अभागी अर्जेन्टिना, अभागी मेसी!
अर्जेन्टिनाले ३० वर्षदेखि विश्वकप र २३ वर्षदेखि कोपा जितेको छैन
अन्तर्राष्ट्रिय फुटबलमा कहलिएको नाम हो - लियोनल मेसी र उनको देश अर्जेन्टिना। कुनै देश वा कुनै खेलाडीका संसारभर धेरै फ्यान छन् भने त्यो देशमा अर्जेन्टिना र खेलाडीमा मेसीलाई छुटाउन मिल्दैन। मेसीका यति धेरै फ्यान विश्वभर छन् कि उनी समकालीन अन्तर्राष्ट्रिय फुटबलका नायक नै हुन्।
त्यस्तै संसारभर करोडौ फुटबल फ्यानको मुटुको धड्कन हो अर्जेन्टिना।
विश्वकै धेरै फ्यान भएका खेलाडीको सूचीको दोस्रो नम्बरमा रहेका छन् मेसी। उनीभन्दा अघि विश्व फुटबलमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मात्रै छन्।
पाँच पटकका फिफा बेलोन डिअरका विजेता मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्।
तर उनी र उनको देश जहिले पनि अभागी सावित हुँदै आएको छ पछिल्ला वर्षहरुमा। अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन भने विश्वकप १९८६ यता जितेको छैन।
मेसीकै कप्तानीमा खेलेका तीनवटा फाइनलमा चुकेको अर्जेन्टिना १९९२ यता उपाधिविहीन नै छ, उपाधिको खडेरी नै लागेको छ।
सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा उपाधिबिहीन भएर अन्तर्राष्ट्रिय खेलमा बिट मारे। पछिल्लो तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुग्यो अर्जेन्टिना तर सबैमा उपाधिबिहीन भयो।
सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो।
आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्यो।
लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानतार जित हात पार्दै फाइनल पुगेको टोली हो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्यो।\
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २१ वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि हो।
अभागी अर्जेन्टिना, उस्तै मेसी
सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डविरुद्धको खेलमा डियगो म्यारोडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए। त्यो फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो। सायद गेरी लिनेकरको इंग्ल्याण्डलाई हातले हानेको गोलको श्राप लाग्यो, अर्जेन्टिनाले त्यसपछि विश्वकम जितेको छैन।
सन् १९८६ को विश्वकपमा इंल्याण्डविरुद्धको खेलमा म्यारोडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात भगवानको हातको संज्ञा दिएका थिए।
म्यारोडोनाकै गोलमा विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरु भएको भनियो। तर लियोनल मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन भयो, फाइनलमा पुगेर पनि सधै उपाधिबिहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए।
कतियपले म्यारोडोनाले हातले गरेको गोलपछि त्यसयता अर्जेन्टिनालाई भाग्यले पनि ठगेको टिप्पणी बेलाबेलामा गर्ने गरेको पाइन्छ।
मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना पाँच पटक फाइनल पुग्यो तर चारपटक हार्यो अर्थात उपाधिविहीन भयो।
मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ। तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको देशको सन्दर्भमा त्यतिकै अभाग्यशाली ठहरिएका छन्।
मेसी स्वयम्ले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन्। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका ११२ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरेर आफ्नो क्षमता देखाइसकेका छन्।
तर, फाइनल पुगेर उनको भाग्य रित्तिन्छ सायद - मुख्य उपाधि उचाल्न चुक्छन्, अर्जेन्टिना र मेसी।
क्लब फुटबलमा भाग्यमानी ठहरिने मेसी अर्जेन्टिनाको जर्सीमा भने सधै अभागी ठहरिए, सायद उनलाई पनि यही लाग्दो हो जसका कारण अन्तर्राष्ट्रिय फुटबलबाट विदाई लिने घोषणा उनले गरे, अब मेसी अर्जेन्टिनाका लागि खेल्ने छैनन्।
उनी नहुँदा अर्जेन्टिनाको भाग्य फर्किन्छ, फर्किन्न हेर्न कुर्नैपर्छ।

0 comments
Write Down Your Responses