यसरी हुँदैछ लुम्बिनी विकास कोषमा अनियमितता !

२६ मंसिर, भैरहवा ।

 विश्व सम्पदामा सुचीकृत एवं शान्तिका आग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास प्रवद्धनका लागि रहेको लुम्बिनी विकास कोषका कर्मचारीले भ्रष्टाचारको गरेको प्रमाण अनलाइनखबरले फेला पारेको छ । कोष कार्यालयले इन्धनको नाममा भ्रष्टाचार गरेको प्रमाण अनलाइनखबरले फेला पारेको हो ।

 वर्षौंदेखि प्रयोग नभएर थन्किएको सवारीको नम्बर देखाएर कोषका कर्मचारीले कार्यालयको आन्तरिक कोषको रकमबाट ‘निजी प्रयोजन’ का लागि इन्धन खरिद गरेको पाइएको छ । कर्मचारीले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयको परिसरमा वर्षौंदेखि थन्किाएर राखिएको लु १ त १०७३ ट्याक्टरको नम्बरबाट इन्धन खरिद गरी ‘निजी प्रयोजन’मा लगाउने गरेका छन् ।

 कोष कार्यालयले लुम्बिनी पर्सा चोकमा रहेको बुद्ध आयलबाट कुपनको आधारमा इन्धन लिने गर्दछ र पछि एकै पटक भुक्तानी गर्ने गर्दछ ।अनलाइनखबरलाई प्राप्त कोषको अधिकारिक छाप र कर्मचारीको दस्तखत सहित थन्किएको गाडीको नाममा जारी भएको इन्धनको कुपनबाट कोषका कर्मचारीले साउन महिना मात्र हजारौँ रुपैयाँको ‘निजी प्रयोजन’को लागि इन्धन लिएको देखिएको छ ।

 कोषबाट सोही वर्षौंदेखि थन्किएको ट्याक्टर लु १ त १०७३ नम्बरको प्लेटको नामबाट गत साउन १२ गते ४० लिटर डिजेल बुद्ध आयलबाट ‘निजी प्रयोजन’ का लागि लिएको देखिएको छ । त्यस्तै साउन १७ गते ३५ लिटर, २० गते ३५ लिटर, २४ गते ४० लिटर र २७ गते ४० लिटर डिजेल लिएको पाइएको छ । 

कोषले यसरी विभिन्न थन्किएको सवारीको नामबाट इन्धन लिने गर्दछ । इन्धनको कुपन कार्यालयको लेखा शाखाबाट जारी हुने गर्दछ । कोषमा जाने अधिकांश ‘पाहुना’ हरुलाई कोषका पदाधिकारीहरुले इन्धनको कुपनबाट स्वागत गर्ने गरेको कोषका कर्मचारीनै बताउँछन् । 

सरकारी ढुकुटीमा खुलेआम भ्रष्टाचार हुँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको भन्दै स्थानियले गुनासो गरेका छन् । यता लुम्बिनी विकास कोषको उपाध्यक्ष सिद्धार्थ महर्जनले कार्यालय परिसरमा रहेको ट्याक्टर (लु १ त १०७३) प्रयोगमा नरहेको स्वीकार गर्दै उक्त ट्याक्टरको नम्बरबाट जारी भएको इन्धनको कुपनबारे आफुलाई जानकारी नभएको बताए ।

0 comments

Write Down Your Responses