नाकाबन्दी खुलेपनि इन्धन आएन
काठमाडौंआश्विन १७, २०७२-
भारतले लगाएको अघोषित नाकाबन्दी आजदेखि खुलेको भनिए पनि आज दिनभरि इन्धन आएन । भारतबाट नेपाल इन्धन आउने मुख्य नाकाहरुबाट आज दिनभरिमा पेट्रोल, डिजेल आएनन् । अहिलेसम्म इन्धनका नाममा १ बुलेट ग्यास मात्र अाएको छ ।
बिहानदेखि जम्मा ५४ वटा ट्रक आएपनि भैरहवा नाका दिउसो १ बजेपछि मधेसी मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण बन्द भयो । बिहानदेखि ट्रक आए पनि पेट्रोलको एउटा पनि ट्यांकर आएन ।
नेपालमा इन्धन आउने मुख्य नाका वीरगञ्ज बन्द नै रहेकाले यहाँबाट केही पनि सामान आएनन् । नेपालगञ्ज नजिकको भारतीय नाका रुपैडियाबाट १० मालबाहक अाए पनि इन्धन आएको छैन ।
यता पूर्वी नाका काकरभिट्टाबाट भने आइतबार साँझम्म ७० ट्रक र कन्टेनर आए पनि इन्धनको एउटा पनि गाडी भित्रिएन । शनिबार राति पनि यो नाकाबाट ७० वटा नै ट्रक तथा कन्टेनर आएका थिए ।
सिमेन्टदेखि साइकल, गाडीका पार्टस् तथा खाद्यान्न, प्याज, फलफूलका गाडी छोडे पनि भारतीय नाकाका भन्सारहरुले पेट्रोलियम पदार्थ भएका ट्यांकर छोडेका छैनन् ।कैलाली नाकाबाट आज साँझ इन्धनका नाममा एउटा ग्यास बुलेट नेपाल प्रवेश गरेको छ ।
विराटनगर नाकामा भने नेपाल भारत दुईतर्फका भन्सार अधिकृतहरुले पाँच बुँदे सहमति गरि आजैदेखि आपुर्ति सहज गर्ने बताएका छन् । तर, यो नाकाबाट पनि अहिलेसम्म इन्धन बोकेका गाडीले प्रवेश पाएका छैनन् ।
प्रकाशित: आश्विन १७, २०७२
0 comments
Write Down Your Responses