टाउको काटेको कुखुरो १८ महिना सम्म जिउँदै

२०७२ भदौ २९ गते १०:२२ मा प्रकाशित

दुनियामा केही यस्ता घटना हुन्छन् जसले विज्ञानलाई नै चुनौति दिन्छन् । आजभन्दा ठ्याक्कैै ७० वर्ष पहिले यस्तै घटना भएको थियो । सेप्टेम्बर १०, १९४५ मा भएको त्यो घटनाले विश्वभरका जीव वैज्ञानिक मात्र होइन सुन्ने जो सुकैलाई पनि आश्चर्यमा पारेको थियो ।

 अमेरिकाका फ्रुटा कोलोराडोमा एउटा शिर काटिएको मुर्कट्टा भाले १८ महिनासम्म जिउँदै रहेर सबैलाई चकित पारिदियो । कुखुरा पालक किसान लोयल अल्सन तथा उनकी पत्नी क्लाराले मासुका लागि कुखुरा काटिरहेका थिए । उनीहरुले एकैदिन झण्डै ४०, ५० वटा कुखुरा काटे । अरु सबै कुखुरा टाउको छिनालिदिने बित्तिकै मरिहाले तर एउटा कुकुरा भने मरेन ।

 त्यो कुखुराको टाउको छिनिसकेको थियो तर ऊ मुर्कट्टा अवस्थामै मज्जाले दौडिरहेको थियो । टाउको विना नै त्यो कुखुरा १८ महिनासम्म बाँच्यो । काट्दाको दिन कुखुरा टाउको विनै पनि नमरेर दौडेको देखेपछि ती दम्पती आत्तिए । मरिहाल्ला नि भनेर उनीहरुले उक्त कुखुरालाई समातेर एउटा बाकसमा थुनेर राखे । भोलिपल्ट बाकस खोलेर हेर्दा त कुखुरा जिउँदै । उनीहरु झनै आश्चर्यचकित भए ।

 अल्सनले उक्त मुर्कट्टा भालेको नाम माइक राखिदिए । टाउको नभएको कुखुरा नमरेपछि अल्सनलाई दया जाग्यो । उनले त्यो कुखुरालाई खाना तथा पानी खुवाउन थाले । त्यसका लागि उनले घाँटीमा छिनालिएको भोजन नलीबाट झोल खानेकुरा तथा पानी हालिदिन थाले । त्यसरी हालिदिएका खाना तथा पानी कुखुराको पेटसम्म पुग्थे । तर १८ महिनापछि एकदिन उक्त कुखुरा मर्यो । अघिल्लो दिन अल्सनले खाना तथा पानी खुवाउन भुलेका कारण त्यो मरेको भनियो । जे होस्, यो कुखुराले त्यो समयमा खुबै चर्चा पाएको थियो र त्यो बाँच्नुको कारण अहिलेसम्म पनि पत्ता लागेको छैन ।

,

0 comments

Write Down Your Responses