मधेसी मोर्चाका नेताहरु दिल्लीतिर

 अन्नपूर्ण बाट 

| २०७२ मङ्शिर १९ शनिबार

काठमाडौं : आन्दोलनरत मधेसी मोर्चाका नेताहरु निर्णायक वार्ता गर्नुअघि परामर्शका लागि भारतको दिल्ली जाने क्रम सुरु भएको छ। सद्‍भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव शनिबार नै दिल्ली प्रस्थान गरेका छन्।

 रौतहटबाट भारतको सितामडी हुँदै दिल्ली जाने कार्यक्रम छ। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान दिल्ली जाँदैछन्।भारतले मधेस आन्दोलन र मधेसी मोर्चाले राखेका मागका बारेमा परामर्श गर्न मोर्चाका मुख्य नेताहरुलाई दिल्ली आमन्त्रण गरेको छ।

 प्रतिनिधिका रुपमा राजेन्द्र महतो मात्रै जाने भनिए पनि भारतले सबैसँग सामूहिक परामर्श गर्नुपर्ने भन्दै चारै प्रमुख नेताहरुलाई बोलाएको छ। सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मधेसी मोर्चाले राखेका मागमा साझा अवधारण बनाएर निर्णायक वार्ताको तयारी गरिरहेका बेला भारतले मधेसी मोर्चाका नेताहरुलाई दिल्ली डाक्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

निर्णायक वार्ताका लागि सरकारले तयारी गरिरहेका बेला शुक्रबार बेलुका मधेसी मोर्चाका नेताहरुलाई भारतीय दूतावासमा बोलाएर परामर्श गरिएको थियो।

0 comments

Write Down Your Responses