यो शक्ति प्रदर्शन गर्ने समय होइन : नेपाल

भक्तपुर, फाल्गुन २३ - एमाले नेता माधवकुमार नेपालले विपक्षी दललाई लक्षित गर्दै अहिले शक्ति प्रदर्शन गर्ने बेला नभएको बताएका छन् । शक्ति प्रदर्शन, गाली गलौज गर्न छाडेर संविधान निर्माणमा जुट्नु पर्ने उनले बताए ।
'उठबस पनि भयो । शक्ति प्रदर्शन गर्नेले पनि गरे, एक अर्कालाई हप्काउने, गाली गलौज गर्ने, घुर्काउने, तर्साउनले समय गयो,'भक्तपुरको गठ्ठाघर स्थित सीभीएम विद्यालयको अभिभावक दिवसमा उनले भने,'अब त गम्भीर भएर जनताको अपेक्षा अनुसार संविधान बनाउने बेला आएको छ, यसलाई पुरा गरौ ।' संविधान निर्माणको काम छाडेर एकले अर्कोलाई घुर्काउने र शक्ति प्रदर्शन गरेर कसैलाई फाइदा नहुने उनले बताए ।
संघीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल  नपुग्ने गरी टुङ्गोमा पुर्‍याउनु पर्ने उनले बताए । शुक्रबार एमाओवादी नेतृत्वको मोर्चास“ग भएको छलफल सकारात्मक भएपछि शनिबारदेखि वार्ताको प्रक्रिया अघि बढेको उनले दाबी गरे । 'अनौपचारिक छलफलले भन्दा पनि औपचारिक रुपमा सहमतिमा पुग्नु जरुरी छ,'उनले भने ।

युवा नेता एवं सीभीएम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर बस्नेतले नेताहरुको स्वार्थ त्यागेर संविधान निर्माणमा लाग्न आग्रह गरे । 'जनताको धैर्यको बाध टुट्न लागिसक्यो । निश्चित सीमा भन्दा बढी कुरेपछि के हुन्छ ? नेताहरुले बेलैमा बुझे हुन्छ,'उनले भने ।

0 comments

Write Down Your Responses