अन्ततः एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले औपचारिक रुपमै खोले मोर्चा

काठमाडौं
 एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले औपचारिक रुपमै मोर्चा खोले। ‘संविधानसभाबाट संविधान जारी भएपछि पनि मुख्यत तराई–मधेस र देशका विभिन्न ठाउँहरुमा चलिरहेका आन्दोलनहरु साम्य हुनुसट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भएको छ,’ बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘विगतको जनयुद्ध, जनआन्दोलन मधेस आन्दोलन, थरुहट आन्दोलनलगायत जनताको संघर्षको क्रममा उठेका मुद्दाहरुलाई नयाँ संविधानमा पर्याप्त रुपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको प्रक्रियामा सबै सरोकारवालालाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण हो।’

 वैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा अन्तिमसम्म सबै पक्षलाई समेटेर लैजाने आफ्नो प्रयास सफल नभएकोमा भट्टराईले दुस्खसमेत व्यक्त गरेका छन्। संविधान कुनै ढुंगामा कुँदेको अक्षर नभएर एउटा गतिशील राजनीतिक दस्ताबेज भएकाले परिमार्जन र संशोधन हुनसक्ने उल्लेख गर्दै जारी विज्ञप्तीमा उनले भनेका छन्, ‘राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनबाट कहिल्यै भएको छैन, अब पनि हुन सक्दैन। 

आधा जनसंख्या बसोबास गर्ने तराई–मधेस जलिरहँदा पहाड–हिमाल चैनले सुत्न सक्दैन–हुँदैन। त्यसैले विशेषत तराई–मधेस र देशका अन्य भागमा भइरहेका आन्दोलनहरुमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण बनाउन सरकारले तुरुन्त तनाव शिथिलिकरणको पहल गरोस् र दुवै पक्षबाट शीघ्र वार्ता र संवादको थालनी होस् भन्ने म गम्भीर आग्रह गर्दछु।’ एक दिनअघिसम्म पनि संवाद सभापतिका रुपमा पहलकदमी र अन्तिममा संविधानको प्रतिमा हस्ताक्षर गर्नेसम्मका सबै प्रक्रियामा संलग्न आफैले त्यसैको आलोचनामा मोर्चा खोल्ने कि नखोलने भनेर भट्टराई अलमलमा देखिन्थे।

 तराई–मधेसका मुद्दाबारे छलफल गर्न बुधबार उनले नागरिक अगुवाहरुको भेला डाकेका थिए। भेलाले बल प्रयोगबाट समाधान ननिस्कने भन्दै संवाद थाल्न सरकार र आन्दोलनरत पक्षलाई अपिल गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गर्योे। तर भट्टराई स्वयम्ले भने विज्ञप्तिमा हस्ताक्षर गरेनन्। 

कान्तिपुर दैनिक अगाडी लेख्छ–आन्दोलनरत मधेसवादी दलका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुरसँग निरन्तर टेलिफोन सम्पर्कमा छन्, भट्टराई। बुधबार हामीसँग गफिइरहँदा सप्तरीमा रहेका यादवको फोन आयो। भट्टराईले भने, ‘उपेन्द्रजी म शुक्रबार जनकपुर आउँदैछु। तपाईहरु पनि त्यहाँ भए राम्रो। नभए पनि साथीहरुलाई भनिदिनु होला। म एक रात बसेर, छलफल गरेर शनिबार फर्कन्छु।’ धनुषानिवासी पार्टीका पोलिटब्युरो सदस्य रामचन्द्र झालाई आफ्नो भ्रमणको वातावरण मिलाउन बिहीबारै जनकपुर पठाए उनले।

 तर यादव, महन्थलगायतको पार्टीको संयुक्त लोकतान्त्रिक मोर्चाको जनकपुरस्थित संघर्ष समितिले भट्टराईले पनि संविधानमा हस्ताक्षर गरेकाले आउन नदिने चेतावनी दिए। कि पार्टी त्यागेर आउन भने। त्यसपछि भट्टराईले फेरि यादव, महन्थलगायतसँग सम्पर्क गरे। उनीहरुले भने, ‘शीर्ष तहमा हामीले कुरा बुझ्छौ तर आन्दोलनमा सहभागी युवा आक्रोशित छन्, त्यसैले केही दिन पर्खेर वातावरण बनाएरमात्र आउँदा राम्रो होला।’ त्यही वातावरण बनाउन भट्टराईले बिहीबार विज्ञप्ति जारी गरी मोर्चा खोलेका हुन्। -

1 comments

बाबुराम मझधारमा फसेको देखिन्छ / संबिधान जारि मा पनि उनको हस्ताक्षर छ भने विभेदमा पारिएका जनता लाई विभेद बाट उन्मुक्ति दिलाउने पनि उनको ईक्षा छ / अब हेरौं कसरि वहाँ यो मझधार बाट निस्कनु हुन्छ ?

Write Down Your Responses