पर्यटकीय स्थल रारामा पाहुना चरा अझै आएनन्

मुगु, १० मङ्सिर 

प्रत्येक वर्षको असोज महिनाको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म रारातालमा आउने गरेका पाहुना चरा यो वर्ष भने अहिलेसम्म पनि आएका छैनन् । हरेक वर्ष असोज महिनाको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म तिब्बतको मानसरोवर, साइबेरिया, नेपालको कोसी टप्पु, पर्सा जिल्ला, भारत र बङ्गलादेशबाट रारा आउने गरेका पाहुना चरा यो वर्ष अहिलेसम्म नआएका हुन् ।

 नेपालमा रहेका ८७४ प्रजातिका चरामध्ये रारा राष्ट्रिय निकुञ्जमा २८४ प्रजातिका चरा रहेका छन् । यसमध्ये हिउँदको मौसममा रारा तालमा मात्र मानसरोवर, साइबेरिया, बङ्गलादेशलगायत नेपालका कोसी, पर्सादेखि अन्य जिल्लाबाट असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म सयौँका सङ्ख्यामा मरुल, हरियो टाउके हाँस, कालिजुरे, क्यामरुलदेखि चखेवा चखेवी आउने र माघदेखि फागुनको पहिलो सातासम्म पुनः आ–आफ्ना पुरानै बासस्थानमा जाने गरेका हुन्थे तर यो वर्ष अझैसम्म पनि यी चरा तालमा आएका देखिँदैन । 

“पाहुना चराहरु आएर रारा तालको छेउछाउ चराले भरिभराउ हुँदा कालै देखिन्थ्यो,” निकुञ्जका संरक्षक अधिकृत मोहनचन्द्र विश्वकर्माले भन्नुभयो । चराचुरुङ्गीको अवलोकन र अनुसन्धानका लागि उत्तम स्थान भएको यो रारा राष्ट्रिय निकुञ्जमा विशेष गरी हिउँदको मौसममा पाहुना चराले रारा तालसँगै पर्यटकलाई छुट्टै आनन्द दिने गर्थे । तालमा खानेकुरा नभएर नआएका हुन् वा अति जाडो भई नआएका हुन् भन्ने कारण भने अनभिज्ञ रहेको विश्वकर्माले बताउनुभयो ।

0 comments

Write Down Your Responses