राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि आह्वान
आश्विन १५, २०७२
-नयाँ संविधानपछि सहमतिय सरकार निर्माणका लागि शुक्रबारबाट प्रक्रिया सुरु भएको छ । राष्ट्रपति रामवरण यादवले ७ दिनभित्र त्यस्तो सरकार गठन गर्न व्यवस्थापिका–संसदमा रहेका दलहरुलाई शुक्रबार साँझ आह्वान गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री सुशील कोइरालाले संसदमा सम्बोधनमार्फत नयाँ सरकारका लागि मार्ग प्रशस्त गरेका थिए । सम्बोधन लगत्तै शीतल निवास पुगेका उनले राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनबारे छलफल गरेका थिए ।
‘संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन,’ प्रधानमन्त्री कोइरालाले आफू राष्ट्रपतिलाई त्यसको प्रक्रियाका लागि भेट्न जाने जनाउँदै सांसदहरुमाझ भनेका थिए ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेका हुन् ।
धारा २९८ को उपधारा २ मा व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले ७ दिनभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजकै अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने उल्लेख छ ।
उपधारा ३ मा सहमति हुन नसकेमा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।
शुक्रबार नै सुरु भएको संसद बैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले ‘नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया बढाउन’ राष्ट्रपतिलाई आग्रह गर्ने बताएका थिए । सम्बोधनमै उनले संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक घोषणा गरेको स्मरण गराउँदै सोही अनुसार आफू नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा लागेको बताएका थिए ।
0 comments
Write Down Your Responses