किन तुहाउँछन् डोल्पालीहरू छोरी

२०७२ फाल्गुन १६ आईतवार

डोल्पा (मझगाउँ) : शिक्षा, सामाजिक चेतना र आधुनिकताबाट निकै टाढा रहे पनि ठूला सहरबाट सुरु भई महामारीजसरी डोल्पासम्म आइपुगेको छ स्त्री भू्रणहत्याको रोग । भौगोलिक विकटता र न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित नेपालको अत्यन्तै विकट र विशाल यो जिल्लाबाट गर्भवती आमा नेपालगन्जसम्म पुगी ‘लिंग पहिचान’ गर्ने र छोरी भएमा ‘तत्काल’ भ्रूणमै हत्या गरी फर्कने गरेका छन् । 

अन्नपूर्ण पोस्ट्को साक्षात्कारमा त्यस्ता आमाहरूले विभिन्नखाले सामाजिक तथा आर्थिक कारण देखाउँदै आफूले जाँच गर्दा छोरी भएकाले गर्भपतन गरी फर्केको स्वीकार गरेका छन् । अधिकांश आमाहरूले त्यसबारे खेद वा प्रायश्चितको भाव दर्साएनन् । डोल्पाका गाउँबाट नेपालगन्जसम्मको यात्रा सहज छैन ।

 सक्ने केही आमाहरू त्यसका लागि नेपालगन्ज वा काठमाडौं जाने गर्छन् हवाईमार्गबाट अनि बाँकी करिब तीन दिन पैदल हिँडेर रुकुमसम्म पुग्ने र त्यहाँबाट बसमा कोच्चिएर नेपालगन्ज पुग्ने गरेका छन् । ‘छोरी भए फाल्न्या, छोरा भए राख्न्या त हो नि’ गाउँका अधिकांश महिला यसै भन्छन् । 

‘लिंग पहिचान गर्नु’ उनीहरूको भाषामा ‘जाँच गर्नु’ कानुनी अपराध हो भन्ने उनीहरूलाई ज्ञान छैन । नेपालमा वंशलाई निरन्तरता दिन, मरेपछि दागबत्ती दिन अनि पैत्रिक सम्पत्तिको हकवाला बनाउन छोरा नै चाहिन्छ । यस्तैयस्तै तर केही पृथक कारण छन् डोल्पाली आमाहरूले छोरी भए फाल्नु, छोरा भए राख्नुमा ।

 नेपालको तराई क्षेत्रमा मात्र होइन, डोल्पामा पनि दाइजोप्रथा व्याप्त छ । उक्त प्रथा एउटा मुख्य कारण बनेको छ छोरी तुहाउनुको । विपन्न आमाको कोखबाट जन्म लिए पनि अशिक्षाका कारण विवाह गरेर अर्काको घरमा टन्न नगद, भाँडाकुँडा र लत्ताकपडासहित जानुपर्ने बाध्यताले छोरीहरू भ्रूणमै संसारबाट टाढिन पुगिरहेका छन् डोल्पामा पनि ।

 तीन छोरीका मातापिता माथिल्लो दुनैका गंगा शाही र गुनबहादुरले नेपालगन्ज पुगी लिंग पहिचान गरेपछि चौथो छोरी चाहेनन् र उनलाई संसार देख्न दिएनन् । ‘तीन छोरी लगातार भए । गाउँमा कुरा काट्न थालेपछि बसिखानु भएन ।

 गर्भमा अर्की छोरी देखिएपछि जन्माउने आँट पनि भएन’, गुनबहादुरले निराश हुँदै भने’, ‘छोरी हुँदा दाइजो दिन सकिन्न । विवाह गरेर पठाउँदा दुईतीन लाख नगद, भाँडाकुँडा र लत्ताकपडा टन्न दिन सकिन्न । त्यही भएर पनि छोरा चाहिएको हो हामीलाई ।’ उनले थपे, ‘छोरा नभएसम्म यसैगरी जाँच गरेर फाल्ने त हो । गाउँमा यही चलन छ त म के गर्न सक्छु र अरू ? 

’ उनले पैसा नहुँदा श्रीमती गंगा हिँडेरै छोरा वा छोरी भएको पत्ता लगाउन नेपालगन्जसम्म पुगेको बताए । यसो भनिरहँदा पटकपटक छोरी तुहाउँदा श्रीमती गंगाको स्वास्थ्यमा पर्न जाने समस्याबारे उनी अनभिज्ञ र निर्भीक थिए । उनी निर्भीक हुने एउटा अर्को कारण छ– उनी एक्लै छैनन् यसमा ।

 गंगासँगै डोल्पाका सातजना गर्भवती महिलाले नेपालगन्ज पुगेर छोरी तुहाएको गुनबहादुरले बताए । धेरैबेर घोत्लिएर उनले भने, ‘अचेल गंगाले आफूमा पहिलेजस्तो शक्ति नभएको भने बताउँछिन् ।

 करिब ३६ हजार जनसंख्या रहेको नेपालकै ठूलो हिमाली जिल्ला डोल्पामा उब्जनी कम हुने भए पनि प्रशस्त जग्गा भएका धेरै भेटिन्छन् । ‘खेतीपाती टन्न छ । भोलि अर्काको छोराले खानुभन्दा आफ्ना छोराले खाऊन् भन्ने लाग्छ’ यही मानसिकताको सिकार बनेका छन् जन्मनुभन्दा पहिले नै छोरीहरू ।

 ‘छोरा भएन भने यो सम्पत्ति कसले खान्या हो र ? ’ लगातार दुई छोरी भएपछि काठमाडौं पुगेर गर्भपतन गरिसकेकी माझफालकी विष्णु विकले प्रश्न गरिन् । छोरासरह छोरीलाई नै सम्पत्ति जिम्मा लगाए के हुन्छ ? भन्ने प्रश्नको जबाफमा उनले निस्फिक्री हुँदै भनिन्, ‘अरूको घरमा जाने जातलाई किन दिने हो र सम्पत्ति ? आफ्नी छोरीले मात्र खान पाए पो दिनु ।’

 नेपालमा हरेक वर्ष कति महिलाले लिंग पहिचान र भू्रणहत्या गराउँछन्, त्यसको कुनै आधिकारिक तथ्यांक छैन । तर यो नियमित प्रक्रियामात्र बनेको छैन, प्रायः सबै गर्भवतीहरूका लागि । डोल्पाका विभिन्न गाविसका आधा दर्जनभन्दा बढी महिलाले आफूले जाँच गर्दा छोरी भएको पत्ता लागेपछि गर्भपतन गरेको खुलासा गरेका छन् । त्यो गर्भपतनमा उनीहरूलाई पछुतोसमेत छैन । 

 छोरी गर्भमै तुहाउनुमा डोल्पाका आमाहरूका लागि अर्को कारण बनेको छ घरपरिवार र छिमेकीको अपहेलना । छोरा नहुँदा घरपरिवार र छिमेकीले काट्ने गरेको कुराले उनीहरूलाई चिन्तित बनाउँछ । कतिपयलाई भने ‘लिंग पहिचान’ का लागि हिँडेर नेपालगन्ज पुग्न नसकेकोमा पिर छ । ‘मेरा त छोरा छन्, म कति भाग्यमानी रहेछु । तिमी अभागी रहिछौ एउटा छोरो पनि पाउन सकिनौ भन्छन् छिमेकी दिदीबहिनीहरू ।

 कति दिन उनीहरूको खिसी सहने ? त्यही भएर छोरा त पाउनैपर्छ हामीलाई’, चार छोरीकी आमा त्रिपुराकोटकी बिसी सार्कीले भनिन्, ‘हामीलाई भन्दा पनि घरपरिवार र छिमेकीलाई छोरा नभइहुन्न ।’ बिसीलाई गंगाले जस्तै तीन दिन पैदल हिँडेर रुकुमबाट गाडी चढ्दै नेपालगन्जसम्म पुगेर लिंग पहिचान गर्न नसकेकोमा पछुतो छ ।

 ‘त्यति बेला जाँच गरेर फालेको भए भए यति धेरै छोरी हुन्थेनन् कि ? ’ घरबाट करिब ६ घन्टा हिँड्दै जुफाल एयरपोर्टमा बारी बोकेर पैसाको जोहो गर्दै आएकी उनले भनिन्, ‘यी छोरीले मैलेजस्तै अब दुःख पाउने त होलान् भन्ने पिरलो छ मलाई ।’ बिसीलाई ठूलो डर छ विवाहमा दाइजो दिन नसक्दा कतै छोरी अपहेलित हुने त हैनन् भन्नेमा ।

 ४५ वर्षको उमेरकी बिसीलाई अझै पनि बच्चा पाउनुहुन्छ त भन्ने प्रश्न गर्दा उनको जबाफ थियो, ‘पाउने हो नि, छोरा त चाहिगो । हैन भने बाँचुन्जेल छेमेकीले कुरामात्र काट्छन् ।गंगा, गुनबहादुर, दिलबहादुर र बिसी मात्रै होइन, डोल्पाका उच्च हिमाली क्षेत्रका कुनाकन्दराहरूमा अवस्थित माटो र काठले बनाइएका साना घरहरूभित्र बसोबास गर्ने धेरै आमाबुबाहरू छोरा जन्माउने चाहनामै छन् ।

 प्रतीक्षा कहिलेसम्म ? त्यो उनीहरूलाई थाहा छैन । अनि गर्भवती आमाहरू छोरी जन्मे सकस हुने प्रशस्त कारणले लिंग पहिचान गर्दै छोरी तुहाइरहन्छन् । यहाँ छोरा भएको परिवार सुखी र छोरी भएको दुःखी परिवारका रूपमा चिनिन्छ । महिला स्वास्थ्य र पोषणबारे नागरिक शिक्षामार्फत जनचेतना फैलाउन डोल्पा पुगेकी जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती लिंग पहिचान गर्दै छोरीलाई भ्रूणमै हत्या गर्नुले कानुनलाई अर्थहीन बनाएको र त्यसका लागि प्रशासन तहलाई आवश्यक निर्देशनसहित उत्तरदायी बनाउनुपर्ने मान्यता राख्छिन् ।

0 comments

Write Down Your Responses