प्रचण्ड भन्छन् : बाबुरामले पार्टी छाड्दा कसैको भलो हुँदैन -
२०७२ असोज ५ गते १७:३६ मा प्रकाशित
असोज, काठमाडौं - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम धेरै जटिल मान्छेको नाम भएको टिप्पणी गरेका छन् ।
बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा प्रचण्डले भट्टराईको पछिल्लो अभिव्यक्तिप्रति समेत असन्तुष्टि जनाएका छन् ।
एमाओवादी पार्टी छाडेर जान खोजेको हो हो कि भन्ने प्रश्नमा प्रचण्डले भने-‘त्यो कुरा त आउने दिनले प्रष्ट पार्ला । तर, म के प्रष्ट पार्न चाहन्छु भने छाडेर कहीँ गएर बाबुरामजीको भलो हुँदैन । यो राष्ट्रको पनि भलो हुँदैन र हाम्रो पार्टीको पनि भलो हुँदैन ।
’
बाबुराम भट्टराईलाई आफूले ३० वर्ष झेलेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-बाबुरामजीका केही विशेषता छन् । तर, फेरि म असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम पनि हो बाबुराम, जसलाई मैले ३० वर्षदेखि झेलेको छु । अर्को कोही मेरोजति नजिक बसेर एक वर्ष बसेको हेर्न मन छ मलाई ।’
भारतले समस्या ल्याउने चिन्ताएमाओवादी अध्यक्ष प्रचण्डले भारतले सीमावर्ती क्षेत्रमा समस्या सिर्जना गरिदिने खतराको संकेत गरे ।
बीबीसी नेपाली सेवाको प्रश्नमा उनले भने-अब म अलिकथि चिन्तित छु यहाँनेर । अस्ती विदेश सचिव आउँदा एउटा विषय खुला बोर्डर भएको हुनाले भारतलाई आफ्ठ्यारो छ । बोर्डरमा गतिविधि भयो, त्यहाँ हिंसा भयो भने, असर युपी-विहारमा पर्छ त्यसकारण हामी भारतले चासो लिनुपर्छ भनेर बढी नै फोकस गरिरहनु भयो, खुला बोर्डर खुला बोर्डर भनेर ।’
उनले अघि भने, त्यहाँ मैले एउटा शब्द भनेको थिएँ । तपाईले ‘बोर्डर’को कुरा बढी नै गर्नुभयो । त्यसको एउटा कारण होला । तर, ‘बोर्डर’ होइन ‘ब्रोडर’ नेपालसँगको सम्वन्धलाई बढी हेर्नु उचित होला ।
वृहत नेपालको ति र वृहत नेपालको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने कुराले दुबै देशको हितलाई बढी प्रतिनिधित्व गर्छ भनेर मैले भनेँ ।’
अन्तरवार्ता अघि खुलामञ्चमा भएको आमसभामा प्रचण्डले भारतको असल मित्र हुन चाहेको तर, एस म्यान हुन नचाहेको बताएका थिए ।
भारतीय विशेष दूतका रुपमा आएका विदेश सचिव जयशंकर आफूसँगको भेटमा कडा रुपमा प्रस्तुत भएको प्रचण्डले सुनाए ।
उनले भने-सबैलाई समेटेर संविधान घोषणा गर्नु भएन भने हामी समर्थन गर्दैनौं, गर्न सक्दैनौं । हामीले समर्थन नगरेपछि अरु दुनियाँले गरेर अर्थ हुँदैन भन्नु भयो ।’
आफूले धेरै प्रतिवाद नगरेको तर, यस्तो गम्भीर कुरा १५ दिन अगाडि वा पछाडि भन्नु पर्ने भन्दै टाइमिङ नमिलेको बताएको प्रचण्डले बताए ।
खुलामञ्चको आमसभा अघि विहान भारतीय राजदूत रणजित रायसँग आफ्नै निवासमा भेट गरेका थिए ।
राजदूत रायले दिल्ली जाने थाहा पाएपछि आफूले नै बोलाएर छलफल गरेको भन्दै प्रचण्डले भने-मैले भनेँ कि अब मधेसमा जे समस्या भएको छ, हामी वार्तामा ल्याउन तयार छौं । तर, भारतले पनि सद्भाव राखिदिनु पर्यो । मोदीजीलाई मेरो यो भनाइ छ कि अब वार्ताद्वारा मधेसको, थारुको वा तराईको समस्या समाधान गर्न केन्द्रीत हुने ।
’
भारतीय राजदूतले आफ्ना कुरा भारतीय प्रधानमन्त्रीसमक्ष राखिदिने बताएको उने सुनाए ।
साथै प्रचण्डले आगामी सरकारमा महत्वपूर्ण भूमिकाका साथ पार्टी सरकारमा जाने र संविधान कार्यन्वनयका लागि केही समय सरकारमै रहेर काम गर्ने उनले सुनाए ।
0 comments
Write Down Your Responses