डेढ फिटभन्दा बढी हिउँ जमेपछि हिमाली भेगका बासिन्दा बाहिर निस्कनै -सकेनन्, जनजीवन कष्टकर
January 20, 2016
जुम्ला, ६ माघ –
लामो समयपछि कर्णालीमा पहिलोपटक भारी हिमपात भएको छ । साउनदेखि वर्षा नभएको हिमाली भेकमा मङ्गलबार साढे ६ बजेबाट सामान्य हिमपात सुरु भएको हो ।
बिहान ४ बजेबाट निरन्तर हिउँ पर्दा अहिले जुम्ला सदरमुकाममा डेढ फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालय पूर्णरुपमा बन्द छन् । लामो तथा छोटा दुरीका सवारी साधनका साथै हवाई उडान पनि ठप्प भएका छन् ।
विद्युत्का तार चुडिँदा, पोल ढल्दा विद्युत्मा अवरोध आएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढाथापाले जानकारी दिनुभयो ।
चिसोले पाइप फुटेका कारण धारामा पानी आउन छोडेको जिल्ला खानेपानी, सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायाले जानकारी दिनुभयो ।
धारामा पानी नआएपछि हिउँ पगालेर काम चलाउन थालेको स्थानीयवासी सम्झना महतले बताइन् ।
सदरमुकाम जुम्लाभन्दा उच्च स्थानमा रहेका ताम्ती, मालिकाठाँटा, घोडेमहादेव, गुठीचौर, मालिकाबोता, पातारासी, छुमचौर, बुम्रमाडीचौर गाविसमा चार फिट हिमपात भएको मालिकाठाँटा–५ का खुम्मीलाल बुढाले जानकारी दिनुभयो ।
हिमपातले स्थानीय जनता घरबाट बाहिर आउन सकेका छैनन् । यसले बालबालिका, सुत्केरी महिला, अपाङ्गता तथा जेष्ठ बुढाबुढीसमेत प्रभावित भएका छन् । यहाँको दैनिकी कष्टकर भए पनि कृषकका लागि हिमपात हुनु राम्रो भएको वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

0 comments
Write Down Your Responses