एमाओवादीका पाँच नेतालाई पार्टीबाट निस्कासनदेवेन्द्र र हिसिलालाईस्पष्टीकरण
बाबुराम समूहसँग प्रचण्ड पक्ष नझुक्ने
२०७२ कार्तिक १८ गते
काठमाडौँ - एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठकले पूर्व नेता डा. बाबुराम भट्टराई पक्षमा लागेका पाँच नेतालाई पार्टीबाट निस्कासन गरेको छ । साथै देवेन्द्र पौडेल र हिसिला यमी लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पौडेलको नेतृत्वमा भट्टराई समर्थक ४५ केन्द्रीय नेताले पार्टीमा असहमति दर्ता गर्दै नयाँ शक्ति निर्माणमा लागेको घोषणा गरेपछि बुधबार बिहान एमाओवादी स्थायी समिति बैठक बसेको थियो ।
प्रचण्ड निवासमा बसेको बैठकले पहिल्यै स्पष्टीकरण सोधिएका केन्द्रीय नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा र गंगा श्रेष्ठलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । ‘बाबुराम भट्टराईले पार्टी परित्याग गरेकै बेला उहाँहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो, त्यसैले अब स्पष्टीकरण सोधिरहनुपरेन, यहाँहरुलाई हटाउनुपर्छ भन्ने मत बैठकमा आएको छ’ बैठकपछि एक नेताले अनलाइनखबरसँग भने ।
यसअघि स्पष्टीकरण सोधिएका सांसद प्रभु साह भने यो पटक भट्टराईको समर्थनमा नआएको भन्दै कारबाही गरिएको छैन । उनलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री चुनिने बेलामा २९ जनाले संयुक्त वक्तव्य निकालेपछि रामरिझन यादव र रामचन्द्र झा लगायतलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।
अरुलाई स्पष्टीकरण
एमाओवादीको स्थायी कमिटी बैठकले नयाँ शक्ति बनाउने भन्दै पार्टी कार्यालयमा पत्र बुझाउने देवेन्द्र पौडेल, हिसिला यमीसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
स्पष्टीकरण बुझाउन पाँच दिन समय दिइएको छ । साथै उनीहरुले लिएको बाटो गलत भएको भन्दै एमाओवादीले आत्मालोचना गरेर पार्टीमा एकतावद्ध हुन आग्रह समेत गरेको छ ।
यसअघि एमाओवादीको केन्द्रीय समिति बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हकमा पनि राजीनामा दिनु गल्ती भएको ठहर गर्दै पार्टीमा र्फकन आग्रह गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड पक्ष कडा
विद्रोही नेता देवेन्द्र पौडेलले केन्द्रीय कमिटी भंग गरी महाधिवेशन गर्ने निर्णय भएमा सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिए पनि प्रचण्ड पक्षले बाबुराम समूह नझुक्ने मानसिकता बनाएको छ ।
बुधबारको स्थायी कमिटी बैठकको निर्णयले त्यस्तो स्पष्ट संकेत गरेको छ । एमाओवादी स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईको पछिल्लो कदमलाई दक्षिणपन्थी विसर्जनवादको संज्ञा दिएको छ ।
डा. भट्टराईमा आत्मकेन्दि्रत व्यक्तिवाद एवं दक्षिणपन्थी विसर्जनवाद देखापरेको बैठकको ठहर छ ।
साथै भट्टराई समूहका ४५ भाइको कदमले भट्टराईको आत्मकेन्दि्रत व्यक्तिवाद र दक्षिणपन्थी विसर्जनवादलाई सहयोग पुगेको भन्दै उनीहरुप्रति कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।
0 comments
Write Down Your Responses