एमाओवादी अध्यक्ष प्रचण्डले भने - बरु लड्न तयार छौँ तर भारतका अगाडी कहिलै झुक्दैनौँ -

डिसी नेपालबाट 

बुटवल, २१ कात्तिक - एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले अनावश्यक दवाव दिएर झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार रहेको बताएका छन्। शनिबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाल भारतको सम्बन्धलाई सहमति र समझदारीबाटै टुंग्याउन कुनै कसर बाँकी नरहेपनि भारतको एकोहोरो हस्तक्षेप सहन नसकिने बताए। 

उनले भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार रहेको दावी गरे । ‘नेपालको आन्तरिक समस्या सहमतिबाट टुंग्याउन चाहन्छौं।’ प्रचण्डले भने, ‘भारतले हस्तक्षेप गरे अन्तिम अवस्थासम्म पनि लड्न तयार छौं र रहनुपर्छ।’ उनले नेपाली जनताका प्रतिनिधिले आफैं संविधान बनाउँदा भारतले सजाय दिन खोज्नु उसको गल्ती भएको बताए।

 संविधानले कसैलाई विभेद नगरेको र पहिचानका सवालमा मधेसी जनतालाई अझ बढी अधिकार दिएको बताउँदै अध्यक्ष दाहालले नेपालले संविधान बनाए वापत दु:ख पाउनु पर्छ र सजाय भोग्नुपर्छ भन्ने भारतको व्यवहार ठीक नभएको जीकिर गरे। उनले भारतको अघोषित नाकाबन्दीले अन्तर्राष्ट्रिय कानुनहरुको उल्लंघन भएको आरोप लगाए।

‘भारतले असल छिमेकीको नाताले पनि नेपाल र नेपालीको कदममा सहयोग गर्नुपर्छ।’ प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय कानुन विपरीत दुःख मात्रै दिने हो भने नेपालीहरु एक ढिक्का भएर त्यसको प्रतिवादमा उत्रनुपर्छ।’

0 comments

Write Down Your Responses