के हो इन्डक्सन चुल्हो?
लगातारको बन्द हड्ताल र भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासको चरम अभाव हुँदै गएको छ। अभाव सुरु भएसँगै उपभोक्ताहरुले बैकल्पिक साधनहरुको खोजी तथा प्रयोगमा जोड दिइरहेका छन्।
ग्यासको विकल्पको रुपमा अहिले इण्डक्सन चुल्होको माग अत्यधिक बढेको छ। केही समयअघिसम्म धेरै उपभोक्ताहरुले इन्डक्सन चुल्होका बारेमा थाहा पनि पाएका थिएनन्। तर हाल भने बजारमा यसको माग ह्वातै बढेको छ।
इन्धन अभाव नहुन्जेलसम्म इन्डक्सन चुल्होका बारेमा थाहा पाएकाहरुमा पनि यो किन्ने उत्सुकता थिएन। तर ग्यासको अभाव भएपछि इन्डक्सन चुल्हो किन्नेहरुको घुँइचो लागेको व्यवसायीहरुको भनाइ छ।
‘पहिले त फाट्टफुट्ट रुपमा मात्र इन्डक्सन चुल्हो किन्ने ग्राहक आउँथे, अहिले त दैनिक २० वटा सम्मको माग आउँछ,’ महाबौद्धमा विगत तीन वर्षदेखि इन्डक्सन चुल्हो विक्री गर्दै आएका श्यामलाल महर्जनले बताए।
अहिले बजारमा यासुदा, बजाज, प्रेस्टिज, सूर्या, सीजी, बाल्ट्रा, फिलिप्स लगायत अन्य केही कम्पनीका इन्डक्सन चुल्होहरु उपलब्ध छन्। कम्पनी, यसको क्षमता, टिकाउपना आदिका आधारमा साना इन्डक्सन चुल्होको मूल्य तीनहजार पाँच सय रुपैयाँदेखि कबिर ८ हजार रुपैयाँसम्म रहेको र ठूला चुल्होहरुको १६ हजार रुपैयाँसम्म रहेको महर्जन बताउँछन्।
‘सबैभन्दा सस्तो हामीकहाँ सूर्यको चुल्हो छ, यसको ३५ सय रुपैयाँ पर्छ। यसमा वारेन्टी हुँदैन, तर बजाज र प्रेस्टिजमा १ वर्षको वारेन्टी पनि छ,' उनले भने।
बजारमा ३० सेमीदेखि ९० सेमीका इन्डक्सन चुल्होहरु उपलब्ध छन्। यस्ता चुल्होहरुको प्लेट संख्या र आकारमा फरक फरक हुन्छन्। आफ्नो आवश्यकता अनुसार प्लेट संख्या र प्लेटको आकारको आधारमा यसलाई खरिद गर्न सकिन्छ। सानो परिवारका लागि सानो र एक वा दुईवटा चुल्हो भएको सहज हुन्छ भने ठूलो परिवारका लागि दुई वा सो भन्दा धेरै प्लेट भएको चुल्हो सहज हुन्छ।
अधिकांस इण्डक्शन चुल्होहरु टच कण्ट्रोल वा बटन सिस्टममा उपलब्ध छन् । यसबाट आफुलाई आवश्यक भएअनुसारको ताप घटबढ गर्न सकिन्छ ।
त्यस्तै बजारमा अटोमेटिक प्यान साइज रिकण्डिशन (स्वचालित रूपमै यसमा बसालिएका भाँडाको आकार र आयतनको पहिचान गर्ने), चाइल्ड लक, टाइमर आदि सुविधा भएका इन्डक्सन चुल्होहरु पनि उपलब्ध छन्। यस्तै सुविधाहरुको आधारमा यिनीहरुको सामान्य चुल्हो भन्दा बढी मूल्य पनि पर्ने व्यवसायीहरु बताउँछन्।
कसरी काम गर्छ इन्डक्सन चुल्होले ?
इन्डक्सन चूल्होले चुम्बकीय प्रतिक्रियाद्वारा भाँडालाई तताउने काम गर्छ। यसको ताप सिधै भाँडामा पर्ने हुनाले भाँडा एकदमै चाँडै तात्छ। यसको ताप पनि सबैतिर समानरुपमा बहन्छ। यसै हुनाले ग्यासको तुलनामा इन्डक्सन चुल्होमा चाँडो खाना पाक्नुका साथै राम्रो तरिकाले पनि पाक्छ। यसले धेरै ताप फाल्दैन र यसका साथै ग्यासको तुलनामा यो एकदमै सुरक्षित पनि मानिन्छ।
बजारमा हाल १ हजार ४ सय देखि २ हजार १ सय वाटसम्मका इन्डक्सन चुल्होहरु उपलब्ध छन्।
यो चुल्होमा ताप घटबढ गरी खानाको प्रकार अनुसार छिटो पनि गर्न सकिन्छ । कस्तो भाँडा प्रयोग गर्ने?
ग्यास चुल्होमा राखे जस्तै गरी चुलोमा भाँडा राखेर यसमा खाना बनाउन सकिन्छ । यसमा प्रयोग गरिने भाँडा भने स्टीलको वा फलामको हुनु पर्छ। तामा, पित्तल, अचुम्बकीय स्टील, आलुमिनियमहरु भने यसमा प्रयोग गर्न मिल्दैन। साधारण अर्थमा चुम्बक टाँसिने भाँडाहरुको प्रयोग गर्न सकिने सम्भावना बढी हुन्छ। त्यस्तै यस्ता भाँडाको पीँध समतल हुनु पर्छ।
अहिले बजारमा इन्डक्सन चुल्होका लागि भनेर विभिन्न किसिमका कुकर, कराई र प्यानहरु पनि उपलब्ध छन्।
यस्ता भाँडाहरुको प्रकार र कम्पनी हेरेर एक हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँ सम्म पर्ने व्यवसायीहरु बताउँछन्। तर यसका लागि भाँडा किन्दा चुल्होको अाकार र अायतनका अाधारमा लिनुपर्छ। चुल्होकाे प्लेटकाे अायतनसँग मेल नहुने भाँडाहरुले काम दिदैँनन्।
ग्यासको तुलनामा इन्डक्सन चुल्हो सरल, स्वस्थ्यकर र छिटो पाक्ने हुनाले यसको सही उपयोग गरेमा उपभोक्ताहरुले राम्रो लाभ लिन सक्छन्। बजारमा माग भएअनुसार इन्डक्सन चुल्होको अभाव भने नभएको व्यवसायीहरुको भनाइ छ।
भाँडाकुँडा पसल, डिपार्टमेन्ट स्टोर, इलेक्ट्रिक सामानहरुको पसलका साथै अनलाइनबाट पनि इन्डक्सन चुल्होहरु खरिद गर्न सकिन्छ।
नेपाल जस्तो इन्धनमा परनिर्भर राष्ट्रमा बेलाबेला ग्यासको अभाव भइरहने समस्या इन्डक्सन चुल्होलाई एकदमै सहज र किफायति विकल्पको रुपमा लिन सकिन्छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०७२ १२:५७:२९

0 comments
Write Down Your Responses