्दावढीको हकप्रद जारी हुन लागेको बैंकहरुले जनाएका छन् । राष्ट्र बैंकले भने वाणिज्य बैंकको संख्या १० देखि १२ ओटामा झार्न फोर्स मर्जर सहित पूँजी वृद्धि योजना ल्याएको थियो । बैंक तथा वित्तीय संस्थाको स्थायित्वका लागि भन्दै राष्ट्र बैंकले त्यो नीति लिएको हो ।

0 comments

Write Down Your Responses