भारतीय सीमा सुरक्षा बलले नेपाल पसेर गोली चलायो, चार घाइते

२०७२ मंसिर ९ गते ९:१५ मा प्रकाशित

मंसिर, सुनसरी - भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् । बुधबार बिहान साढे ६ बजे तिरको समयमा एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको स्थानीयबासीले बताएका छन् । १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् । 

गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको छ । 

अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली कसले र किन हानेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses