चीनबाट इन्धन ल्याउन मन्त्रालय नै बाधक : निगम निर्देशक खड्का -'निगमले तेलमा कालोबजारी गरेको छैन'

२०७२ मङ्शिर १९ शनिबार

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले चीनबाट इन्धन आयात गर्न मन्त्रालय नै बाधक रहेको बताएका छन् । शनिबार अन्नपूर्ण पोस्ट्को कार्यालयमा अन्नपूर्णकर्मीहरुसँग भएको अन्तरसम्वादमा बोल्दै कार्यकारी निर्देशक खड्काले मन्त्रालयबाट प्रभावकारी रुपमा पहल नहुँदा चीनबाट इन्धन ल्याउन नसकिएको बताएका हुन् ।

 चीनबाट तेल ल्याउन मन्त्रालयले नै ढिलाइ गरेको छ । चीनको तेलको भाउ भारतको भन्दा धेरै महंगो छ । सरकारीस्तरबाट कर छुटसहितका सम्झौता हुनसकेमा भारतकै भाउमा तेल ल्याउन सक्ने अवस्था छ । तर यसतर्फ सरकारले पहल गर्नु आवश्यक छ। भारतले नाकाबन्दी लगाएपछि चीनले १३ लाख लिटर पेट्रोल दिएलगत्तै गर्ने भनिएको इन्धन खरिद सम्झौता सरकारी ढिलासुस्तीका कारण सम्भव हुन नसकेको खड्काको भनाइ थियो । 

 ‘आयल निगमले चीनसँग नेपालमा खपत गरिनेमध्ये ३३ प्रतिशत इन्धन ल्याउने प्रस्ताव गरिसकेको छ’, कार्यकारी निर्देशक खड्काले भने, ‘तर व्यापारका लागि सरकारीस्तरबाट वार्ता गरी तेलको भाउ तोकिनुपर्छ । त्यसपछिमात्र चीनबाट व्यसायिकरुपमा इन्धन ल्याउन सम्भव छ ।’ निगमले इन्धन ल्याउन पेट्रो चाइनको भगिनी संस्थासँग सहमति जुटाएपनि पछिल्लो पटक चीनले सिगात्से या ल्हासाबाटमात्रै इन्धन दिने बताएपछि अफ्ठरो परेको खड्काको भनाइ छ ।

 ‘चीनले पहिले केरुङसम्म ल्याइदिने आश्वासन दिएको थियो तर अहिले ल्हासा या सिगात्सेसम्म आउन भनेका छन्’, उनले भने, ‘चीनले तिब्बतबाट पेट्रोलियम पठाउने कामलाई उच्च जोखिमयुक्त मानेको छ । ढुवानी सम्भव भएपनि चीनबाट ल्याउने तेलको भाउ सरकारले तोक्नुपर्छ ।’ चीनले पछिल्लो पटक प्रस्ताव गरेको सिगात्से रसुवागढीबाट ५ सय किलोमिट र ल्हासा एक हजार किलोमिट पर पर्छन् ।

 ‘चीनबाट तत्काल तेल आउन सम्भव छ । तेल ल्याउने नै हो भने रसुवागढी–कोदारीको बाटो तत्काल सुधार्नुपर्छ । अर्को विकल्पका रुपमा बेत्रावती हुँदै खोलैखोला ल्याउनुपर्ने हुन्छ’, खड्काले भने, ‘तेलको व्यापारमा भारतसँग मात्रै भर परेर हुँदैन । अन्य विकल्प खोज्नै पर्छ । त्यसका लागि चीन, बंगलादेश या अन्य मुलुक पनि विकल्प हुन सक्छन् ।’

 कार्यकारी निर्देशक खड्काले आपूर्तिमन्त्री गणेशमान पुन अनौपचारिकरुपमा चीन गएपनि सरकारले औपचारिक पहल नगर्दा समस्या भएको खड्काको भनाइ थियो । ‘आपूर्तिमन्त्री चीन गएर आएपछि चीनले धेरै तेल दिने स्थिति नरहेको बताउनुभयो’, उनले भने । चीनबाट ग्यास ल्याउन तत्काल असम्भव कार्यकारी निर्देशक खड्काले अहिलेको अवस्थामा चीनबाट एलपी ग्यास ल्याउन असम्भव रहेको बताए । 

उनले चीनबाट ग्यास ल्याउनका लागि आयल निगमले बुलेट किन्नुपर्नेमा जोड दिए । निगमले अहिले करिब ४ सयवटा भारतीय बुलेटबाट ग्यास ल्याइरहेको छ’, उनले भने, ‘नेपालले आफैं बुलेट किनेमा मात्रै चीनबाट ग्यास ल्याउन सम्भव छ । त्यसका लागि चिनियाँ सीमामा ग्यासको प्लान्ट निर्माण गर्नु जरुरी छ ।’ कार्यकारी निर्देशक खड्काले चीनबाट इन्धन र ग्यास ल्याउनका लागि रसुवाको बेत्रावती र काभ्रेको पाँचखालमा प्लान्ट निर्माणको पहल भइरहेको जनाउँदै त्यसका लागि पनि सरकारीस्तरबाटै प्रक्रियालाई द्रुतता दिनुपर्ने उल्लेख गरे । 

 खुला सीमानाले तेलको कालोबजारी

 कार्यकारी निर्देशक खड्काले नेपाल–भारतबीचको खुला सीमाना र आपूर्तिमा कमी आएका कारण इन्धनको तस्करी भइरहेको बताए । ‘इन्डियन आयलले हामीलाई १० देखि १५ प्रतिशतमात्र इन्धन आपूर्ति गरिरहेको छ । यो अवस्थामा सानातिना खुला नाकाबाट लाखौं लिटर इन्धन दैनिक भित्रिरहेको छ’, उनले भने, ‘सरकारी संयन्त्रले प्रभावकारी अनुगमन नगर्दा तस्करीको तेल कालोबजारी भएको हो ।’नाकाबन्दी अघि पनि तेलको चोरी हुने प्रसंग निकाल्दै उनले तेलको कालोबजारीमा आयल निगमको संलग्नता इन्कार गरे । ‘

नाकाबन्दीपछि सरकारले नै आँखा चिम्लिदिँदा अवैधरुपमा भित्रेको तेले कालोबजारी भएको हो’, उनले दाबी गरे, ‘आयल निगममा पनि इन्धन वितरणको अनुगमन प्रणाली नहुँदा यो जटिलता आएको हो । तर, निगमले इन्धनको कालोबजारी गरेको कुरामा कुनै सत्यता छैन ।’ निगम सुधार्न सञ्चालक समितिले मानेन आयल निगम र सञ्चालक समितिको पुनःसंरचना गरिनुपर्ने आवाज उठाउँदा रिसिबी साँध्न आफूलाई स्पष्टिकरण सोधिएको कार्यकारी निर्देशक खड्काले बताए । 

 ‘आयल निगममा तेलको अनुगमन गर्ने सिस्टम नै छैन । मेरो प्रस्ताव आयल निगम सञ्चालक समितिले मानेन’, खड्काले भने, ‘निगमको सञ्चालक समितिलाई पुनःसंरचना नगरिँदा पनि तेलको हाहाकार बढेको हो । सञ्चालक समितिले फटाफाट निर्णय गर्नै सक्दैन । त्यहीकारण तेलको कालोबजारी बढ्यो ।’ आपूर्तिमन्त्री गणेशमान पुन र आफूलाई समेत थाहै नदिइ निगमको सञ्चालक समितिले स्पष्टिकरण सोधिएको जनाउँदै खड्काले गल्ती नै नगरी अपराधी बनाउन खोजिएको गुनासो गरे । 

मलाई जानकारी नै नदिइ स्पष्टिकरण सोधियो । अहिलको जटिल अवस्थाको जिम्मेवारी सरकारले नलिई सबै दोषजति आयल निगमलाई थोपर्ने काम भयो’, उनले भने, ‘मैले गल्ती नै नगरी अपराधी बनाउन खोजियो । त्यही कारण अहिलेको समस्या आएको हो ।’ आफूलाई स्पष्टिकरण सोधिएको बारे आपूर्ति पुनले पनि जबाफ दिन नसकेको दाबी गर्दै खड्काले कालोबजारी रोक्न सरकारले अनुगमन बढाउनुपर्नेमा जोड दिए ।

 उनले आयल निगमले मनपरी कसैलाई पनि पेट्रोलियम नबाँडेको जिकिर गरे । ‘निगमले कसैलाई पनि मनपरी पेट्रोलियम बाँडेको छैन । निगमलाई थाहै नदिइ बाटोमा तेल चोरी भएका केही घटना आएका छन्’, उनले भने, ‘त्यस्तो घटनामा संलग्नलाई कारबाही गरेका छौं ।’

0 comments

Write Down Your Responses